म २९ वर्षीया विवाहित युवती हुँ । यौनसम्पर्क भएपछि मलाई शंका लाग्छ अनि म औषधी खान्छु । यी औषधी धेरै खाँदा के हुन्छ ?
९१६० तपार्इंले आफू विवाहित भएको कुरा गर्नुभएको छ तर सन्तान भए–नभएको सन्दर्भमा केही उल्लेख गर्नुभएको छैन । केको शंका ? तपाईंले यौनसम्पर्कपछि के कुरामा शंका लागेको कुरा गर्नुभएको हो स्पष्ट छैन । यौनसम्पर्कपछि गर्भ रहन सक्ने हुन्छ भने अर्कातिर यौनरोगसमेत लाग्न सक्छ । तपाईंलाई भने के कुराको शंका लागेको हो भन्न सकिएन । यौनरोगको कुरा गर्ने हो, तपार्इंले कुनै पनि लक्षणको कुरा गर्नुभएको छैन । त्यसैगरी गर्भ रहेको शंकाको कुरा गर्ने हो भने यसमा अनेक प्रश्नको जवाफ खोज्नुपर्ने हुन्छ । तपार्इंले किन अहिले सन्तान नचाहनुभएको हो भन्ने कुरा पनि आफ्नो पत्रमा उल्लेख गर्नुभएको छैन ।
सन्तान किन नचाहेको ?
सामान्यत: महिलाले सन्तान नचाहने कुरालाई समाजमा स्वीकार्य मानिँदैन । सन्तान जन्माउने–हुर्काउने कार्यमा महिलाको रुचि नहुने कुरालाई सहज मान्ने वातावरण हामीकहाँ तयार भैसकेको छैन । त्यसमा पनि विवाहित भएर पनि सन्तान नचाहनुलाई त असामान्य नै मानिन्छ । तपाईं आफूले सन्तान नचाहनुभएको कुरा स्पष्ट पार्नुभएको भए समाधानको चर्चा गर्न सजिलो हुने थियो । अहिले धेरैजसो महिला जीवनको धेरैजसो समयमा कसरी गर्भवती हुनबाट जोगिने भन्ने ध्याउन्नमै रहेको पाईन्छ । गर्भनिरोधका साधनको व्यापक प्रयोगले यही कुरालाई दर्साउँछ । कतिपयले सन्तान जन्माउने उपयुक्त समय नभएका कारण सन्तान जन्माउन चाहँदैनन् भने अर्कातिर सन्तानको रहर पुगिसकेका कारणले ।
यसबाहेक पनि महिलाले कुनै पनि रूपमा सन्तान जन्माउन नचाहेको समेत देखिन्छ । यसका बारेमा पनि केही चर्चा गरौं ।
सन्तान जन्माउने सन्दर्भमा कुनै प्रकारको भय भएकाले सन्तान नजन्माउने प्रवृत्ति देखिन्छ । कतिपय महिलामा सन्तान कतै अङ्ग–भङ्ग हुने हो कि ? आमाको ज्यानमै खतरा खतरा उत्पन्न हुन्छ कि ? भन्ने स्वास्थ्यसम्बन्धी भयले सन्तान जन्माउन नचाहेको पाइन्छ । कतिपयले संसार अहिले साह्रै खराब छ र भावी सन्तानलाई यी दुष्प्रभावबाट जोगाउन नसकिने भएकाले पनि सन्तान जन्माउन नचाहेको कुरा गर्छन् । आफ्ना सन्तानले भविष्यमा भोग्नुपर्ने पीडाको भागी बन्नु नपरोस् भनेर पनि कतिपयले सन्तान जन्माउँदैनन् । अर्कातिर कतिपयचाहिँ सन्तान जन्माएपछि तिनको हेरचाह र अभिभावकत्वमा लगाउनुपर्ने स्रोत–साधन एवं समयको व्यवस्था गर्न नसकिने मनेर सन्तान जन्माउनबाट टाढा रहन्छन् ।
त्यसबाहेक अर्का थरी महिला स्वभाविक रूपमै सन्तान जन्माउन नचाहने हुन्छन् । यस्तो स्थितिलाई स्वेच्छिक सन्तानहीनता (खयगिलतबचथ अजष्मिभिककलभकक) भनिन्छ । यस्तो स्थितिमा जैविक, सौतेली वा धर्मपुत्र/पुत्री कुनै पनि प्रकारको सन्तानमा रुचि हुँदैन । यसका साथै एक अर्को दार्शनिक विचार पनि अहिले केहीमा पाइन्छ, जसअनुसार सन्तान जन्मने–जन्माउने कुरालाई नकारात्मक रूपमा हेरिन्छ । अंग्रेजीमा यसलाई बलतष्(लबतबष्किm भनिन्छ ।
औषधीले के असर गर्ला ?
पहिलो कुरा, तपाईंले कुन औषधी सेवन गर्नुभएको हो स्पष्ट रूपमा लेख्नुभएको छैन । औषधीका बारेमा लेख्दा त्यसमा भएको रसायनिक पदार्थको नाम लेख्नुभयो भने मात्र सही जानकारी दिन सकिन्छ । औषधी कम्पनीले आ–आफ्नै किसिमले त्यसको व्यापारिक नाम राखेका हुन्छन् ।
भनिरहनु पर्दैन, औषधी अनुसार नै त्यसका तत्काल वा दीर्घकालिन असरहरू हुन्छन् । यहाँ तपार्इंले आपत्कालीन गर्भनिरोध औषधीको सेवन गर्नुभएको हो कि भन्ने लागेको छ । त्यसैले ती औषधीका बारेमा कुरा गर्दैछु । आपत्कालिन गर्भ निरोध भनेको, गर्भनिरोधका कुनै साधन प्रयोग नगरी यौनसम्पर्क भएको बेला वा गर्भनिरोधका साधन प्रयोग गरे पनि कुनै दुर्घटना घट्न गए (जस्तै कन्डम फुट्नु) गर्भ रहनबाट जोगिने एउटा उपाय हो । अंग्रेजीमा यसलाई झभचनभलअथ अयलतचबअभउतष्यल भनिन्छ ।
हुन त आपत्कालीन गर्भनिरोधमा प्रयोग गरिने औषधी अन्य गर्भ निरोधका खाने चक्कीमा प्रयोग गरिने हार्मोन उस्तै भए पनि यसको प्रयोग गरिने तरिका भने फरक छ । यौनसम्पर्क भएको जति सक्यो चाँडो यसको पहिलो मात्रा लिनुपर्छ । पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (पाँच दिन) भित्र लिइसक्नुपर्छ । पहिले–पहिले यो औषधी ७२ घण्टा (तीन दिनभित्र) लिइसक्नुपर्छ भनिन्थ्यो । अर्को मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ । यसरी १२ घण्टाको फरकमा दुई पटक औषधी खाए पुग्छ ।
यी औषधी खाएपछि वाक्वाकी लाग्ने अनुभव त पक्कै गर्नुभएको होला । यसका अल्पकालीन प्रभाव वाक्वाकी लाग्ने वा बान्ता आउने नै हुन् । खाली पेटमा नखाई अर्थात् केही खाएर मात्र औषधी खाए यी असर केही कम गर्न सकिन्छ । टाउको दुख्नु, रिँगटा लाग्नु, मांसपेशी बाउँडिनु वा स्तन छाम्दा दुख्नु यसका अन्य प्रभाव हुन् तर यी प्रभाव प्राय:जसो २४ घण्टाभन्दा बढी रहँदैनन् ।
यसका अन्य असरका कुरा गर्दा महिनावारी ठीक समयमा नहुन सक्छ र यसको अवधिमा केही फरक हुन सक्छ । केही महिलामा गर्भ डिम्बवाहिनी नलीमा हुन सक्छ, जसले गम्भीर समस्या निम्त्याउन सक्छ ।
अहिलेसम्मका अध्ययनहरूले गर्भनिरोधक साधनले स्वास्थ्यमा गम्भीर किसिमको असर पार्ने कार्य गर्दैनन् भन्ने देखिएको छ । नियमित रूपमा प्रयोग गरिँदा यसको प्रभावकारिता घट्न सक्छ, अर्थात् गर्भ रहन सक्छ । तपाईंलाई थाहै छ, यो हार्मोनयुक्त औषधी हो र त्यसका असर त हुन्छन् नै । नियमित रूपमा यौनसम्पर्क हुने स्थितिमा छ भने परिवार नियोजन केन्द्रमा गै राम्रोसँग परामर्श लिई आफूलाई उपयुक्त हुने कुनै गर्भ निरोधको साधन नियमित रूपमा प्रयोग गर्नु नै बेस हुन्छ ।