विश्वभर चर्चित सर्च इन्जिन गुगलले वर्ष २०१६ मा सर्वाधिक खोजिएका विषयवस्तुहरूको सूची सार्वजनिक गरेको छ । गुगलले यो वर्ष सबैभन्दा बढी खोजिएका समाचार, प्रविधि, घटना, खेलकुद, फिल्म, व्यक्ति आदि यो सूचीमा समावेश छन् ।
१. पोकेमोन गो
यो वर्ष गुगलमा सर्वाधिक मात्रामा सर्च भएको विषय हो– पोकेमोन गो गेम । गत जुलाईमा सार्वजनिक भएको यो गेमका बारेमा सामाजिक सञ्जाल फेसबुकमा पनि सर्वाधिक सवालजवाफ भएको छ । एकाएक भाइरल बनेको यो गेमका प्रयोगकर्ता ४५ मिलियनसम्म पुगेका थिए । यो गेमले गर्दा थुप्रै दुर्घटनासमेत भएका समाचार सार्वजनिक भए ।
२. आईफोन–७
एप्पलको बहुप्रतीक्षित आईफोन–७ यो वर्ष सर्वाधिक खोजिएका मध्ये दोस्रो स्थानमा छ । एप्पलले गत सेप्टेम्बरमा आईफोन–७ र आईफोन–७ प्लस सार्वजनिक गरेको थियो । यो फोन सार्वजनिक भएपछि मात्र होइन, त्यसअघि पनि यसका बारेमा थुप्रै अड्कलबाजी भएका थिए । ४ दशमलव ७ इन्चको डिस्प्लेयुक्त आईफोन–७ मा २ जीबी र्याम छ । यसको मूल्य नेपाली बजारमा ९१ हजारदेखि १ लाख ९ हजार रुपैयाँसम्म पर्छ ।
३. डोनाल्ड ट्रम्प
यो वर्ष सर्वाधिक खोजिएका मध्ये तेस्रो स्थानमा छन्– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । आफ्ना अभिव्यक्ति र अप्रत्याशित चुनावी नतिजाका कारण उनी निकै चर्चित भए । ट्रम्पले ३ सय ६ भोट ल्याएका थिए भने उनकी प्रतिद्वन्दी हिलारी क्लिन्टनले २ सय ३२ भोट ल्याएकी थिइन् । १४ जुन १९४६ मा जन्मिएका ट्रम्प रिपब्लिकन पार्टीसँग आबद्ध छन् ।
४. प्रिन्स
कलाकार तथा गीतकार प्रिन्सको यसै वर्ष मृत्यु भयो । ७ जुन १९५८ मा जन्मिएका प्रिन्सको गत २१ अप्रिल २०१६ मा मृत्यु भएको थियो । उनको पूरा नाम प्रिन्स रोजर्स नेल्सन हो ।
५. पावर बल
विश्वकै सबैभन्दा चर्चित र ठूलो धनराशिको चिट्ठा पावर बल पनि सर्वाधिक चर्चामा रह्यो । अमेरिकाको ४४ राज्यमा पावर बल चिट्ठा सञ्चालन हुन्छ । सन् २०१३ को मे १८ मा फ्लोरिडाका ८४ वर्षीय वृद्ध ग्लोरिया मेकेन्जीले यो चिट्ठामा ३८ करोड ८ लाख डलर जितेका थिए । सन् २०१४ मा १९ लाख ६२ हजार डलरको चिट्ठा नेपालका महेन्द्र केसीलाई परेको थियो । त्यस्तै गत वर्ष टेक्सासमा बस्दै आएका नेपालका चन्द्र शिवाकोटीले १० लाख अमेरिकी डलर पुरस्कार जितेका थिए । यो वर्ष अहिलेसम्म ८ जनालाई यो चिट्ठा परिसकेको छ ।
६. डेविड बोविई
वर्ष २०१६ मा सर्वाधिक खोजीमा रहेका अर्का व्यक्ति हुन्– डेविड बोविई । संगीतकार डेभिड बोविईको ६९ वर्षको उमेरमा यसै वर्ष मृत्यु भयो । लिभर क्यान्सरले थलिएका डेबिडको गत १० जनवरी २०१६ मृत्यु भएको हो । उनको जन्म ८ जनवरी १९४७ मा लन्डनमा भएको थियो ।
७. डेडपुल
यो वर्ष सबैभन्दा बढी खोजिएको अर्काे विषय हो– डेडपुल फिल्म । टिम माइलरले निर्देशन गरेको यो कमेडी चलचित्र रहेट रिज र पौल वेर्नेकले लेखेका हुन् । साइमन, र्यान तथा लौरेन शुलर डोनरले निर्माण गरेको यो चलचित्रलाई जुलियन्ट क्लर्कले सम्पादन गरेका हुन् ।
८. ओलम्पिक
यो वर्ष ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न रियो आलम्पिक खेलकुद पनि सर्वाधिक खोजीमा रह्यो । गत ५ अगस्टदेखि २१ सम्म सञ्चालन भएको यो खेलकुदमा ११ हजारभन्दा बढी खेलाडी सहभागी थिए । यस वर्षको खेलपछि ४६ स्वर्णसहित कुल १ सय २१ पदक जितेर अमेरिका पहिलो स्थानमा रह्यो । त्यस्तै बेलायत २७ स्वर्णसहित कुल ६७ पदक जितेर दोस्रो स्थानमा रहन सफल भयो भने २६ स्वर्णसहित कुल ७० पदक जितेर चीन तेश्रो स्थानमा पुग्यो ।
९. स्लाइडर डट आइओ
यो मल्टिप्लेयर गेम पनि यो वर्ष निकै चर्चामा रह्यो । यो गेमको मुख्य उद्देश्य सर्भरमा सबैभन्दा लामो सर्प बनाउनु हो । यसको एन्ड्रोइड भर्सनको गेम २७ मार्च २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएको केही समयमै यो गेम एप्स स्टोरमा लोकप्रिय सावित भएको थियो । स्टेभ हाउसले निर्माण गरेको यो गेम ब्राउजर, आइओएस तथा एन्ड्रोइड भर्सनमा उपलब्ध छ ।
१०.सुसाइड स्क्वाड
अमेरिकी सुपर हिरो फिल्म सुसाइड स्क्वाड यो वर्ष सर्वाधिक चर्चामा रह्यो । डेभिड एयरको लेखन तथा निर्देशनको यो चलचित्रका निर्माता चाल्र्स रोभन तथा रिचार्ड सक्ली हुन । यो चलचित्रमा स्टेभन प्राइसले संगीत दिएका छन् भने सिनोम्याटोग्राफी रोमन वेसाइनभले गरेका छन् ।