धेरैजसो नेपाली चलचित्रमा कसले लगानी गर्छ, त्यसको चर्चा बाहिर आउँदैन । पोस्टरमा नाम देखिए पनि त्यसको खासै चर्चा हुँदैन । यद्यपि माधव वाग्ले यस्तो नाम हो जसले लगानी गरेको चलचित्रले चर्चा मात्र होइन, पैसा पनि कमाउँछ । चलचित्रका बारेमा कुनै अध्ययन नगरेका, चार पटकसम्म एसएलसी फेल भएका मात्र होइन, छुच्चो स्वभावका भनेर चिनिएका माधव वाग्ले आखिर नेपाली चलचित्रको दुनियाँमा किन छाए ? संसारभर निर्देशक र कलाकारको नाममा चलचित्र बिक्छ, अनुहार नै नपरेका माधव वाग्लेमा त्यस्तो के खुबी छ ? फस्ट लभ, लुट, छड्के, रेसम फिलिलीजस्ता चर्चित र कमाउ चलचित्रका निर्माता वाग्लेसँग साप्ताहिकले यसपटक लामो समय बिताएको थियो ।
नेपाली चलचित्रको धार परिवर्तन गर्ने कलाकारका बारेमा समाचार प्रकाशित भएपछि तपाईं रिसाउनुभयो, किन ?
नेपालमा राम्रा कलाकार र नयाँ कुरा सोच्ने निर्देशक आएका छन्, तर उनीहरूको सोचमा कसले लगानी गर्यो ? नयाँ शैलीका चलचित्रमा लगानी गर्ने हामी तर प्रशंसा निर्देशक र कलाकारको मात्र ? कुनै पनि चलचित्र बनाउन निर्माताले पैसा हाल्नुपर्छ । निर्माता भनेको चलचित्रको बाउ हो । निर्देशक आमा हुन् । अब यस्तो कुरामा बाउलाई नै बिर्सिदिने ? नेपाली चलचित्रको धार परिवर्तन गर्ने मान्छे चिन्नुहोस् । त्यो मान्छे माधव वाग्ले हो । सहरी युवालाई लक्षित गरेर चलचित्र बनाउने, नेपाली चलचित्र सबैले हेर्न मिल्ने गरी बनाउने, दर्शकलाई मल्टिप्लेक्ससम्म ल्याउने र नेपाली चलचित्रबाट पैसा कमाउन सकिन्छ भनेर प्रमाणित गर्ने एउटा मान्छे माधव वाग्ले हो ।
तपाईंले लगानी गर्नुअघि बनेका चलचित्र नेपाली थिएनन् ?
त्यो बेलाका ९९ प्रतिशत चलचित्र हिन्दी चलचित्रका कपी हुन्थे । नेपालका सहरिया युवाहरू ‘नेपाली चलचित्र’ भन्दै हाँस्थे । नेपाली भाषामा बन्नेबित्तिकै कुनै चलचित्र नेपाली हुन्छ ? जमाना परिवर्तन भैसकेको थियो, तर नेपाली चलचित्र उही पुरानै शैलीमा अघि बढिरेहेको थियो । त्यसलाई नयाँ निर्माता–निर्देशक तथा कलाकारहरूले परिवर्तन गरेका हुन् । त्यसमा निर्माताको नाम पनि आउनुपर्यो ।
यसको अर्थ मल्टिप्लेक्समा चल्ने चलचित्र बनाउनुपर्छ भन्ने तपाईं एक्लो निर्माता हो ?
म त्यसो भन्दिनँ । मभन्दा अघि क्युएफएक्सका लगानीकर्ताहरू विशेष गरेर नकिम उद्दिनहरूले कागबेनी, सानो संसारजस्ता चलचित्र बनाइसक्नुभएको थियो । त्यतिबेलै मैले ‘फस्ट लभ’ रिजिल गरेँ । त्यो पनि दिनको २५ हजार रुपैयाँ हललाई तिर्छु भनेर । कसले गर्छ यस्तो हिम्मत ? चलचित्रमा लगानी गर, त्यसपछि चलचित्र चलाउन फेरि दिनको २५ हजार तिर । यो मजस्तो मुटु भएको व्यक्तिले मात्र गर्छ । त्यति मात्र होइन, मैले चलचित्रको प्रचार गर्ने परम्परागत शैलीमा परिवर्तन ल्याएँ । मैले नै नेपालमा फस्ट लुक सुरु गरेँ । ट्रेलर रिलिजको परम्परा सुरु गरेँ । गीत रिजिलजस्ता दर्शन तान्ने नयाँ फन्डा गरेँ । मैले आफ्नो पहिलो चलचित्रमै ६६ लाख लगानी गरेको थिएँ, हातमा ९१ लाख पारेँ । अब भन्नुहोस् नेपाली
चलचित्रको धार परिवर्तन गर्ने को हो ?
दोस्रो चलचित्र लुट बनाउँदा त्यसले पैसा कमाउँछ भन्ने विश्वास थियो ?
अरे यार, म व्यापार गर्न चलचित्रमा छिरेको हुँ, हिरोइनसँग डेटिङ गर्न अथवा हिरो बन्न होइन । त्यसैले कमाउँछ भन्ने विश्वास भएन भने म लगानी नै गर्दिनँ नि । लुट ३६ लाखमा तयार भयो भने हातमा पर्यो— १ करोड ४८ लाख । गोपीकृष्णमा लुटले १ सय ८४ दिन
चलेको थियो ।
तर छड्केमा नराम्रोसँग डुब्नुभयो नि ?
डुबेको होइन, गाली खाएको चाहिँ हो । लुट हिट भएको जोसमा मैले छड्केमा १ करोड २० लाख खर्च गरेँ । यसले यस्तो ह्विम ल्यायो कि कहिल्यै नपाएको १८ शो नेपाली चलचित्रले पायो । हिन्दी चलचित्रका तीन खानले नेपालमा नपाएको ओपेनिङ बुकिङ भयो, तर दर्शकले यति ठूलो अपेक्षा राखिदिए कि शुक्रबार बेलुकादेखि नै पत्रकार र दर्शकहरू मिलेर छड्केलाई गाली गर्न थाले । माधव वाग्ले अहिले ५१ वर्षको भयो । यो उमेरमा म जम्मा दुई पटक रोएको छु, एक पटक बुवाको पार्थिव शरीरलाई घाट लैजाँदा, अर्को पटक ‘छड्के’लाई दर्शकले गाली गर्दा । यति हुँदा पनि ‘छड्के’मा मैले घाटा खानुपरेन । लुटका कारण मेरो यो चलचित्र विदेशमा हाताहात बिक्री भएको थियो । पहिलो तीन दिनले पनि राम्रै पैसा कमायो । हामी घाटा खानबाट जोगियौं ।
रेसम फिलिलीमा पनि फस्नुभयो नि ?
भूकम्पले फसायो । रेसम फिलिलीको गीत नेपाली चलचित्रको दुनियाँमा सबैभन्दा बढी अपलोड भएको, चर्चा कमाएको गीत बन्न पुग्यो । शुक्रबार चलचित्र रिलिज भयो । त्यसले इतिहासमै नपाएको २४ शो पायो, तर शनिबार पहिलो सो चल्ने बेलामा भूकम्प गयो, अब यसमा मेरो के लाग्छ ? घाटा लाग्यो तर आज पनि मलाई गौरव लाग्छ, रेसम फिलिली चलचित्र मैले बनाएको हुँ ।
नेपाली चलचित्र निर्माण गरिरहने ?
हो, बेडमा बिरामी भएर सुत्दा पनि र मृत्यु आउनु एक मिनेटअघि पनि मेरो चलचित्रले कहाँ कति व्यापार गरिरहेको छ, मेरो चलचित्र कहाँ–कहाँ सुटिङ् भैरहेको छ भनेर सोधखोज गरिरहनेछु । मैले जीवनमा २१ वटा काम छाडिसकेँ । यो २२ औं काम हो । ५१ वर्षपछि पेसा परिवर्तन गर्नु राम्रो पनि होइन । अहिले मैले तीनवटा चलचित्रमा १ करोड ९० लाख लगानी गरेको छु । त्यसमध्ये लभ सासा पुस २९ मा रिलिज हुँदैछ । लुट–२ फागुन १३ र लालपुर्जा वैशाखमा ।
अरू चलचित्रमा लागेर डुब्छन्, तपाईंले करोडौं कमाउनुभयो, होइन ?
कमाए भन्दिनँ, निर्माताको इज्जत जोगाइरहेको छु । चलचित्रबाट आएको आम्दानीले मैले एक कप चिया पनि पिएको छैन । जति पैसा आउँछ, त्यो चलचित्रमै लगाउँछु । आफ्नो रेगुलर खर्चका लागि श्रीमतीसँग महिनाको ६० हजार रुपैयाँ लिन्छु । मैले चलचित्रका लागि २ करोड बैंकबाट निकालेको थिएँ, अहिले ५ करोडसम्म निकाल्न सक्ने भएको छु ।
पुराना निर्माताहरू तपाईंका पछि लागिरहेका छन्, कस्तो लाग्छ ?
म रहरले सिनेक्षेत्रमा पसेको होइन । निर्देशक उज्ज्वल घिमिरेसँग पहिलो चलचित्र बनाउन ५ लाख खर्च गरेर पनि म अध्ययन नपुगेको निष्कर्षमा पछाडि फर्किएको मान्छे हुँ । म अरूको लहैलहैमा लागेर, हिरो वा खलनायक बनेर अनुहार देखाउन, हिरोइनलाई गर्लफ्रेन्ड बनाउन वा अन्य स्वार्थ लिएर यहाँ आएको होइन । म केवल व्यापार गर्न आएको हुँ, त्यो पनि नयाँ शैलीमा ।
नेपाली चलचित्र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि पुरस्कृत हुन थालेका छन् । तपाईंचाहिँ पछाडि पर्नुभएन ?
अरु घोडा चढे भनेर म धुरी चढ्ने मान्छे होइन । म के कुरामा गौरव गर्छु भने पहिले ‘फस्ट लभ’ बाट नेपालभित्रका युवालाई नेपाली चलचित्रको नयाँ स्वाद दिएँ । ‘लुट’ बाट डायस्पोराका नेपालीहरूलाई नेपाली चलचित्र बेचेँ । माधव वाग्लेको अनुहार होइन, चलचित्र बिक्री भएको हो । चलचित्र भनेको अन्तर्राष्ट्रिय भाषा हो । यसमा ‘कालो पोथी’ र ‘सेतो सूर्य’ जस्ता चलचित्रले नेपाली चलचित्रको इज्जत जोगाएका छन्, पुरस्कृत हुन थालेका छन् ।
कस्तो सपना ?
‘सेतो सूर्य’ जस्तै कान्स फिल्म फेस्टिभलमा जाने । मेरो त पुरस्कृत नै हुने सपना छ । नेपाली दौरा–सुरुवाल तथा कोट टोपी लगाएर नेपालीमै भाषण गर्ने । दोभाषे लगाएर अरूलाई बुझाउने ।
तपाईंलाई अंग्रेजी बोल्न आउँदैन र ?
आउँदैन, म चारपल्ट एसएलसी फेल भएको मान्छे हुँ, त्यो पनि अंग्रेजीमै । आईए पास गर्न तीन वर्ष लागेको थियो । अंग्रेजी भाषा सिक्नुअघि नै म पैसा कमाउन जापान गएँ । त्यहाँ अंग्रेजी बोल्ने मौकै मिलेन । १२ वर्ष लामो बसाइपश्चात् नेपाल फर्किएर चलचित्रमा लागें । मलाई अंग्रेजी भाषा आउँदैन भन्न लाज लाग्दैन ।
तपाईं कहिले निर्माता संघका अध्यक्षसँग झगडा गर्नुहुन्छ, कहिले सिनेमा हलवालासँग । किन ?
म कसैको पनि गलत कुरालाई सहि पनि भन्न सक्दिनँ । दुई खालका भाँडा एकै ठाउँमा हुँदा कहिलेकाहीँ ठोक्किन्छन् र आवाज आउँछ ।
भनेपछि हलवाला तथा सहकर्मीहरूसँग गुनासो पनि छ ?
गोपिकृष्णका मालिक उद्धव पौडेल भनेका नेपाली सिनेमाका हजुरबुवा हुन् । क्यु एफ एक्सका मालिक नकिम उद्धिमहरू नेपाली सिनेमाका बाउ हुन् । अशोक शर्माहरू नेपाली चलचित्रका काकाहरू हुन् । म परें, नेपाली चलचित्रको फुच्चे तर तिखो नाति । म जस्तो नातिले अलिअलि चकचक गर्छ, गाली गर्छ । यो मेरो अधिकार पनि हो, घुक्र्याइँ पनि हो । उहाँहरू पनि अहिले नेपाली चलचित्रलाई माया गर्ने निर्माता पाएर खुसी हुनुहुन्छ ।
तपाईं सफल हुनुको रहस्यचाहिँ के हो ?
मानिसहरू श्रीमतीलाई भन्दा गर्लफ्रेन्डलाई मन पराउँछन् । सफल हुनु छ भने कामलाई श्रीमती होइन, गर्लफ्रेन्ड बनाउनुपर्छ । नेपाली चलचित्र उद्योग मेरी गर्लफ्रेन्ड हुन् । म उनलाई प्रेम गर्छु र रातदिन उनीसँगै बिताउन चाहन्छु । अरू पनि नेपाली चलचित्रलाई माया गर्छन् तर उनीहरूले विवाह गरिसकेका छन् । त्यसैले उनीहरूको माया बाध्यताको माया हो । मेरो ह्दयको माया ।
नेपाली चलचित्रका उम्दा निर्देशक, कलाकारको नाम लिनुपर्दा ?
निर्देशकमा निश्चल बस्नेतको । ऊ आफू मात्र जन्मिएको छैन, अरूलाई पनि जन्माइरहेको छ । हलवालामा नकिम उद्दिन, कलाकारमा सौगात मल्ल, नायिकामा प्रियंका कार्की, फिल्म मेकरमा छवि ओझा र दीपकराज गिरी । ज्याद्री केटी चाहीँ नम्रता श्रेष्ठ । दुनियाँले के सोच्छ, उसलाई मतलब छैन, ऊ के गर्न चाहन्छे, ऊ त्यसमै फोकस हुन्छे ।
तपाईं नेपाली चलचित्र नपढेको मान्छे, नबुझेको मान्छे, कसरी नेपाली चलचित्रको डन बन्नुभयो ?
अरे यार, म जापानमा अवैधानिक रूपमा बसेको थिएँ । बाहिर निस्कँदा पक्राउ पर्ने डर हुन्थ्यो । कामबाट फर्केर आएपछि के गर्ने ? एउटा मात्र साधन थियो— हिन्दी चलचित्र हेर्ने । म दिनमा पाँचवटा चलचित्र हेर्थें । रात–दिन फिल्म हेर्दाहेर्दै कुन बेला मभित्र फिल्म बनाउने इच्छा जागृत भएछ, थाहै भएन । नयाँ युवाहरूसँग काम गर्दा म आफैं पनि युवा हुन पाएँ । नेपाली चलचित्रलाई लिड गर्दा डन हुन पाएँ, हा... हा... हा... ।