साप्ताहिक संवाददाता
उपराष्ट्रपति नन्दबहादुर पुनको छोरा हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार भक्तपुरबाट राष्ट्रपतिको नक्कली छोरा बनेर माओवादीको कार्यक्रम नाममा ठगी गर्दै हिडने सिन्धुपाल्चोकका 'कमल' भनिने रोशन सुवेदीलाई पक्राउ गरेको हो ।
यसअघि गत मंसिर ५ गते पनि उनलाई महाशाखाको टोलीले पक्राउ गरेर कारवाही गरेको थियो । तर, छुटे लगत्तै उनी फेरि ठगी गर्न थालेपछि प्रहरीले मंगलबार पुन: पक्राउ गरेको हो । उनले उपराष्ट्रपति पुनको पिए / छोरा हुँ भन्दैं विभिन्न सरकारी र गैर—सरकारी कार्यलयहरुमा फोन गरी रकम माग गर्ने गरेका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा उनले ९८६१६९८१२२ नम्बरको मोबाइलबाट उपराष्ट्रपतिको पिए/छोरा हुँ भन्दै विभिन्न सरकारी तथा गैर—सरकारी कार्यलयहरुमा कार्यक्रमको लागि रकम जबरजस्ती मागेको, उपराष्ट्रपतिको नाम दुरुपयोग गर्दै विभिन्न गलत काम गरेको, विभिन्न पत्रपत्रत्रिका र टेलिकमको १९७ बाट विभिन्न संघसंस्थाको नामहरु संकलन गर्ने गरेको र सोही आधारमा नेकपा माओवादीको कार्यक्रमका लागि भन्दै पैसा असुल्ने गरेको खुल्न आएको छ ।
सुवेदीले राजस्व अनुसन्धान विभाग, औषधी ब्यवस्था विभाग, नेपाल कृषि अनुसन्धान परिषद, नापी विभाग, केन्द्रीय पञ्जीकरण विभाग, परराष्ट्र मन्त्रालय, हुलाक सेवा विभाग, डिल्लीबजार, आध्यात्मिक समाज, नयाँ बानेश्वर, जल उत्पन्न प्रकोप न्युनीकरण विभागलगायतका संस्थाहरुमा रकम माग गरेको पाइएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।