साप्ताहिक संवाददाता
अभिनेता आयुष्मान देशराज जोशीले अहिलेसम्म जम्मा एउटा मात्र चलचित्रमा अभिनय गरेका छन् । ‘चपली हाइट–२’ बाट रजतपटमा पदार्पण गरेकी यी अभिनेताले म्युजिक भिडियोमा अभिनय गरेको पारिश्रमिक कति लिन्छन् होला । हालै गायिका रेखा शाहको ‘तिमीबिना म एक्लै, म बिना तिमी एक्लै...’ गीतको म्युजिक भिडियोमा आयुष्मानले झन्डै एउटा म्युजिक भिडियो निर्माण गर्ने बजेट जत्तिकै पारिश्रमिक लिएका छन् ।
नितिन चन्दद्वारा निर्देशित उक्त गीतमा गायिका शाहले बलिउडका गायक गौरव डोगाउँकरसँग यूगल गायन गरेकी छिन् । गीतका संगीतकार पनि गौरव नै हुन्, शब्द भने भूपेन्द्र खड्काले रचना गरेका हुन् । दुई सातापछि प्रिमियर गरिने उक्त भिडियोमा आयुष्मानले कति पारिश्रमिक लिए होला त ? भिडियो निर्माण युनिटका एक सदस्यका अनुसार भिडियोमा हत्तपत्त अभिनय गर्न नरुचाउने आयुष्मानले झन्डै १ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । हेन्डसम हंकको उपाधि पाएका आयुष्मानले भिडियोकै लागि यति पारिश्रमिक लिन थालेपछि चलचित्रमा उनको पारिश्रमिक कति होला, सहजै अनुमान लगाउन सकिन्छ ।