साप्ताहिक संवाददाता
शिशिर राणाले निर्माण तथा निर्देशन गर्ने चलचित्र ‘तिमीसँग’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुई अभिनेता नाजिर हुसेन तथा आकाश श्रेष्ठसँग रोमान्स गर्ने भएकी छिन् । चलचित्रमा उनीहरूको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्न लागिएको बताइन्छ । साम्राज्ञी चलचित्र ‘ए मेरो हजुर–२’ को छायांकन सम्पन्न भएपछि ‘तिमीसँग’ मा आबद्ध भएकी हुन् । यसै साता वर्कसप प्रारम्भ भएको यो चलचित्र पुस १५ गतेदेखि छायांकनमा जानेछ ।
डबिङमा दर्पणछायाँ–२
फागुन २७ गते प्रदर्शनमा आउने चलचित्र ‘दर्पण छायाँ–२’ चक्रपथस्थित भेनस रेकर्डिङ स्टुडियोको डबिङ कक्षमा पुगेको छ । तुलसी घिमिरेद्वारा निर्देशित यो चलचित्रमा पुष्प खड्का, श्रद्धा प्रसाईं, सहारा, फिरोज तिमिल्सिना, भारती घिमिरे आदि कलाकारले अभिनय गरेका छन् ।
सर्यो निर्वाचन
पुस २ गते हुने भनिएको निर्माता संघको निर्वाचन स्थगित भएको छ । निर्माता संघका केही असन्तुष्ट सदस्यले पुरानो हिसाब–किताब फस्र्यौट नगरी साधारणसभा गर्न नदिन जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि कार्यतालिकासमेत निस्किसकेको निर्माता संघको निर्वाचन घोषित मितिमा हुन असम्भव भएको हो । यद्यपि निर्वाचन समितिले औपचारिक रूपमा चुनाव रोकिएको सूचना जारी गरेको छैन । साधारणसभामा आर्थिक हिसाब–किताब फस्र्यौट गर्ने कि अगावै गर्ने भन्ने विवादले निर्वाचनको मिति रोकिएको स्रोतको दाबी छ । असन्तुष्ट सदस्यहरूले अध्यक्ष राजकुमार राईको कार्य समितिले सदस्यता नवीकरण सूची तथा भवन निर्माण कोषको रकम साधारणसभापूर्व नै जम्मा गर्नुपर्ने अडान राखेका कारण पुस २ गतेका लागि तय निर्वाचन अनिश्चित भएको बताइएको छ ।
लभ सासाको पोस्टर
केकी अधिकारी तथा कर्मा शाक्यको मुख्य भूमिकाको चलचित्र ‘लभ सासा’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा केकीलाई सासा, कर्मालाई पल तथा आसिफ शाहलाई सिद्धार्थका रूपमा प्रस्तुत गरिएको छ । प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित यो चलचित्र पुस २८ गते प्रदर्शनमा आउँदैछ ।
जेठमा हिटलर
अष्टनारायण पिक्चर्सको चलचित्र ‘हिटलर’ जेठ १२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । छायांकनको अन्तिम चरणमा रहेको यो चलचित्रको निर्देशन सौरभ ढकालले गरिररहेका छन् । चलचित्रमा सोहित मानन्धर, समिया बर्तौला, मेनुका प्रधान, अर्जुन गुरुङ, दिवस धिताल आदि कलाकारले अभिनय गरिरहेका छन् ।
मंगलमका जोडी
निर्माता छविराज ओझाको नयाँ चलचित्र ‘मंगलम’ मा पुष्प खड्का तथा शिल्पा पोखरेल मुख्य भूमिकामा प्रस्तुत हुने निश्चित भएको छ । यो चलचित्रमार्फत अभिनेत्री शिल्पा पोखरेल निर्मात्रीका रूपमा समेत डेब्यु गर्दैछिन् । माघ महिनातिर छायांकन प्रारम्भ हुने यो चलचित्रको निर्देशन नवल नेपालले गर्दैछन् ।
डायरीको आइटम
चलचित्र ‘डायरी’ को आइटम गीत ‘मेरो जवानीको मोल’ सार्वजनिक भएको छ, जसमा नायिका छुल्ठिम गुरुङले आइटम नृत्य गरेकी छिन् । चैत ११ गते प्रदर्शनमा आउने यो चलचित्रमा छुल्ठिमका अतिरिक्त रेखा थापा तथा सन्नी सिंहले पनि अभिनय गरेका छन् ।
युट्युबमा गाजलु
चलचित्र ‘गाजलु’ युट्युबमा उपलब्ध हुन थालेको छ । अनमोल केसी तथा सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र गाजलुको निर्देशन हेमराज बिसीले गरेका हुन् । गत जेठ २८ गते प्रदर्शनमा आएको यो चलचित्रलाई डिजिटल कम्पनि ओएसआरले यसै साता इन्टरनेट रिलिज गरेको हो ।
पिँजडा ब्याक अगेन
चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले निखिल उप्रेतीलाई लिएर चलचित्र ‘पिँजडा ब्याक अगेन’ निर्माण गर्ने घोषणा गरेका छन् । द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गर्ने यो चलचित्रमा निखिलसँगै सारा शिर्पाली, अशिष्मा नकर्मी, पुकार भट्टराई आदि कलाकारले अभिनय गर्नेछन् ।
वैशाखमा रोमियो
हसन खान, निशा अधिकारी तथा ओसिमा बानुको मुख्य भूमिकाको चलचित्र ‘रोमियो’ वैशाख १९ गते प्रदर्शनमा आउने भएको छ । हाल सम्पादनको क्रममा रहेको यो चलचित्रका निर्देशक शंकर कार्की हुन् ।