साप्ताहिक संवाददाता
पञ्चु
जाडो महिनामा स्टाइलिस लुक्स तथा न्यानो प्राप्त गर्न महिलाहरू पञ्चु लगाउँछन् । दक्षिण अमेरिकाको पेरुबाट संसारभर फैलिएको पञ्चु विशेष गरी सिल्क, ऊन, पस्मिना तथा कस्मिरी ऊनबाट तयार पारिन्छ । बजारमा अहिले ऊनको पञ्चुको बाहुल्यता छ । १ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्ममा उपलब्ध पञ्चु खास्टो, नेक एवं स्लिभ स्टाइलमा उपलब्ध छन् ।
आउटर
आउटर जाडो र गर्मी दुवै मौसममा रुचाइने पहिरन हो । गर्मीमा सुती, नेट तथा जर्जेटजस्ता फ्याब्रिकबाट बनेका हल्का आउटर रुचाइन्छ भने जाडोमा ऊन तथा सिल्कका बाक्ला र न्याना आउटर प्रचलनमा देखिन्छन् । तीन–चार वर्षयता फेसनमा देखिएको आउटर विभिन्न रंग तथा डिजाइनमा उपलब्ध छन् । यस्ता आउटर २ हजारदेखि ४ हजार रुपैयाँसम्ममा परिद गर्न सकिन्छ ।
ज्याकेट
बजारमा महिलाहरूका लागि विभिन्न स्टाइलका ज्याकेट उपलब्ध छन् । यस्ता ज्याकेट लङ लेन्थ, क्याटर लेन्थ, वेस्ट लेन्थ, डेनिम स्टाइल, बम्बर स्टाइल तथा ओभरकोट स्टाइलमा उपलब्ध छन् । २ हजारदेखि ९ हजार रुपैयाँसम्ममा उपलब्ध यस्ता ज्याकेट डाउन, भेल्भेट, सुती, फर, फिल्सजस्ता फ्याब्रिकबाट तयार पारिएका हुन्छन् ।
स्वीटर टप टिसर्ट
जाडोका लागि भनेर अहिले बजारमा विभिन्न स्टाइलका स्वीटर उपलब्ध छन् । टिसर्ट स्टाइलदेखि लङलेन्थ, कुर्ती तथा टप स्टाइलका यस्ता स्वीटर १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । भेल्भेट, ऊन तथा सुतीका फ्याब्रिकबाट बनेका यस्ता स्वीटर विशेष गरी ट्रटर नेक, हाइनेक, चोक टप, बेल्ट सिल्भरजस्ता विभिन्न स्टाइलमा उपलब्ध छन् ।
कार्डिगन
पाँच–छ वर्षअघि निकै चलेको कार्डिगनको माग अहिले निकै कम छ । कम्मरसम्म वा कम्मरभन्दा हल्का माथि लगाइने कार्डिगन प्राय: हल्का र पातलो ऊन तथा पस्मिनाबाट तयार पारिन्छ । १ हजार ४ सयदेखि ५ हजार रुपैयाँसम्ममा उपलब्ध कार्डिगन विशेष गरी टिनएजरहरूको छनौटमा परेको देखिन्छ ।
कोट
अहिले बजारमा महिलाहरूका लागि २ हजार ५ सयदेखि ९ हजार रुपैयाँसम्मका विभिन्न स्टाइलका कोट उपलब्ध छन् । लङ लेन्थ, क्वाटर लेन्थ, सर्ट लेन्थजस्ता विभिन्न साइजमा उपलब्ध यस्ता कोटमध्ये अहिले कोरियन स्टाइलको ट्रेन्ड कोट बढी प्रचलित छ । विवाहको अवसरका लागि यस्ता कोटको माग बढी देखिन्छ ।
बुट
जाडो महिनामा महिलाहरूको पहिलो रोजाइ बुट नै भएको देखिन्छ । एङ्कललेन्थ, क्वाटरलेन्थ तथा लङलेन्थमा उपलब्ध यस्ता बुटको मूल्य १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म छ । फर, भेल्भेट, सावर तथा माइक्रो सिन्थेटिक्सबाट बनेका यस्ता बुट विशेष गरी टिनएजर तथा कामकाजी महिलाहरूबीच बढी लोकप्रिय छ ।