रूपन्देहीकी तेरिया फौजामगर भारतीय टेलिभिजन च्यानलहरूबाट प्रसारण हुने डान्स रियालिटी शोहरूमध्ये सर्वाधिक पुरस्कार राशिको ‘झलक दिखला जा’ सिजन–९ को फाइनलमा पुगेकी छिन् । तेरियाले फाइनलमा डिआईडी सिजन–१ एवं ‘झलक दिखला जा’ कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु महेश्वरीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।
उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला गरिंदैछ । कलर्स टेलिभिजनबाट प्रसारण हुने यो रियालिटी शोमा डान्स सेलिब्रेटीहरूबीच मात्र प्रतिस्पर्धा हुन्छ । तेरिया डिआईडी लिटिल मास्टर्स–२०१४ की विजेता भएकाले ‘झलक दिखल जा’मा प्रवेश पाएकी हुन् ।
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारु. ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् । गत जुलाइमा प्रारम्भ भएको यो प्रतियोगितामा १२ जोडी (पुरुष र महिला) डान्स सेलिब्रेटी छनौट भएका थिए । तेरियासहित ५ जना जुनियर अक्टुबर ८ तारिखमा ‘च्यालेन्जर’का रूपमा प्रवेश गरेका थिए । प्रवेश गरेको दुई हप्तामै उनीहरू २२ अक्टुबरमा प्रतियोगिताबाट बाहिरिए । २६ नोभेम्बरमा तेरियासहित अन्य तीन जना जुनियरले ‘वाइल्ड कार्ड’ मार्फत प्रतियोगितामा पुन: प्रवेश पाए, जसमध्ये दुई जना पुन: ‘आउट’ भए ।
तेरियाले भने आफ्नो विलक्षण प्रतिभामार्फत निर्णायकको मन जित्दै सर्वाधिक अंकसहित उपाधिको दावेदारका रूपमा आफूलाई उभ्याइन् । सेमिफाइनलबाट फाइनलसम्म आइपुग्दा तेरियाले आफू भन्दा सिनियर र नृत्यमा अग्रणी मुम्बईका दुई हस्तीलाई उनीहरूकै भूमिमा पछि पार्दै आफूलाई पहिलो नम्बरमा राख्न सफल भइन् । निर्णायकहरूले तेरियाको अतुलनीय आत्मविश्वास र विलक्षण नृत्य कलाको मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् ।
यो प्रतियोगिताका निर्णायकमा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज तथा गणेश हेज छन् । त्यतिमात्र होइन, उपाधिका दाबेदार सलमान युसुफ खानले आफ्नो प्रतिस्पर्धी तेरिया मात्र रहेको र आफूलाई उनकै मात्र डर लाग्ने प्रतिक्रिया दिने गरेका छन् । तेरियाका डान्स कोरियोग्राफर ऋषिकेश हुन् भने डान्स पार्टनर आर्यन हुन् । प्रतियोगिताको फाइनलमा पुगेकी तेरियाले मुम्बईबाट साप्ताहिकसँग टेलिफोन कुराकानी गर्दै डिआईडीमा जस्तै भोट पाए आफूले उपाधि जितेर देखाउने विश्वास व्यक्त गरिन् ।
‘म आफ्नो खुबीले सकेजति ‘पर्फम’ गर्छु तर जित्नका लागि दर्शकको भोट पनि चाहिन्छ, त्यसैले डिआईडीमा जस्तै धेरै भन्दा धेरै भोट दिएर सपोर्ट गर्न सबैसँग रिक्वेस्ट गर्छु,’ –तेरियाले भोटका लागि देश–विदेशमा रहेका नेपालीसँग अनुरोध गर्दै भनिन्– ‘मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी ।’ कलर्स टेलिभिजनमा हरेक शनिबार राति सवा १० बजेपछि ‘झलक दिखला जा’ प्रसारण हुन्छ ।
आफूलाई मन परेका प्रतियोगीलाई भारतमा मोबाइलमार्फत र विदेशबाट अनलाइनमार्फत भोटिङ गर्न सकिन्छ । तेरियाले बुटवलको बागेश्वरी संगीतालयमा नृत्य सिक्ने क्रममा डिआईडी लिटिल मास्टरमा भाग लिएर ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी थिइन् । १४ वर्षीया तेरिया हाल मुम्बईमै रहेर कक्षा ८ मा अध्ययनरत छिन् ।
रुद्रपुर, रूपन्देहीको मध्यमवर्गीय परिवारकी तेरियाले डिआईडी लिटिल मास्टरको उपाधि जितेपछि खाडी मुलुकमा रोजगारी गर्दै आएका उनका बुबा तथा घरमै बस्दै आएकी आमा समेत अहिले मुम्बईमा बसेर उनको करियरलाई साथ दिइरहेका छन् । तेरियालाई हालको स्थानसम्म पुर्याउन भारतीय सेनाका सेवानिवृत्त तेरियाका हजुरबा कृष्णबहादुर फौजाको भूमिका महत्वपूर्ण छ । उनैले तेरियालाई नृत्य सिकाउन एकाबिहानै मोटरसाइकलमा ३० किलोमिटर यात्रा गर्दै हरेक दिन बिहान बुटवलको बागेश्वरी संगीतालय ल्याइपुर्याउँथे ।