साप्ताहिक संवाददाता
हिमाल केसी चलचित्रका कुशल द्वन्द्व निर्देशक हुन् । निर्माण तथा प्रदर्शन भैरहेका अधिकांश चलचित्रमा हिमालकै द्वन्द्व निर्देशन देख्न पाइन्छ । ‘भैरव’ सहित केही चलचित्रबाट त उनले विभिन्न एवार्डमा सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको एवार्डसमेत प्राप्त गरिसकेका छन् । यसबीच हिमाललाई अब चलचित्र निर्देशकका रूपमा समेत देख्न पाइनेछ ।
निखिल उप्रेतीको डेब्यु चलचित्र ‘पिँजडा’ को सिक्वेल अर्थात ‘पिँजडा ब्याक अगेन’ मार्फत हिमाल निर्देशकका रूपमा मैदानमा उत्रँदैछन् । मौनता श्रेष्ठको लेखन तथा निर्माणको यो चलचित्र माघको दोस्रो सातादेखि फ्लोरमा जाँदैछ जहाँ निखिल उप्रेती नै मुख्य भूमिकामा रहनेछन् । ‘म द्वन्द्व निर्देशक भएकाले धेरैलाई मैले निर्देशन गर्ने चलचित्र पनि द्वन्द्वप्रधान नै होला जस्तो लागेको छ, हिमाल भन्छन्— ‘निखिल उप्रेती नै मुख्य भूमिकामा रहने भएकाले यो अनुमान गलत पनि होइन, तर मैले आफ्नो डेब्यु निर्देशनको चलचित्रलाई विशुद्ध सामाजिक तथा पारिवारिक बनाउने तयारी गरेको छु ।’