सहारा क्लबको आयोजनामा माघ ४ गते मंगलबारदेखि पोखरामा १५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता प्रारम्भ हँुदैछ । प्रतियोगितामा राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लब, ३ विदेशी, ३ विभागीय तथा आयोजक १ टिमसहित १२ टिमको सहभागिता रहने सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताएका छन् । उपाधि विजेताले ५ लाख १ हजार तथा उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्ने यो प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, फेयर प्ले आदि विधामा पनि पुरस्कार वितरण हुनेछ ।
यो प्रतियोगिताले खेलकुदको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग गरी पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गर्ने सहारा क्लबले विश्वास लिएको क्लबका महासचिव केशवराज बरालको भनाइ छ । सहारा एकेडेमीको सहयोगार्थ सञ्चालन हुने यो प्रतियोगिताबाट बचत भएको रकम एकेडेमी सञ्चालनमा खर्च गरिने बरालले बताए । एकेडेमीमा हाल तेस्रो ब्याचका १६ जिल्लाका २८ जना बालक छन् ।
पोखरा रंगशालामा खेलिने यो प्रतियोगिता हेर्न पोखरेली दर्शक आतुर छन् । सहारा क्लबले बर्सेनि आयोजना गर्ने यो फुटबल प्रतियोगिता हेर्न पुग्ने दर्शकको भीड व्यवस्थापन गर्न आयोजक तथा सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे पर्छ । वि.सं. २०५८ मा क्याराभान गोल्डकपका रूपमा खेलाइएको यो प्रतियोगिता त्यसपछि लगातार १० वर्षसम्म आहा गोल्डकपका नाममा सञ्चालन भएको थियो । विगत चार वर्षदेखि आहा–रारा गोल्डकपका नाममा खेलाइन थालेको यो प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ।
वि.सं. २०५८ सालमा क्याराभान गोल्डकपको नाममा पहिलो पटक खेलाइएको प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । नेपाल पुलिस क्लबले वि.सं. २०५९, २०६४, २०६५, २०६६ र २०६७ को उपाधिसमेत आफ्नो पोल्टामा पारेको थियो । थ्रीस्टार क्लबले वि.सं. २०६३, २०६९ र २०७१ को उपाधि जितेको थियो भने मनाङले वि.सं. २०६०, २०६१, २०६८ र २०७२ को आहा गोल्डकपको उपाधि चुमेको थियो । त्यस्तै वि.सं.२०६२ को विजेता टिम अफ्रिकन युनाइटेड क्लब हो । वि.सं.२०७० को उपाधि आयोजक सहारा क्लबले नै जितेको थियो ।