हङकङ— महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित खण्डकाव्य मुना–मदनमा तयार पारिएको गीति नाटक मुना मदन सांस्कृतिक संस्थानका कलाकारहरूले पहिलो पटक हङकङमा मञ्चन गरेका छन् । कार्यक्रमलाई पूर्वमन्त्री गोपालमान श्रेष्ठ, सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई तथा हङकङस्थित विशिष्ट व्यक्तित्वहरूले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गरेका थिए ।
हङकङ एकिकृत नेपाली समाज (हिन्स) को संयोजनमा याउमा तेईस्थित हेनरी जी लङ कम्युनिटी हलमा दुई पटक प्रदर्शन गरिएको हो । सांस्कृतिक संस्थानमा अध्यक्ष उद्योग राईको नेतृत्वमा १२ सदस्यीय कलाकार टोली गत २२ र २४ तारिख गरी हङकङ पुगेका थिए । टोलीले मुना–मदन नाटक मञ्चनसँगै तमु समाज हङकङले आयोजना गरिएको तमु ल्होसारमा पनि विशेष गरी गुरुङ जातिमा प्रचलित नृत्यहरू कौडा र सालैजो प्रदर्शन गरेका थिए । नाटक मञ्चनअघि नेपाली कला र संस्कृति फैलाउने उद्देश्यले मारुनी, च्याब्रुङ नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हिन्सद्वारा सञ्चालित नेपाली नृत्य कक्षामा प्रशिक्षण लिइरहेका बालबालिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए ।
हङकङमा नेपाली कला र साहित्यलाई बढावा दिने खालका कार्यक्रम आयोजना गर्न पाउनु नेपाली भएर गर्व गर्ने विषय रहेको कार्यक्रम संयोजक विनय शाह बताउँछन् । कार्यक्रम नाफाका लागि होइन, नेपाली भएर नेपालको मायामा स्वविवेकले आयोजक सदस्य बनेको हङकङ मुना–मदन प्रदर्शन टोलीका सदस्यहरू दुर्गा गुरुङ, अधिराज राई, नरेन्द्रराज गुरुङ, टीका कोयी राई, मिलन गुरुङ, सुवास चाम्लिङ, चन्द्रज्योति आलेमगर, कोमल गुरुङ, कृष्णराज लावती, वसन्त श्रीनेत, चेली वनेम चाम्स, मञ्जु पुन, विनोद मल्ल रहेका छन् ।