अंग्रेजी नयाँ वर्षभन्दा पहिले क्रिसमस आउँछ । क्रिसमसपछि नयाँ वर्ष । यही बेला चितवनको सौराहामा पुस ११ देखि १५ गतेसम्म १३ औं हात्ती महोत्सवको आयोजना गरिँदैछ । उक्त अवसरमा हात्तीका फरक/फरक कला हेर्दै मनारेञ्जन लिन पाइनेछ । अफ सिजन भए पनि यो अवसरमा सौराहाले बेहुलीको रूप लिन्छ । क्रिसमस र नयाँ वर्षमा नौलोपन खोज्नेहरूका लागि महोत्सवस्थल उत्कृष्ट गन्तव्य बन्नेछ ।
महोत्सव अवधिभर बाघमारा मध्यवर्ती सामुदायिक वनमा दर्शकहरूको भीड लाग्छ । यहाँका हात्तीहरू दर्शकले घेरिन्छन् । समूहमा हुने हात्तीले माहुतेको इसारामा आफ्नो कला देखाउँछन् । यति बेला होटल तथा रेस्टुराँहरूले पनि पाहुनालाई नयाँ स्वाद चखाउँछन् ।
पहिले यस्तो अवसरमा विदेशी पाहुनाको बढी घुइँचो देखिन्थ्यो । अहिले हात्ती महोत्सव स्वदेशी पाहुनाहरूसमेतको रोजाइ बन्दै गएको छ । महोत्सवमा आउनेहरू मौका छोपेर निकुञ्ज घुम्न निस्कन्छन् । त्यति मात्र होइन, आगन्तुकहरूको रोजाइमा राप्ती नदीको डुंगा सयर पनि पर्छ । उता हात्ती प्रजनन केन्द्र तथा थारु संग्रहालयमा पुगेर तस्बिर खिचाउनेहरूको भीड नै लाग्छ । सौराहाको गैंडाचोकमा सञ्चालनमा आएको चेपाङ संग्रहालयले भने चेपाङका पुर्खाले कस्ता सामान प्रयोग गर्थे ? यो कस्तो समुदाय हो ? भन्ने कुरा छर्लङ्ग पारिदिनेछ ।
के छ महोत्सवमा ?
महोत्सवका बेला चितवनका हात्तीलाई विशेष रूपमा सिँगारिन्छ अनि मीठा खाना ख्वाइन्छ । उनीहरूलाई दर्शकमाझ उभ्याएर कला प्रस्तुत गरिन्छ । यो वर्ष नौलो खेलका रूपमा हात्तीपोलो थपिने भएको छ । ‘पहिलो पटक हात्तीपोलोको आयोजना गर्दैछौं,’ महोत्सवका मूल संयोजक दीपक भट्टराईले भने, ‘पाहुनाले मन पराए यसले निरन्तरता पाउनेछ ।’
यसपालि हात्ती दौडको नाम परिमार्जन गरेर ‘इलिफेन्ट फास्ट वाक’ राखिएको छ, जसमा २० वटा हात्तीले सहभागिता जनाउनेछन् । दर्शकले सबैभन्दा बढी रुचाएको हात्तीका छावाबीचको फुटबल हो । यसमा हात्तीले मान्छेले झैं फुटबल खेल्छन् । यसका गोल रक्षकसमेत हात्ती नै हुन्छन् । माहुतेको इसारामा छावाले फुटबल खोस्न घम्साघम्सी गर्छन् ।
यसमा चारवटा टिमको सहभागिता रहनेछ । उता पहिलो पटक महोत्सवमा आउनेहरूलाई हात्तीहरूको सामूहिक वनभोजले समेत तान्नेछ । यसैगरी हात्तीबीच हुने सौन्दर्य प्रतियोगिताले पनि दर्शकमा कौतूहलता जगाउनेछ जसमा पाँचवटा हात्ती सहभागी हुँदैछन् । सुन्दरी हात्तीले क्याटवाक गर्दा दर्शकले ताली बजाएर समर्थन जनाउँछन् । त्यस्तै गाडा दौड र डुंगा दौडले महोत्सवमा रौनक थप्नेछन् । यस पटक हात्तीमा पेन्टिङ गर्ने प्रतियोगिता समेत थपिएको छ, जसमा ५ वाट हात्ती सहभागी हुनेछन् भने कलाकारले हात्तीमैत्री चक प्रयोग गरेर तिनको शरीरमा चित्र बनाउनेछन् ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिमार्फत दर्शकले सांगीतिक मज्जा लिन पाउनेछन् । स्थानीय थारु समुदायमा लोकप्रिय नृत्यले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्नेछ । महोत्सवमा परिकारका रूपमा माछा, हाँस, घोंगी, चिचर आदिको स्वाद समेत लिन पाइनेछ ।