साप्ताहिक संवाददाता
भारत सरकारले ५ सय तथा १ हजारको नोटमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव बलिउडमा समेत पर्यो । नोटबन्दीका कारण केही चलचित्रको छायांकन रोकिएको खबर सार्वजनिक भएपछि सञ्चारमाध्यमले विभिन्न चलचित्रकर्मी, निर्माता, निर्देशकसँग प्रतिक्रिया लियो । नोटबन्दीपछि चलचित्र तथा टेलिभिजन कार्यक्रमको छायांकनका लागि पैसा कहाँबाट आयो ? के नोटबन्दीले बलिउडको पनि कम्मर भाँच्यो त ?
नोटबन्दीपछि दुई–तीन दिनसम्म बलिउडले चर्को समस्या भोग्नुपरेको थियो, तर छायांकन रद्द भएको अथवा कुनै कलाकारले पैसा नपाएको घटना भने निकै कम मात्र सार्वजनिक भए ।
मुम्बईस्थित सम्पूर्ण स्टुडियो, चलचित्र तथा टेलिभिजन धारावाहिकका निर्माताहरूले आफ्ना सम्पूर्ण कलाकार तथा प्राविधिकलाई विगतदेखि नै चेकको माध्यमबाटै पारिश्रमिक उपलब्ध गराइरहेका छन् । यसरी पारिश्रमिक उपलब्ध गराउने बलिउडको पुरानै नियम हो । यसबाट पनि सबै कलाकार तथा प्राविधिकले समयमै पारिश्रमिक बुझे, तर मुम्बईभन्दा बाहिर छायांकन गर्ने युनिटले भने केही समस्या भोग्नुपर्यो ।
सिनेमा एन्ड टेलिभिजन ऐक्टर्स एसोसिएसनका सचिव तथा अभिनेता अमित बहलका अनुसार मुम्बईमा चलचित्र तथा टेलिभिजनमा काम गर्ने शैली पहिलेको जस्तो छैन । अहिलेको तरिका निकै व्यवस्थित छ । एउटा अभिनेतादेखि स्पट ब्वाइसम्मले कुनै एजेन्सी अथवा कुनै कार्डमार्फत मुम्बईमा काम गरिरहेका छन् । एकपटक आफ्नो कार्ड बनेपछि अथवा दर्ता भएपछि कलाकारले जहाँ काम गरे पनि त्यसको पारिश्रमिक चेक अथवा बैंकको एकाउन्टमार्फत उपलब्ध गराइन्छ ।
मुम्बईभन्दा बाहिर छायांकन भएको एउटा उदाहरण दिँदै अभिनेत्री प्राची पाण्ड्या भन्छिन्— ‘हामी कलर्स टेलिभिजनमा नयाँ कार्यक्रम ‘स्वाभिमान’ को छायांकनका लागि राजस्थानको एउटा गाउँमा पुगेका थियौं । बिस्तारै युनिटसँग भएको नगद खर्च हुँदै थयो । नगद खर्च भैसकेपछि जुन लोकेसनमा छायांकन भैरहेको थियो, त्यो लोकेसनले काम रोक्ने धम्की दियो, किनभने उनीहरूसँग ई–बैंकिङको सुविधा थिएन ।’
प्राचीका अनुसार कार्यक्रमको छायांकन एक–दुई दिनका लागि प्रभावित भयो तर नगद उपलब्ध गराएपछि छायांकन सम्भव भयो । अभिनेत्री सुचित्रा पिल्लईले पनि नगद नभएपछि झेल्नुपरेको समस्या दर्साउँदै भनिन्— ‘कलाकारका रूपमा हामीले धेरै पटक केही घण्टाका लागि मेकअप आर्टिस्ट अथवा हेयर आर्टिस्टलाई हायर गर्नुपर्ने हुन्छ । उनीहरूलाई हामीले नगदमै भुक्तानी गर्नुपर्ने हुन्छ, किनभने एक घण्टाको काम गर्ने व्यक्तिलाई भोलि आएर नगद लिएर जाऊ भन्न सकिंदैन ।
त्यस्तो बेला काम प्रभावित हुनु स्वभाविक हो ।’ सुचित्राका अनुसार कलाकारलाई त एक–दुई दिनपछि नगद नै दिन्छु भन्न सकिन्छ तर हामी चढ्ने ट्याक्सी, हाम्रो घरमा काम गर्ने मान्छे अथवा हामीले खाना खाने रेस्टुराँको भुक्तानी त नगदमै गर्नुपर्ने हुन्छ, त्यस्तो बेला हामीले नोटबन्दीका कारण उत्पन्न समस्यासँग जुध्नुपरेको थियो ।’ नोटबन्दीका कारण हरेक दिन हुने छायांकन, छायांकनस्थलमा काम गर्ने स्पटब्वाइदेखि सम्पूर्ण प्राविधिक, एक दिनको छायांकनका लागि भाडामा लिइएको टेन्ट, खाना उपलब्ध गराउने क्याटरिङमा भने समस्या देखिएको थियो ।
मुम्बईस्थित फिल्मसिटी स्टुडियोमा एक दिनमा औसत ६० देखि ७० सेटमा छायांकन हुन्छ । त्यहाँ लाखौं मानिसले दैनिक रोजगारी पाउँछन् तर नोटबन्दीका लागि उक्त स्टुडियो पूर्ण रूपमा तयार थियो । बालाजी फिल्मका लागि दिनहँु कामदार तथा कलाकार व्यवस्थापन गर्ने इकबालका अनुसार नोटबन्दीले धेरै नै समस्या पैदा गर्यो । बालाजी फिल्म्सले मात्र १० भन्दा बढी लोकेसनमा छायांकन गरिहेको हुन्छ । हरेक छायांकनस्थलमा हरेक दिन सफाइ, खाना तथा छायांकनका लागि अत्यावश्यक सामानहरू आवश्यक पर्छन् । ५ रुपैयाँको सेलोटेपका लागि २ हजार रुपैयाँको नोट अथवा एकाउन्ट ट्रान्सफर त गर्न सकिंदैन । इकबालका अनुसार नोटबन्दीको दिनदेखि आजसम्म पनि उनीहरू क्रेडिटमा काम गरिरहेका छन् । स्टुडियोका लागि पुरानो युनिट भएकाले प्राय: मानिसले उनीहरूलाई चिन्छन् र केही दिनसम्म उधारोमा काम गर्न सकिन्छ तर जब २ हजार रुपैयाँको आँकडा आउँछ, हामीले उक्त रकम भुक्तान गर्नैपर्छ । यसरी पनि बालाजी फिल्म्सले एक दिन पनि छायांकन रोकिन दिएन ।
जीटिभीबाट प्रसारण हुने धारावाहिक कालाटीकाका प्रोडक्सन म्यानेजर ललितका अनुसार नोटबन्दी भएको पहिलो हप्ता निकै समस्या पर्यो । केही दिनपछि उपाय पनि खोजियो । उनीहरूले दैनिक ज्यालादारी गर्ने मजदुरलाई पनि केही दिन काम गरेपछि मात्र एकमुस्ट पारिश्रमिक उपलब्ध गराउन थाले ।
धारावाहिकको सेटमा पहिरन तथा भिज्युअल उपकरणहरू उपलब्ध गराउने सतिश भन्छन्— ‘पहिले–पहिले हामी दिनको हिसाबले पैसा लिन्थ्यौं, तर अहिले हामी २ हजार रुपैयाँ कटेपछि मात्र पारिश्रमिक बुझ्छौं । यसबाट खुद्रा पैसा लिने अथवा बैंकमा लाइन बस्ने समस्याबाट मुक्त भएका छौं ।’
फिल्मसिटीका सह–निर्देशक चारुशीला चौहानका अनुसार फिल्मसिटीमा काम गरिरहेका सबैजसो निर्माताले आफ्नो भुक्तानी चेक अथवा इ–बैंकिङमार्फत गरिरहेका छन् । फिल्मसिटीमा अहिले यही नियम चलिरहेको छ । त्यसैले पनि नोभेम्बर ८ देखि अहिलेसम्म उक्त स्टुडियोमा एक दिन पनि नोटबन्दीका कारण छायांकन रोकिएको छैन ।
भारतमा नोटबन्दी प्रारम्भ भएपछि भारतीय टेलिभिजन च्यानलबाट प्रसारण हुने अधिकांश धारावाहिक तथा टेलिभिजन कार्यक्रमहरूले यो विषयलाई प्राथमिकतामा राखे । तारक मेहता, बढकी बहु, कपिल शर्मा तथा भाभीजीजस्ता कार्यक्रमले नोटबन्दीलाई आफ्नो टीआरपी बढाउने माध्यम नै बनाए । तारक मेहताका लेखक असित मोदीका अनुसार नोटबन्दी विशेष श्रृंखलाहरूले उनीहरूको कार्यक्रमको दर्शक संख्या बढायो । अहिले पनि युट्युब तथा सब टिभीको एपमा ती कार्यक्रमहरू हेरिने क्रम रोकिएको छैन ।