साप्ताहिक संवाददाता
दुबईमा आयोजना हुन लागेको नेफ्टा एवार्डका आयोजकले एवार्डमा सहभागी नै नहुने कलाकारको तस्विर पोस्टरमा राख्दै टिकेट बिक्रि गरिरहेको समाचार सार्वजनिक भएको छ । यद्यपि ती कलाकारहरुले उक्त एवार्डमा सहभागी नहुने बताइसकेका छन् ।
नवौ संस्करणको नेफ्टा एवार्डमा अभिनेत्री रेखा थापा, प्रियंका कार्कीसंगै अभिनेता भुवन केसी, अनमोल केसी र दयाहाङ राई सहभागी नहुने भएका छन् । तर, आयोजकले पोष्टरमा यिनै कलाकारहरुको टाउको देखाएर टिकेट बेच्ने काम गरेको छ ।
‘युकेमा ह्याप्पी डेजको सुटिङमा ब्यस्त रहेकी प्रियंका कार्की भन्छिन्— ‘हामी फिल्मको छायांकनमै ब्यस्त छौ, त्यसले म र दया एवार्डमा सहभागी हुन् पाउँदैनौ । तर, पोष्टरमा अनुहार किन राखियो थाहा छैन ।’ यसैगरी दुबईमा टिकेट बिक्रि हुनुको मुख्य कारण हुन् पछिल्लो समयका स्टार अनमोल केसी । उनी एवार्डमा सहभागी हुने भन्दै आयोजकले टिकेट बेच्ने काम गरिरहेको छ । तर अनमोल अवार्डमा नजाने भएका छन् ।
अनमोललाई पपुलर स्टार र उनका पिता भुवनलाई लाईफटाईम झल्कने अवार्ड दिने प्रस्ताव नेफ्टाबाट भएको थियो । तर, नयाँ चलचित्रको तयारीको कारण उनीहरु एवार्डमा जाने छैनन् । पोस्टरमा फोटो राखिसकेको र अनमोलको माग भएको कारण आयोजकले एवार्ड नै फिक्स गर्दै एवार्डमा लैजान खोजेको बताईन्छ ।
अनमोलले आफ्नो चलचित्र ‘कृ’ को लुक्स सार्वजनिक हुने भन्दै एवार्डमा सहभागी नहुने बताएका थिए । र, भुवनले पनि चलचित्र सुटिङको तयारी गर्नुपर्ने बताएका थिए । तर पनि पोस्टरमा यी कलाकारहरु छन् । त्यसैले होला टिकेट धमाधम विक्री भईरहेको छ । ‘हामीले जाँदैनौ भनेर स्पष्ट भनेका थियौ । अनमोल नजानुको कारण पनि ठिक हो । आयोजकले पोष्टरमा यिनीहरु आउँदैछन् भन्दै टिकेट बेचेछन् अब’ भुवनले पोष्टरमा अनुहार राखिएको बारे बताए ।