इक्वेडरको भूकम्प
ल्याटिन अमेरिकी देश इक्वेडरमा १६ अप्रिलमा ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्प गयो । राजधानी क्वेटोबाट १ सय ६० किलोमिटर टाढा रहेको म्युनिसिनी सहरलाई केन्द्रबिन्दु बनाएर उक्त विनाशकारी भूकम्प गएको थियो । यो भूकम्पको केन्द्र जमिनको सतहबाट १९ किलोमिटर गहिराइमा थियो । उक्त भूकम्पमा परी ६ सय ७३ जनाले ज्यान गुमाए भने १६ हजार ६ सय मानिस घाइते भए । यो भूकम्पका कारण हजारौं मानिस घरबारबिहीन भएका थिए ।
इटलीको भूकम्प
यही वर्ष इटलीमा अर्को ठूलो भूकम्प गयो । २४ अगस्टमा गएको उक्त भूकम्पमा परी २ सय ९९ जनाले ज्यान गुमाए । यो भूकम्पमा परी अमात्रीचेमा मात्र २ सयभन्दा बढीले ज्यान गुमाएका थिए । ६ दशमलव २ रेक्टर स्केलको उक्त भूकम्प राजधानी रोमभन्दा १ सय किलोमिटर उत्तर पूर्वको एक्युमोली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर गएको थियो । भूकम्पमा ३ सय ८८ जना घाइते भएका थिए भने ४ हजार ५ सय मानिस घरबारविहीन बने ।
चीनको बाढी
मध्यजुनमा चीनमा भएको भारी वर्षाका कारण भयानक बाढी आयो । बाढीले उत्तर तथा दक्षिणी चीनमा ठूलो मानवीय एवं भौतिक क्षति पुर्यायो । बाढीका कारण ३ सय ५० जनाको ज्यान गयो भने भारी वर्षापछि आएको तुफानमा परेर ९९ जनाले ज्यान गुमाए । यसबाट २२ मिलियन डलर बराबरको क्षति भएको बताइएको छ ।
यो बाढीका कारण हेबेई र हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भए । बाढीले १५ लाख हेक्टरमा लगाइएका बालीनाली विनाश गरेको थियो । यो बाढीबाट ८६ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यो चीनमा आएको सन् १९९८ पछिको सबैभन्दा ठूलो बाढी थियो ।
उत्तर कोरियाको बाढी
गत वर्षका ठूला प्राकृतिक विपत्तिहरूमध्येमा पर्छ, उत्तर कोरियामा आएको बाढी । अगस्टको अन्ततिर सुरु भएको उक्त बाढीका कारण उत्तर कोरिया निकै प्रभावित भयो । चीन र रसियाको सीमाक्षेत्रमा पर्ने तुमेन नदीमा आएको बाढीका कारण ५ सय २५ जनाले ज्यान गुमाए भने कैयौं घाइते भए । बाढीका कारण १ लाखभन्दा बढी घरबारविहीन भए । उत्तर कोरियाको केन्द्रीय न्युज एजेन्सीले त्यहाँका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जारी गरेको स्टेटमेन्टमा यसलाई सन् १९४५ यताकै ठूलो बाढीका रूपमा उल्लेख गरिएको थियो ।
अमेरिकाको बाढी
१२–२२ अगस्टमा अमेरिकाको लुसियानामा मानवीय क्षति कम भए पनि ठूलो आर्थिक विनास गर्ने बाढी आयो, जसलाई अमेरिकाको अनपेक्षित र ऐतिहासिक बाढीका रूपमा लिइएको छ । बाढीपछि उक्त राज्यमा संकटकालसमेत घोषणा गरिएको थियो । १३ जनाको ज्यान लिएको उक्त बाढीका कारण १० देखि १५ बिलियनको सम्पत्ति क्षति भएको बताइएको छ । यसबाहेक ३–५ अप्रिल २०१६ मा पाकिस्तानमा गएको बाढीमा परी १ सय ५३ जनाले ज्यान गुमाए भने १४ मेमा श्रीलंकामा सुरु भएको बाढीमा परी १ सय १ जनाले ज्यान गुमाए ।
भारतीय तातो हावा
अप्रिल र मेमा भारतलाई तातो हावाले निकै प्रभावित गर्यो । भारतीय सरकारको तथ्यांकअनुसार ५१ डिग्री उच्च तापक्रमका कारण राजस्थान राज्यको फलोदी निकै प्रभावित भयो । यही तातो हावाका कारण १ सय ६० भन्दा मानिसले ज्यान गुमाए भने ३ सय ३० मिलियन मानिस प्रभावित भए । यो तापक्रमका कारण त्यहाँको पानीको भण्डार रित्तिनुका साथै उच्च तापको लहरले अन्य थुप्रै प्रभाव पारेको थियो । यसबाहेक उत्तरी अमेरिकाको जनजीवन पनि तातो हावाका कारण प्रभावित भएको थियो।
एटलान्टिक तुफानी सिजन
१२ जनवरी २०१६ मा सुरु भएको एटलान्टिक तुफानको सिजन २५ नोभेम्बर २०१६ मा रोकिएको थियो । यो अवधिमा मुख्य ३ वटा गरी ७ वटा तुफान तथा १५ वटा आँधी चलेका थिए । यो तुफान र आँधीका कारण १ हजार ७ सय ६६ जनाले ज्यान गुमाए भने ११ दशमलव ६६ बिलियन डलरको क्षति भयो । यसलाई सन् २००५ र २०१२ पछिको सबैभन्दा खतरानाक तुफानी सिजन मानिएको छ । यस्तै प्यासिफिक तुफानका कारण ८ सय ६९ जनाले ज्यान गुमाए भने ९ दशमलव ५३ बिलियन डलर क्षति भएको बताइन्छ।
आगलागी
दक्षिणी अमेरिका र ग्रेट स्मोकी माउण्टेनमा भएको आगलागीले पनि मानवीय क्षति पुर्यायो । अक्टोबर १३ मा दक्षिण अमेरिकामा भएको आगलागीका कारण ४ सय बढी घर ध्वस्त भए भने १४ जनाको ज्यान गयो । आगलागीका कारण ७४ जना घाइते भए । नोभेम्बरको अन्त्यतिर ग्रेट स्मोकी माउन्टेनमा भएको आगलागीमा पनि १४ जनाको ज्यान गयो भने १ सय ३४ जना घाइते भए । यसमा १ हजार ६ सयभन्दा बढी घर जलेर ध्वस्त भए ।
उत्तरी चीनको चक्रवात
उत्तरी चीनमा १९ जुलाईदेखि २१ जुलाईसम्म चलेको चक्रबातका कारण ठूलो मानवीय एवं भौतिक क्षति भयो । उक्त चक्रवातमा परेर १ सय ८४ जनाको मृत्य भयो भने १ सय ३० जना हराइरहेका छन् । यो चक्रबातले ४ दशमलव ९६ बिलियन डलर बराबरको क्षति गर्यो । यसले खास गरी केन्द्र, उत्तर तथा उत्तरी क्षेत्र नजिकै पर्ने दक्षिण चीनमा समेत प्रभाव पार्यो ।