साप्ताहिक संवाददाता
अमेरिकामा रहेका एनआरएन नेपालीले प्रवर्द्धन गरेको सामाजिक सञ्जाल सगुनले अँग्रेजी नयाँ बर्षको शुरुवातसँगै सर्वसाधारण लगानीकर्ताले लगानी गर्ने अवसर पाउने भएका छन् ।
एक प्रकारको आइपिओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) जस्तै हुने मिनि आइपिओ अमेरिकी जब्स एक्ट २०१२ अन्तर्गत रहेर सर्वसाधारणलाई लगानी गर्न दिईने प्रक्रिया हो । नीजिस्तरका कम्पनीहरुले अमेरिकी जब्स एक्ट २०१२ को अधिनमा रहि सगुनले पनि मिनिआइपिओ मार्फत ८ लाख ६९ हजार ५ सय ६५ कित्ता शेयर बेचेर यो बर्ष २० मिलियन डलर अर्थात २ अर्ब रुपैयाँ भन्दा बढी लगानी सर्वसाधारणबाट उठाउने योजना बनाएको छ । यस क्रममा सगुनले प्रति शेयर २३ डलरको कम्तिमा १३ कित्ता शेयर २९९ मा विक्री गर्नेछ । त्यसभन्दा माथि चाहने व्यक्तिले इच्छा र क्षमता अनुसार २० मिलियन डलर सम्म लगानी गर्न सक्नेछन् ।
अमेरिकी मिनिआइपिओमा नेपालको आइपिओमा जस्तो पहिले इच्छुकहरुको लगानी प्रस्ताव लिने र पछि दामासाहीले बाड्ने भने हुँदैन । मिनि आइपिओमा तोकिएको न्यूनतम लगानीभन्दा बढी जति लगानी गर्यो त्यति मूल्यकै शेयर पर्छ । यसको मतलब दामासाहीमा नभई लगानीकर्ताले मागेजति शेयर पाउँछन् ।
मिनि आइपिओ अगाडीको "वाटर टेस्टिङ" मा सगुनले लगानीकर्ताहरुको मुड समेत नियालिरहेको छ । यस क्रममा डिसेम्वर २३ सम्म सगुनको www.sagoon.com/invest पेजमा २ हजार ७५ भन्दा बढीले करिव ३५ लाख डलर भन्दा बढी लगानी गर्ने इच्छा व्यक्त गरेका छन् ।
अमेरिकी कानुन अनुसार मिनि आइपिओ जारी गर्न लागेको सगुन पहिलो सामाजिक सञ्जाल हो । यसअघि अमेरिकी कानुन ‘रेगुलेसन ए–प्लस’ अन्तर्गत अरु सामाजिक सञ्जालले आइपिओ जारी गरेका छैनन् । अमेरिकाले सन् २०१२ मा प्राइभेट कम्पनीले पनि सर्वसाधारणबाट लगानी जुटाउन सक्ने कानुन ल्याएको थियो । त्यही कानुनको अधिनमा रहि स्टार्टअप कम्पनीको रुपमा सुरु भएको सगुन विश्वभरीबाट सर्वसाधारणको लगानी जुटाएर ग्लोबल कम्पनी बन्न लागेको हो ।
अमेरिकी सुरक्षा निकाय पेन्टागनमा करिब १२ वर्ष काम गरेका नेपाली गोविन्द गिरीले सुरु गरेको सगुनको पहिलो संस्करण सन् २०१४ मा वलिउडकी नायिका मनिषा कोइरालाले अमेरिकाबाट लञ्च गरेकी थिइन । सन् २०१५ को नोभेम्वरमा यसको दोस्रो संस्करण नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लञ्च गरेका थिए । अमेरिका र भारतको नयाँ दिल्लीमा कार्यालय स्थापना गरेको सगुनले नेपालमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ ।