साप्ताहिक संवाददाता
तमीलाई मेरो व्यक्तित्वमा सबैभन्दा मन पर्ने कुरा के हो ?
मान्छेको व्यक्तित्व उसको बाहिरी आवरणभन्दा उसका गुणले निर्माण एवं निर्धारण गर्छ । त्यसैले मलाई तपाईंको साधारण व्यक्तित्व, सरल जीवन भएको सिंगो ऋषि लामिछाने मन पर्छ ।
मैले सुधार्नुपर्ने कुरा के–के छन् ?
सबै कुरा ठीक हुँदाहुँदै पनि आफ्नो शरीर तथा स्वास्थ्यमा ध्यान दिनु अनिवार्य छ । कहिलेकाहीं पिउने बानी छ, त्यो छोड्नुपर्यो । चलचित्र निर्देशन गर्दा सम्झौता गर्ने बानी छ, त्यो पनि हटाउनुपर्यो ।
मैले के काम गरें भने तिमीलाई असाध्यै रिस उठ्छ ?
कहिलेकाहीँ राति तुरुन्त घर आउँदैछु भनेर दुई–तीन घण्टासम्म ढिला गर्दा अनि फोन पनि नउठाउँदा असाध्य रिस उठ्छ ।
हाम्रो वैवाहिक जीवन सफल हुनुका कारण के–के होलान् ?
सुख–दु:ख, हाँसो तथा आँसुमा हामी न कहिले आत्तियौं, न कहिले मात्तियौं । जीवनलाई बुझ्ने दृष्टिकोण एउटै बनायौं । हामीले खोज्ने खुसी एउटै बनायौं । लक्ष्य एउटै बनायौं । बिपना अनि सपना एउटै बनायौं र विश्वास पनि एउटै बनायौं । त्यसकारण हामी सफल छौं । हाम्रो वैवाहिक जीवन सफल छ।
नढाँटी भन त सरिता, तिमीलाई मेरो धेरै माया लाग्छ कि हाम्री छोरीको ?
दुवै जनाको उत्तिकै लाग्छ । श्रीमान्को माया छोरीबाट प्राप्त हुँदैन अनि छोरीको माया श्रीमान्बाट प्राप्त हुँदैन । त्यसैले मलाई दुवै जनाको माया बराबर लाग्छ ।
दोस्रो सन्तानका बारेमा कुनै सोच छ कि छैन ?
धेरै सन्तान हुने बुवा–आमाको जीवन पनि देखेकी छु । त्यसैले मेरा लागि त एक सन्तान ईश्वरको वरदान ।
मैले निर्देशन गरेका चलचित्रमध्ये तिमीलाई मन परेको चलचित्र कुन हो र किन ?
साँच्चिकै भन्ने हो भने तपाईंले निर्देशन गरेका कुनै पनि चलचित्रले मलाई प्रभाव पार्न सकेका छैनन् । भन्नैपर्ने हो भने ‘कहीँ मिलन कहीँ बिछोड’ केही हदसम्म ठीक हो । व्यवसायिक हिसाबले त तपाईंका दसवटा चलचित्रमध्ये आठवटा चलचित्र हिट छन् । त्यो राम्रो कुरा हो तर हिट हुनु र मन पर्नु फरक कुरा हुन् ।
मेरो आगामी चलचित्रमा तिमीलाई अभिनयको प्रस्ताव राखें भने स्वीकार होला कि नहोला ?
आजसम्म म आफूले निर्वाह गर्ने भूमिका, पारिश्रमिक, निर्देशक तथा ब्यानर हेरेर मात्र काम गर्छु । यो सबै नहेरेको भए आजसम्म करिब ३ सयवटा चलचित्रमा अभिनय गरिसक्थें होला । संख्या मात्र बढाउनुको कुनै औचित्य छैन जस्तो लाग्छ मलाई ।
भूमिका र पारिश्रमिक मैले भनेजस्तो भयो भने तपाईंको प्रस्ताव स्वीकार गर्छु, भएन भने तपाईंलाई पनि बाई–बाई, तर तपाईंको ‘उजेली’ मा मैले भनेजस्तै पारिश्रमिक तथा भूमिका भएकाले तपाईंको प्रस्ताव स्वीकार गरेर अभिनय गर्दैछु ।
मलाई थप केही सुझाव दिनु छ ?
एउटा जन्म मात्र होइन, सयौं जन्म पाए पनि म तपाईंकै बनौं ।