पोखराको फेवातालमा डुङ्गा सयर गरिरहेका एक जना विदेशी पर्यटक डुङ्गामा समेत पुस्तक पढ्न व्यस्त थिए । डुङ्गा चालकले आफ्नै गतिमा डुङ्गा चलाउँदै तालको फन्को लगाउँदा उनको पुस्तक अध्ययनले निरन्तरता पाइरह्यो । यसैगरी लेकसाइडका विभिन्न रेस्टुराँ तथा होटलहरूमा रहेका विदेशी पर्यटकहरू सधैं पुस्तक पढ्न व्यस्त देखिन्छन् । कोही बियरको चुस्की लिँदै पुस्तक पढ्छन् त कोही कफी पिउँदै त कोही संगीतको तालमा रमाउँदै । अझ कोही त बाटोमा हिँड्दै, कोही यात्रा गर्दै । यो उनीहरूको पुस्तक पढ्ने कल्चर हो । नेपालीहरूमा भने पुस्तक पढ्ने कल्चरको विकास खासै हुन सकेको छैन, तर पनि पुस्तक पढ्ने बानीको विकास भने भएको छ ।
पोखरा महेन्द्रपुलस्थित गोरखापत्र बाजेको पत्रिका तथा पुस्तक पसलका र्याक कुनै समय पत्रिकाले मात्र भरिएका हुन्थे । त्यहाँ पुग्नेहरू पत्रिका मात्र किन्थे । उनीहरू पत्रिका पढेरै आफूलाई अपडेट राख्थे । पछिल्लो क्रममा सामाजिक सञ्जाल तथा सूचना प्रविधिको विकाससँगै पत्रिका पसलसम्म पुगेर पत्रिका पढ्ने मानिसहरूको संख्यामा कमी आएको छ तर पुस्तक पढ्ने बानीको भने विकास भएको छ । पत्रिकाले भरिभराउ हुने ठाउँ अहिले पुस्तकले लिएका छन् । यस्ता पुस्तक खरिद गर्न युवा–युवतीदेखि प्राध्यापक, कर्मचारी आदि पुग्ने गरेका छन् । पालिखेचोक आसपास रहेका पुस्तक पसल तथा बगर क्याम्पस गेटमा रहेका पुस्तक पसल मात्र नभएर सहरका विभिन्न ठाउँमा पुस्तक पढ्ने लत बसालेका अग्रजदेखि अनुजहरू भेटिन्छन् । यसरी पाठ्यक्रममा भएका पुस्तक मात्र पढ्ने प्रवृत्तिको अन्त्य हुँदै बाहिरी पुस्तक पढ्ने बानीको विकास हुनुको मुख्य कारण पोखरामा हुने स्रष्टासँग भेटघाट एवं कृतिमाथि गरिने चर्चा परिचर्चा पनि हो ।
पोखरामा पुस्तक पढ्ने बानीको विकास हुँदै गएपछि यहाँ स्थापित पुस्तक पसलमा पुस्तक किन्नेहरूको भीड बढ्दै गएको पाइन्छ । यहाँ नयाँ–नयाँ पुस्तक पसलसमेत खुलेका छन् । पोखरामा हिमालयन रिडर्स कर्नर तथा बुक मार्टले समेत पोखरेली पुस्तकप्रेमीहरूलाई पुस्तक उपलब्ध गराउँदै आएका छन् । पोखरेलीको पढ्ने बानीको विकासले पुस्तक व्यवसाय फस्टाउँदै गएको छ । यसको पछिल्लो उदाहरण रामलाल जोशीको पुस्तक ऐना हो जुन पोखरामा मात्र एक हजारप्रति बिक्री भयो । यहाँका युवा–युवतीहरूमा पुस्तकका बारेमा छलफल हुने गरेको छ । सामाजिक सञ्जालमा समेत नयाँ तथा पुराना कृतिहरूका बारेमा छलफल हुन्छ । यसले कोर्षभन्दा बाहिरी पुस्तक पढ्ने बानीको विकास भएको छ ।
कसरी सुरु भयो पुस्तक चर्चा कार्यक्रम
वि.सं.२०५८ सालमा गणेश पौडेलले पोखरामा पुस्तक पढ्ने बानीको विकास गर्न क्याफे खोल्ने सोच बनाए । यो कुरा साथी राजन गोदार आदिसँग सेयर गरे । उनको कुरा सुनेपछि गोदारको एकल लगानीमा रिर्डस क्याफे स्थापना भयो । कफीको स्वादमा पुस्तक पढ्ने बानीको विकास गराउने उद्देश्य बोकेको उक्त क्याफे लामो समय सञ्चालन हुन सकेन, एक वर्षमै बन्द भयो । क्याफे स्थापना गरेर पढ्ने बानीको विकास गराउने लक्ष्यमा असफल भएपछि गणेश अध्ययनको सिलसिलामा काठमाडौं फर्किए । उनमा पढ्ने बानीको विकासका लागि केही न केही गर्ने सोच भने कायमै थियो ।
अध्ययन सकेर वि.स.२०६५ सालमा पोखरा फर्किएपछि संस्था दर्ता गरेर उनी फेरि आफ्नो पुरानो योजनालाई मूर्तरूप दिन कस्सिए । गुरुपूर्णिमाको सन्दर्भ पारेर उनले संस्था स्थापना गर्न खोजे । यो कुरा साथीहरूसँग सेयर गरे । यो जानकारी प्राध्यापक राजेन्द्र चापागाईंलाई गराए तर चापागाईंले संस्था खोल्ने कुरालाई केही समय पछि धकेल्न आग्रह गरे । उनको आग्रहमा संस्था स्थापना गर्ने दिन एक हप्ता पछाडि धकेलियो ।
सुरुमा आफैंले संस्थाको नेतृत्व गर्ने सोच बनाएका परिकल्पनाकार पौडेलपछि संस्थाको नेतृत्व चापागाईलाई दिन राजी भए । यसरी स्थापना भएको थियो पोखरामा र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल । यो संस्थाले कानुनी मान्यता भने वि.सं.२०६७ सालमा पाएको हो । यो संस्था नेपालकै पुस्तक पढ्ने बानीको विकास गराउन खुलेको पहिलो संस्था भएको दाबी परिकल्पनाकार गणेश पौडेलको छ । संस्था स्थापना गर्दाको लक्ष्यअनुसार कार्य गर्न नसकेको भए पनि पोखरामा पुस्तक पढ्ने बानीको विकास गर्न भने सफल भएको पौडेलले बताए । ‘विद्यालयमै पुगेर विद्यार्थी तथा शिक्षकलाई पुस्तक पढ्न उत्पेरित गथ्र्यौं, लाइबेरी स्थापना गर्न सहयोग पनि गर्यौ तर यसलाई निरन्तरता दिन सकेनौं’ उनले भने । यहि कार्यक्रम गरेपश्चात् पोखराका विभिन्न बोर्डिङ स्कुल तथा उच्च माविले लाइब्रेरीमा कोर्सबाहिरका पुस्तक राख्ने क्रम बढेको पौडेलको अनुभव छ ।
रिडर्स क्लबमा वि.स.२०६५ को असार महिनादेखि सुरु भएको पुस्तक परिचर्चा कार्यक्रमले अहिले निरन्तरता पाइरहेको छ । कुनै समय कार्यक्रममा सहभागी हुन ५० रुपैयाँ तिर्नुपथ्र्यो तर अहिले कार्यक्रममा सहभागी हुन पैसा तिर्नु पर्दैन । यो कार्यक्रममा सहभागी हुन स्वत:स्फूर्त रूपमा पुस्तकप्रेमी आउँछन् । यो कार्यक्रममा प्राध्यापक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहन्छ । कार्यक्रमले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तकमाथि चर्चा–परिचर्चा गर्दै पुस्तकमा समावेश गरिएका सामग्रीलाई ओल्टाई–पल्टाई बाहिर ल्याउने काम गर्छ । कार्यक्रममा सहभागी हुने अधिकांश पुस्तक पढेर छलफलमा जुट्छन् । पुस्तक नकिनेकाहरूले समेत त्यही पुस्तक किन्छन् र स्रष्टाको हस्ताक्षर गराउँछन् । यहाँ परिचर्चा गरिएका पुस्तकको बिक्रीसमेत बढी हुन्छ ।
संस्थाको पुस्तक छनोट समितिले छलफल गरिने पुस्तक छनोट गर्छ । पुस्तक छनोट गर्दा पुस्तकको क्रेज तथा पाठकको रुचिलाई आधार मान्ने गरिएको संस्थाका उपाध्यक्ष केशवशरण लामिछानेले बताए । हुनत: सुरुवातको समयमा पोखराभन्दा बाहिरका स्रष्टा परिचर्चाका लागि आउन गाह्रो मान्ने भए पनि अहिले यो कार्यक्रममा सहभागी हुन चर्चित लेखक तथा समालोचकहरूले आफैं आग्रह गर्ने गरेका छन् । २०६५ सालको असारमा कृष्ण धरावासीको टुँडालबाट सुरु भएको यो कार्यक्रम जनकराज सापकोटाको कहरसम्म आइपुग्दा ६८ वटा श्रृंखला सम्पन्न भैसकेका छन् ।
मोदनाथ प्रश्रित, अभि सुवेदी, युवराज घिमिरे, रुक्मांगत कटुवाल, रमेशनाथ पाण्डे, सौरभ, बुद्धिसागर, युग पाठक, अमर न्यौपाने, नयनराज पाण्डे, बज्रेश खनाल, प्रकाश सायमी, यज्ञश, किशोर नेपाल, खगेन्द्र संग्रौला आदि लेखक तथा समालोचकहरूले पाठकहरूसँगको उक्त प्रत्यक्ष छलफलमा सहभागिता जनाइसकेका छन् ।
पोखरा फ्रिक रिडर्स क्लब
युवाहरूले स्थापना गरेको पोखरा फ्रिक रिडर्स क्लबले समेत पोखरामा पढ्ने बानीको विकासमा सहयोग गर्दै आएको छ । गत वर्ष यो संस्थाले पोखरामा बुक पार्टी विथ सायाको आयोजना गरेर युवायुवतीहरूलाई पुस्तक पढ्न उत्पेरित गरेको थियो । यो संस्थाले पुस ८ गते पोखरा लेकसाइडको स्नोल्यान्ड होटलमा मनसुन बुक पार्टीको आयोजना गर्दैछ जहाँ मनसुनका लेखक सुविन भट्टराईका साथमा मदिरा, संगीत र नृत्यको मज्जा लिँदै युवा–युवतीहरूले पुस्तक समेत पढ्नेछन् ।
कार्यक्रममा १६ देखि ३० वर्ष उमेर समूहका युवायुवतीले भाग लिने संस्थाका अध्यक्ष अर्जुन गिरीले जनाए । यो संस्थाको स्थापना एवं प्रेरणापछि नेपाली पुस्तक पढ्न खासै रुचि नराख्ने युवायुवतीले खोजीखोजी नेपाली लेखकका कृतिहरू पढ्ने गरेको गिरी बताउँछन् । ‘बोर्डिङ स्कुल पढ्ने युवायुवतीहरूले नेपाली पुस्तकप्रति रुचि देखाउन थालेका छन्,’ गिरीले भने ।