साप्ताहिक संवाददाता
कुनै बेला पप गायनमा आफ्नो बेग्लै स्थान बनाउन सफल गायक भरत सिटौला करिब सात वर्ष सांगीतिक क्षेत्रबाट अलप भए । हुन त उनी सांगीतिक क्षेत्रकै वरिपरि नै थिए तर भूमिका फरक थियो । एउटा टेलिभिजन च्यानलमा कार्यक्रम निर्माताका रूपमा उनले सांगीतिक क्षेत्रलाई नै लक्षित गरेर थुप्रै कार्यक्रम उत्पादन गरे । कार्यक्रम प्रस्तोतादेखि निर्माताका रूपमा उनी यति धेरै व्यस्त भए कि आफ्नै सांगीतिक यात्राका बारेमा भने सोच्न भ्याएनन् ।
झन्डै सात वर्षपछि मात्र उनको होस खुल्यो, गायकको पुरानो छवि पुन: ताजा बनाउने । त्यसका लागि सबैभन्दा पहिले उनले टेलिभिजनको जागिर त्यागे । आफ्नो सम्पूर्ण समय संगीतलाई नै दिने निर्णय गरे र रेकर्ड भयो एउटा गीत ‘बैंसमा...’ शीर्षकमा ।
सांगीतिक क्षेत्रमा कमब्याक गर्न गायक सिटौलाले एउटा त्यस्तो गीत बनाउने निर्णय गरेका थिए, जसलाई हरेक उमेरका दर्शक–श्रोताले मन पराऊन् । ‘बैंसमा गीतको धुन तयार भएको प्रसंग पनि गजबको छ,’ गायक सिटौला भन्छन्—‘कार्यालयबाट घर फर्कने क्रममा यो गीतको धुन फुरेको थियो । धुन फुर्नेबित्तिकै मोबाइलमा रेकर्ड गरें । घर गएर कर्डहरू मिलाएर पुन: मोबाइलमै रेकर्ड गरेर नजिकका साथीभाइलाई सुनाएँ । सबैले राम्रो भनेपछि संगीत संयोजक मोहित मुनालको स्टुडियो पुगें । संगीत संयोजन गरेर गीत रेकर्ड गर्दा वास्तवमै एउटा फरक शैलीको गीत तयार पार्न सकेकोमा मनमनै खुसी थिएँ ।’
गायक सिटौलाले यो गीतलाई आफ्नो सांगीतिक जीवनकै टर्निङ प्वाइन्टका रूपमा लिएका छन् । म त यो गीतलाई मेरो करियरकै ‘सेकेन्ड इनिङ’ को थालनी पनि भन्न रुचाउँछु । ‘साँच्चै भन्ने हो भने म संगीतबाट करिब–करिब पलायन भैसकेको थिएँ,’ गायक सिटौला सम्झन्छन्—‘मनमा एकदम छटपटि भैरहेको थियो, के गर्ने कस्तो गीत निकाल्ने भन्ने तनाव थियो । बैंसमा भन्दा अघि अरू केही गीत पनि रेकर्ड गराएको थिएँ तर आफैंमा कन्फिडेन्स हुन सकिरहेको थिइन ।’
जब यो गीत रेडियोमा बज्न थाल्यो, श्रोताले दोहोर्याएर सुन्न चाहे, भिडियोकै खोजी गर्न थाले । बैंसमा गीत रेकर्डिङ गरेपछि सिटौलालाई गीतभन्दा उत्कृष्ट भिडियो तयार पार्ने चुनौती थपियो । टेलिभिजनकर्मी विभोर पोखरेललाई भिडियो निर्माणको जिम्मा दिए । नायिका वर्षा शिवाकोटीसँग आफैंले अभिनय गर्ने निर्णय गरे । भिडियो सार्वजनिक हुने दिनसम्म पनि गायक सिटौलालाई ‘बैंसमा...’ गीतको भिडियोबाट दर्शक तथा श्रोताको कस्तो प्रतिक्रिया आउने हो भन्ने कुराले चिन्तित तुल्याइरहेको थियो ।
युट्युबमा गीत अपलोड गर्ने विभिन्न च्यानल हुँदा–हुँदै गायक सिटौलाले अर्को एउटा चुनौती मोले, आफ्नै नामको च्यानल खोलेर त्यहींबाट भिडियो अपलोड गर्ने । भरत सिटौला च्यानलबाट यो गीत हालसम्म १ लाख ३८ हजार पटक हेरिसकिएको छ । रेडियो तथा टेलिभिजन काउन्टडाउनमा पनि यो गीत धेरै हप्तासम्म पहिलो नम्बरमा पर्न सफल भैसकेको छ ।
करिब नौ महिनाको अवधिमा यो गीत यति लोकप्रिय भयो कि गायक सिटौलाले आधा दर्जन म्युजिक एवार्डमा उत्कृष्ट गायकको पुरस्कार पाइरहेका छन् भने स्वदेशका दर्जनौं स्टेज उक्लने अवसर प्राप्त गरिसकेका छन् । यही गीतका कारण केही सातापछि करिब दुई महिनाका लागि अस्ट्ेरलियाको सांगीतिक भ्रमणमा निस्कन लागेका गायक सिटौला जम्मा एउटा गीतले आफूलाई सांगीतिक क्षेत्रमा पुन: स्थापित गराउन सफल भएकोमा सन्तुष्ट पनि छन् ।