साप्ताहिक संवाददाता
‘अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने नाराका साथ अर्घाखाँची महोत्सव तथा कृषि पर्यटन एवं औद्योगिक व्यापार मेला–२०७३ यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सन्धिखर्कमा हुने भएको छ । औद्योगिक शान्ति नेपाल तथा सहारा शान्ति सामुदायिक विकास क्लबको संयुक्त आयोजनामा हुन लागेको मेलाले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रूपले मजबुत बनाउने र जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
अर्घाखाँची धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो भन्दै औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले मेलाले ती कुरालाई अझ उजिल्याउने बताए । उक्त मेलामा २ सय ५० भन्दा बढी स्टल रहने बताइएको छ, जसमा दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका समान, भाँडाकँुडा आदिका साथै अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल एवं इलोक्ट्रोनिक्स सामान पनि उपलब्ध हुने जानकारी दिइएको छ । मेलामा बिक्रीका लागि राखिएका सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ भने मेला परिसरमा प्रवेश शुल्क ३० तथा ४० रुपैयाँ राखिने जानकारी मेला व्यवस्थापन कमिटीले गराएको छ ।
महोत्सवमा अर्घाखाँची डान्स आइडल तथा गायन प्रतिस्पर्धा समेत हुने भएको छ । मेलामा ४ दर्जनभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जनात्मक कार्यक्रम रहनेछ भने बालबालिकाहरूका लागि पनि बाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्रीको व्यवस्था हुनेछ ।