साप्ताहिक संवाददाता
अघिल्लो वर्षको सफल चलचित्र हो— ‘प्रेमगीत’ । चलचित्रको व्यवसायिक सफलतापछि यसका निर्माता सन्तोष सेन तथा निर्देशक सुदर्शन थापाबीचको सम्बन्धमा चिसोपन आउन थाल्यो । सामान्यत: चलचित्र सफल भएपछि निर्माता र निर्देशकको जोडी थप स्तरीय चलचित्र निर्माण जुट्नुपर्नेमा सन्तोष र सुदर्शनले अलग–अलग बाटो निर्धारण गरे । यसबीच दुवैले करिब–करिब उस्तै मितिमा दुई भिन्न चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।
सन्तोषले प्रेमगीत–२ को छायांकन प्रारम्भ गरिसकेका छन्, सुदर्शनले पनि ‘म यस्तो गीत गाउँछु’ को छायांकन प्रारम्भ गर्ने अन्तिम तयारी गरेका छन् । रमाइलो कुरा के छ भने प्रेमगीतको रोमान्टिक जोडी अर्थात् प्रदीप खड्का तथा पूजा शर्माको बाटो पनि मोडिएको छ । प्रदीपले प्रेमगीत–२ को साथ छाडेनन् भने पूजाले सुदर्शनलाई धोका दिन चाहिनन् । अझ रमाइलो त के छ भने निर्माता सन्तोष सेनले प्रदीपका लागि नयाँ नायिका अश्लेषा ठकुरीलाई भित्र्याए भने सुदर्शनले पूजाका लागि पल शाहलाई उभ्याए । यो रोमाञ्चक प्रतिस्पर्धाको नजिता कस्तो हुने हो, हेर्न बाँकी नै छ ।