साप्ताहिक संवाददाता
२८५३औं सोनाम ल्होछारको अवसरलाई सदुपयोग गर्दै एभरेष्ट फेसन होमले ‘मिस तामाङ’ प्रतियोगिताको नयाँ संस्करण आयोजना गर्ने भएको छ । तामाङ समुदायको सांस्कृतिक एवं जातिय पहिचानका विविध पक्षको सेरोफेरोमा आयोजना हुने यो प्रतियोगितालाई तामाङ युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनको अवसरका रुपमा प्रस्तुत गरिंदै आएको छ । आयोजक संस्थाले उल्लेख गरे अनुसार यो प्रतियोगितामा एसएलसी उत्तीर्ण गरिसकेका १६ देखि २५ वर्ष उमेर समुह भित्र पर्ने तामाङ युवतीहरुले सहभागिता जनाउन सक्नेछन् । शारारिक उँचाईं को हकमा कम्तीमा पाँच फिट तथा शैक्षिक योग्यताको हकमा कम्तिमा एसएलसी उत्तीर्ण हुनुपर्ने जनाइएको छ ।
‘मिस तामाङ २०१७’मा सहभागिताका लागि आगामी पौष २२ गते आवेदन फाराम भरिसक्नुपर्ने छ भने माघ २२ गते कमलादीस्थित प्रज्ञा भवनमा १० औं संस्करणको प्रतियोगिताको ग्राण्ड फाइनल तोकिएको छ । यस अघि जेनिशा मोक्तान, उपाली ग्याबोक, समी भज्यु, रोजिना घिसिङ, सुमि माक्तान, लाक्पा वाङमो तामाङ, मुनाश्री लामा, लक्ष्मी तामाङ मोक्तान र उर्मिला लामाले मिस तामाङको ताज पहिरिसकेका छन् ।