साप्ताहिक संवाददाता
रंगमञ्चबाट चलचित्रमा आएका अभिनेता सौगात मल्ल भर्सटाइल कलाकारका रूपमा स्थापित छन् । नृत्यमा कमजोर भए पनि हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्ने मल्ललाई नजिकबाट चिन्ने कलाकार तथा सञ्चारकर्मीहरूले उत्कृष्ट कलाकार मानेका छन् ।
प्रमोद अग्रहरी, अभिनेता
सौगात मल्ल नेपाली चलचित्र उद्योगका एक उत्कृष्ट खम्बा हुन् । दु:ख पनि लाग्छ, चलचित्रकर्मीहरूले अथवा हाम्रो चलचित्र उद्योगले सौगातको प्रतिभा, उनको कामलाई बुझ्न सकिरहेको छैन । निश्चय नै उनी उत्कृष्ट अभिनेता त हुन् नै, असल व्यक्ति पनि हुन् जोसंधै सकारात्मक सोचमा हुन्छन् । मल्ल आफैंमा अभिनयको विद्यालय हुन् भन्दा फरक पर्दैन । उनको सोच बुझ्ने एकदमै कम मान्छे छन् हाम्रो चलचित्र उद्योगमा ।
केकी अधिकारी, अभिनेत्री
मैले सौगात मल्लसँग चलचित्र ‘श्री ५ अम्बरे’ तथा ‘फन्को’ मा सँगै काम गरेकी छु । सौगात नेपाली चलचित्रका अभिनेताहरूमध्ये सबैभन्दा फरक छन् । उनी काममा कतिसम्म दत्तचित्त हुन्छन् भने काममा बाधा हुन्छ भनेर सामाजिक सञ्जाल, स्मार्टफोन आदि केही चलाउँदैनन् । उनको व्यक्तित्व र मेहनतबाट म धेरै नै प्रभावित छु ।
दिनेश सिटौला, सञ्चारकर्मी
सौगात मल्लको अभिनय तथा व्यक्तित्व मलाई एकदम मन पर्छ । बढी नबोल्ने तथा अभिनयमा निखारिएका एउटा अनुशासित कलाकार हुन्— सौगात मल्ल । उनको अभिनयमा जीवन्तता छ । उनले अलिकति नृत्यमा मेहनत गर्नुपर्ने देखिन्छ ।
प्रमोद खरेल, गायक
मैले सौगात मल्ललाई हरेक प्रकारका चरित्रमा डुबेर अभिनय गर्न सक्ने क्षमता भएका अभिनेताका रूपमा चिनेको छु । म उनको अभिनयको प्रशंसक हुँ ।
अनुप बराल, निर्देशक
सौगात मल्ल मेरा चेला हुन् । रंगमञ्चमा आउनुअघि सौगातले मसंग अभिनयको प्रशिक्षण लिएका थिए । अभिनयको विद्यार्थी छँदै सौगातले आफूलाई प्रतिभाशाली कलाकार बन्ने झझल्को दिइसकेका थिए, आज उनले अभिनय गरेका चलचित्र हेरेपछि उनी वास्तवमै प्रतिभाशाली छन् भन्ने कुरा प्रमाणित भैसकेको छ ।