साप्ताहिक संवाददाता
पुस १३, २०७३
अभिनेता आर्यन सिग्देल यतिबेला चलचित्रविहिन छन् । पछिल्लो चलचित्र ‘क्लासिक’ प्रदर्शन भएयता आर्यनसँग नयाँ चलचित्र छैनन् । त्यसो त आर्यनले आफ्नो ब्यानरबाट निर्माण भएका चलचित्रमा मात्र अभिनय गर्ने बताएपछि नै उनलाई अन्य निर्माता–निर्देशकले आफ्ना चलचित्रमा नलिएका हुन सक्छन् ।
निर्देशक दिनेश राउतले चलचित्र ‘पर्व’ मा आर्यनलाई अभिनय गराउने अनुमान गरिएको थियो तर आर्यनको तौल नघटेपछि उनले कोशिस क्षेत्री नम्रता श्रेष्ठको जोडी बनाउने निर्णय गरे । चलचित्रमा अभिनय गर्न रोकिए पनि आर्यन पूर्णतया वेरोजगार भने छैनन् । उनी यतिबेला स्वदेश तथा विदेशका स्टेज कार्यक्रममा सक्रिय छन् । कहिले कतार त, कहिले अष्ट्रेलिया पुगेर स्टेज प्रस्तुति दिइरहेका आर्यनलाई पर्दामा हेर्न अझ कति कुर्नु पर्ने हो, यसै भन्न सकिँदैन ।