आत्महत्या कायरले गर्छ कि बहादुरले ? यो एउटा गम्भीर प्रश्न हो । तर्क–वितर्क अनेक हुनसक्छन् । वैज्ञानिकहरू भन्छन्–आत्महत्या गर्नुका पछाडि जैविक कारण पनि जिम्मेवार हुन्छन् । आखिर मानिस एउटा सुन्दर जीवन अकालमै समाप्त गर्ने निर्णयमा किन पुग्छ ? हाम्रो समाजमा चाहिं मानिसहरू के कारणले आत्महत्या गर्ने अवस्थामा पुग्छन् ? कसैले चाहेको कुरा प्राप्त गर्न नसकेर, कसैले केही त्याग्न नसकेर, कसैले सफल हुन नसकेर अनेक–अनेक कारण देखाउँदै धेरैले आत्महत्याको बाटो रोजेका छन् । आखिर मानिस के सोचेर बाँच्छ र के सोचेर मर्छ ? व्यक्तिगत कारण मानिसका इच्छा, आकांक्षा एवं चाहनाहरू ऊ बाँचेको परिवेश, समाज र देशअनुसार फरक–फरक हुन्छ । आफूसँग नभएको कुरा प्राप्त गर्न खोज्नु मानवीय गुण नै हुन् । को के पाएर खुसी हुन्छ र को के गुमाएर दु:खी हुन्छ कसैले भन्न सक्दैन र अरू कसैले ल यो पाइस् अब तँ खुसी हो भनेर पनि कोही खुसी हुने होइन । परिवार र समाजभित्रै बसे पनि मानिस वास्तवमा एकांकी प्राणी हो । उसका निजी मनोकांक्षाहरू बेग्लै हुन्छन् । म जे पाएर खुसी हुन्छु अर्को नहुन सक्छ । जब मानिस परिवारभित्र बस्छ उसले परिवारभित्रबाट पनि केही आकांक्षा राख्छ, समाजबाट पनि राख्छ । आफ्ना विचारहरू राख्छ । जब उसले प्राप्त गर्न सक्दैन र विद्रोह पनि गर्न सक्दैन तब सम्भवत: उसलाई यो संसार रित्तो भएको भान परि महाप्रस्थानको बाटो लिन्छ ।
त्यस्तै किशोरावस्थामा हुने आकर्षणयुक्त प्रेमदेखि लिएर युवावस्थामा हुने आशक्तियुक्त प्रेमले पनि धेरैलाई आत्महत्याको सिकार बनाएको छ । कतिको प्रेमप्रस्ताव अस्वीकृत हुन्छ । कतिको त्यसै टुटछ । धेरैलाई आफूले चाहेको मानिस पाइएन भने संसार नै सकिन्छ, जिन्दगी नै बर्बाद हुन्छ भनेजस्तो एकोहोरो सोच आउँछ र धेरैले बिग्रिएको सम्बन्धको चोट सहन नसकी वा मरेर देखाइदिन्छु भन्ने मूर्खतापूर्ण सोच लिई आवेशमा आत्महत्या गर्छन् । उनीहरूले बुझ्नुपर्ने कुरा के हो भने जिन्दगी लामो छ र यस्ता कैयन् सम्बन्ध बन्छन्–बिग्रन्छन् तर जिन्दगी अघि बढिरहन्छ ।
पढ्न पठाएका छोराछोरी कुन समस्या र मनोदशाबाट गुज्रिरहेका छन् भनेर धेरै आमाबाबु वा अभिभावकलाई थाहा हुँदैन । एकोहोरो पढ मात्र भन्नु र यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्नुको साटो साथीको जस्तो व्यवहार गरी यो उमेरमा यस्तो–यस्तो पनि हुन सक्छ है, यसरी अघि बढ्नू, यसरी सम्हालिनु भनेर मार्गदर्शन गर्न सके धेरैको ज्यान जोगिन सक्छ । जेसुकै परेको खण्डमा परिवार नै अन्तिम सहारा हो भन्ने मनोविज्ञान विकसित गर्न सक्नुपर्छ ।
कतिपय छोराछोरीले आमाबाबुको सधैको व्यस्तता, बेवास्ता र एकोहोरो दबाब झेल्न नसकेर पनि बरु मरे आनन्दै हुन्छ भनेर नकारात्मक निर्णय लिन्छन् । कहिलेकाहीं राम्रै नियत राखेर भन्न खोजे पनि तरिका मिलाउन नसक्दा उल्टो असर परिरहेको हुन्छ र अन्तिममा खराब नतिजा निस्किएपछि बल्ल गल्ती महसुस हुन्छ जसतर्फ सचेत रहँदै प्रेमपूर्वक व्यवहार गर्नुपर्छ ।
आर्थिक कारण
पैसा कमाउन सकिएन भनेर गुनासो गर्नेहरू पाइला–पाइलामा भेटिन्छन् । हुन त पैसाले कसैलाई पनि पुग्दैन । यद्यपि एक हदसम्मको व्यवस्थित जिन्दगी जिउने सपना सबैमा हुन्छ । विवाहितहरूको परिवारका लागिसमेत थप आर्थिक भार सम्हाल्नुपर्ने कारणले धेरै कमाउनैपर्ने चाप हुन्छ नै । कतिमा आफ्नै योग्यता नपुगेर त कतिमा योग्यताअनुसारको काम नभेटेर बेचैनी बढ्छ । कति योग्य भएर पनि काम गरेअनुसार तलब सुविधा नपाएर खिन्न हुन्छन् ।
न उसले भएको जागिर छोड्न सक्छ न थप कमाइका लागि देश छोडन सक्छ, तर घर–परिवारको कमाएर ल्याउनैपर्ने दबाब एकनास झेलिरहेको हुन्छ । सबै मानिसको आँट र स्वभाव एउटै हुँदैन र गरिरहेकै छु त मेरो बाध्यता र मर्काचाहिं किन कसैले बुझ्दैनन्, बरु मरिदिन्छु भनेर पनि आत्महत्याको बाटो समाइएका कैयन् उदाहरण छन् ।
आफ्नो सफलतालाई कदापि अरूसँग दाँजेर नाप्नु हुँदैन । गर्न खोज्नुपर्छ र आफूले गरेको काम र कमाइबाट आफूलाई खुसी प्राप्त हुन्छ भने त्यही ठूलो कुरा हो । पैसाका निम्ति व्यापार–व्यवसाय गर्ने खुबी र हिम्मत पनि धेरैमा हुँदैन र कतिले गरे पनि व्यापारकै ऋण चुलिएको हुन सक्छ । त्यसैले घरपरिवारका मानिसले कमाइ गर्न निस्किएको मानिसको समस्या र मनोविज्ञान बुझेर व्यवहार गरिदिनुपर्छ ।
सामाजिक कारण
मानिसले एउटै कारणले मात्र आत्महत्या गरिहाल्छ भन्न सकिंदैन । कतिले आवेशमा आएर त कतिले पूर्ण योजना बनाएर आत्महत्या गर्छन् । कतिले पैसा कमाउन नसकेको भन्दै, कतिले इज्जत कमाउन नसकेर, कतिले प्रेम प्राप्त गर्न नसकेर, कतिले इज्जतमा दाग लागेर संसारबाट बिदा हुने कठिन निर्णय लिन्छन् । हाम्रो समाजमा जसले धन कमायो उसैको इज्जत हुन्छ, उसैको जय–जयकार चल्छ । कसले कसरी कमायो सरोकार राखिँदैन ।
भ्रष्टाचारी नै भनेर प्रमाणित भए पनि सानका साथ समाजमै बसेको हुन्छ त्यो मान्छे, इमान्दारचाहिं सामान्य आवश्यकता पूरा गर्न अहोरात्र खटिएर एउटा कुनामा खुम्चिएर बसेको हुन्छ, जसले वैराग्यता बढाउँछ । अचेल विवाहेत्तर यौनसम्बन्ध र अनैतिक सम्बन्धका कारण पनि कतिपयले आत्महत्याको मार्ग पहिल्याउँछन् । सामाजिक अपमान, दुव्र्यवहार,एवं छूवाछुत सहन नसकी मर्नेहरू पनि उत्तिकै भेटिन्छन् ।
facebook.om/abeeralthapa
twitte@abeeralthapa