अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ गतेदेखि पोखरामा १८ औं पोखरा सडक महोत्सव सञ्चालन हुँदैछ । महोत्सव पुस १७ गतेसम्म चल्नेछ । महोत्सवमा पोखराको लेकसाइडको झन्डै साढे तीन किलोमिटर क्षेत्र दुलहीझै सिगारिँदैछ । ‘सडकमै खाऊँ, सडकमै नाचौं तथा सडकमै रमाउँm’ भन्ने नाराका साथ आयोजित महोत्सवमा सडकमा विभिन्न प्रकारका स्टल, विविध सांस्कृतिक कार्यक्रम एवं परिकार रहनेछन् । यो महोत्सवमा दर्शकहरूले लोकदोहोरी गीतबाट मात्र नभएर कन्र्सटबाट समेत रमाइलो गर्न सक्ने छन् ।
महोत्सवमा हास्यकलाकारहरूको प्रस्तुति समेत समेटिनेछ । बालबालिकाका लागि बालउद्यान, विदेशी पर्यटक तथा युवा–युवतीहरूका लागि पप कन्सर्ट । अन्तिम दिन नयाँ वर्षको स्वागतार्थ महोत्सव राति २ बजेसम्म चल्ने बताइएको छ । महोत्सवमा रेवानमा आबद्ध १ सय ५ वटा रेस्टुराँसहित विभिन्न प्रकारका स्टल सहभागी हुनेछन् ।
विगत १७ वर्षदेखि सञ्चालन हुँदै आएको यो महोत्सवलाई बृहत् एवं व्यवस्थित बनाउने तयारी भैरहेको संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए । महोत्सवमा देशका विभिन्न स्थानका सांस्कृतिक कार्यक्रमसहित छिमेकी देशका सांस्कृतिक कार्यक्रम समेत हेर्न पाइनेछ ।
महोत्सवका अवसरमा रेस्टुराँमा कार्यरत कर्मचारीहरूबीच दौड र वेटर रेस, संघसंस्थाहरूबीच विविध खेलकुद कार्यक्रम, साहसिक एवं मनोरन्जक गतिविधिसम्बन्धी वृत्तचित्र तथा तस्बिर प्रदर्शनी आदि पनि समावेश हुनेछन् । यसअघि बसुन्धरा पार्कमा आयोजना हँुदै आएको यो सडक महोत्सवअन्तर्गतको विशेष सांस्कृतिक कार्यक्रम यो वर्ष कोमागने पार्कमा सञ्चालन हुने बताइएको छ।