साप्ताहिक संवाददाता
महेश लिम्बू रेडियो कान्तिपुरका हेन्डसम रेडियो जक्कीहरूमध्येका एक हुन् । प्रत्येक बुधबार बिहान १० बजेपछि प्रसारण हुने चलचित्रसम्बन्धी कार्यक्रम ‘बायोस्कोप’ सहित आधा दर्जन कार्यक्रममा यी प्रस्तोतालाई केही समयअघि चलचित्रबाट अभिनयको प्रस्ताव आएको थियो । ५ फिट ८ इन्च अग्ला महेशले अभिनयमा कन्फिडेन्स नभएकाले केही चलचित्रको प्रस्ताव अस्वीकार मात्र गरेनन्, कन्फिडेन्स बढाउन एकसाथ दुईवटा म्युजिक भिडियोमा अभिनय गरे ।
गायक बिकेश साउदेन तथा किरण लिम्बूका दुई भिन्न गीतको भिडियोमा अभिनय गरेपछि महेशले ‘चिनियाँ अभिनेता’ जस्तो देखिएको प्रतिक्रियासमेत पाए । सगरमाथा टेलिभिजनमा ‘प्ले स्टोर’ शीर्षकको कार्यक्रम सञ्चालन गरिरहेका महेशले अहिले आएर आफ्नो कन्फिडेन्स बढेको अनुभूति गरेका छन् । मंगोलियन लुक्सका महेशलाई यदि कुनै निर्देशकले आफ्नो नयाँ चलचित्रमा अभिनेताका रूपमा पदार्पण गराए भने अचम्म नमाने हुन्छ ।