साप्ताहिक संवाददाता
यसै माघ १४ देखी १७ गते सम्म पोखरामा नेपाल साहित्य मेलाको छैठौं संस्करण आयोजना हुँदैछ । पार्दीस्थित नेपाल पर्यटन बोर्डको परिसरमा चार दिने यस साहित्य मेलामा केदारभक्त माथेमाले किनोट स्पिच दिनेछन् । उपन्यासकार धु्रबचन्द्र गौतम कार्यक्रमका मुख्य अतिथि रहनेछन् ।
गत वर्ष पोखरामै नेपाल साहित्य मेलाको आयोजना गरेको बुकवर्म फाउन्डेसन यसपाली पनि भब्य तयारीमा जुटिरहेको छ । गत सोमबार सोल्टि होटलमा कन्दरा ब्याण्डले विविध प्रस्तुती पस्किदै बुकवर्मले मेलाको औपचारिक रुपमा निम्तो दियो । यसपाली पनि साहित्य, संगीत, कला, पेन्टिङ, राजनीति, समाज लगायत विविध विषयहरुमा छलफल, बहस तथा अन्र्तक्रिया कार्यक्रमहरु रहनेछन् ।
यसपालीका आकषर्णहरु
नेपाल साहित्य मेलाको पाँचौं संस्करणसम्म आईपुग्दा भारत, बंगलादेश र इंग्ल्याण्डबाट साहित्यकार, लेखकहरु निम्त्याइएका थिए । यसपाली भारतबाट तीन जना अतिथिहरुको सहभागिता हुँदैछ । इतिहासविद् तथा लेखक रामचन्द्र गुहा, आख्यानकार उदयप्रकाश र लेखक दुर्जेय दत्त । इतिहासविद् गुहा ज्ञानको फराकिलो दायरा भएका व्यक्ति हुन् । जसले नेहरु र गान्धीमाथी किताब लेखे । द टेलिग्राफ र हिन्दुस्टाइन टाइम्सका स्तम्भकार गुहाले वातावरण, राजनीति र क्रिकेटको इतिहास जस्ता विषयमा पुस्तक लेखेका छन् ।
सन् २०१० मा आउटलुक म्यागेजिनले गरेको सर्भे अनुसार उदयप्रकाश राम्रा आख्यानकारमा दरिएका थिए । कवि, अनुबादक, लेखक, पत्रकारको पहिचान बनाईसकेका उदयका द गर्ल विद् द गोल्डेन पार्सल, पौल गोमेराज् स्कुटर, द वाल्स अफ दिल्ली जस्ता पुस्तकहरु प्रकाशित छन् । यस साहित्य मेलाका अर्का आकषर्ण हुनेछन्, भारतीय युवा लेखक दुर्जेय दत्त । यि २९ वर्षे लेखकका १३ वटा पुस्तकहरु प्रकाशित छन् । टेलिसिरियल लेखनमा समेत राम्रै सफलता हात पारेका दत्त सामाजिक सञ्जालमा पनि चर्चित छन् । उनी उद्यमि समेत हुन् ।
विदेसी अतिथिहरु बाहेक नेपालका लेखक, साहित्यकार, पत्रकारहरुको उपस्थिती रहनेछ । कार्यक्रममा मह जोडीको प्रहसन, पेन्टिङ प्रदर्शन, गन्धर्बहरुको गीत, संगीत, कन्दरा ब्याण्डको प्रस्तुती रहनेछ । स्रस्टाहरुले कविता, गीत, गजल सुनाउँनेछन् । बिहान ११ बजेदेखी ५ बजे सम्म नियमित कार्यक्रम सञ्चालन हुनेछ ।
त्यस लगत्तै हरेक साँझ ५ बजेदेखी कन्सर्ट आयोजना हुने बताइएको छ । आयोजकका अनुसार गत वर्ष १० हजार मानिसहरुले मेला अबलोकन गरेका थिए । नाकाबन्दिको असर र सबैको जानकारी नभएकाले सोचे अनुरुप त्यसबेला ठूलो सहभागिता नभएपनि यसपाली त्यस भन्दा ठूलो संख्यामा सहभागिता रहने अपेक्षा छ ।
अघिल्लो वर्ष ३१ वटा छलफल, बहसका सेसन थिए । यसपाली पहिला भन्दा केही बढी सेसन (३५ वटा) समाबेश छन् । पहिला भन्दा फरक विषयवस्तुले स्थान पाएका छन् । नेपथ्यका अमृत गुरुङसँग पत्रकार तथा लेखक नारायण वाग्लेले छलफल गर्नेछन् ।
महजोडीसँग पत्रकार गुणराज लुइँटेलले अन्र्तक्रिया गर्नेछन् । महजोडीले गन्धर्बहरुसँगै गीत गाएर मनोरन्जन प्रदान गर्नेछन् । स्केचका लागी अन्तर्राष्ट्रिय ख्याती कमाएकी कृपा जोशीसँग शुभ कायस्थले वार्तालाप गर्नेछन् । घरेलु कामदारबाट टेम्पो चालक हुँदै उद्यमि बन्न सफल लक्ष्मी शर्मासंग दीपेन्द्र श्रेष्ठले कुराकानी गर्नेछन् । उद्यमि शर्मा दक्षिण एसियामै पहिला महिला टेम्पो चालक हुन् ।
पोखराको सपनाबारे बुद्ध एयरका बीरेन्द्र बहादुर बस्नेतसँग सभासद रबीन्द्र अधिकारीले अन्र्तक्रिया गर्नेछन् । त्यस्तै मुन्धुम साहित्यबारे बैरागी काइला र भूपाल राइ गफिनेछन् । पट कथा लेखनबारे सम्पदा मल्ल, उपेन्द्र सुब्बा, अबिनास साहको सेसन चल्नेछ ।
सोसल मिडियाबारे डा जीवन क्षेत्री, सुबिन भट्टराई र नाम्गे जामको रोचक कुराकानी हुनेछ । सोसल मिडियामा चरित्र हत्या, आरोप प्रत्यारोप, कमेन्टहरुमाथी कुराकानी केन्द्रित हुनेछ । राजनीतिर र जवाफदेहिता विषयमा पत्रकार शिब गाउले, हरिबहादुर थापाको कुराकानी हुनेछ । के भन्छ पोखरा ? सेसनमा पोखराका स्थानिय बिभिन्न बिधाका व्यक्तिहरुको आवाज सुन्न पाइनेछ ।
साहित्यिक बिमर्शको अवसर
अजित बराल, बुकवर्म फाउन्डेसन,
यसपाली पनि साहित्य मेला पोखरामै गर्नु लाग्नुभयो । किन ?
हामीले निरन्तर चार वर्ष राजधानीमा कार्यक्रम गर्यौं । यहाँ त साहित्यिक कार्यक्रम भईरहन्छन् । राजधानी बाहिर कार्यक्रम गर्नुपयो भन्ने सुझाब, सल्लाह धेरै पाईयो । त्यसमाथी पोखरा हाम्रो स्थानिय ठाउ सहयोग जुटाउन सकिन्छ कि भनेर आयोजना गर्यौं ।
पोखरा नै रोज्नुको कारण ?
पोखरामा भूकम्पपछि पर्यटकहरुको चाप कम भयो । त्यसलाई टेवा दिन । आन्तरिक, बाह्य पर्यटकहरु आउँछन्, केही लेख्छन् भनेर गत वर्ष परिक्षण गर्यौं । फेवातालको किनार, पारीपट्टी रानीबन यसले पनि आकर्षित गर्यो । राजधानी बाहिर साहित्यिक बिमर्स हुने अबसर पनि हो ।
गत वर्षको कार्यक्रमबाट सन्तुष्ट हुनुहुन्छ ?
राजधानीमा ५०, ६० लाख मानिसहरुको बसोबास छ । पोखरामा करिब १० लाख जनसंख्या होला । सुरुमा त दुबिधा भयो । के होला, कस्तो होला भनेर । तर, राम्रो दर्शकहरुको राम्रो सहभागिता भएपछि खुसी लाग्यो । लेखकहरु कार्यक्रममा रमाए ।
अबदेखी राजधानी बाहिरै आयोजना गरिन्छ कि ?
स्रोत साधन जुट्यो भने गरिन्छ । नत्र यतै हुन्छ । नेपालको पर्यटनलाई टेवा दिने माध्यम पनि हो ।
अन्य देशको जस्तो नमुना साहित्यिक मेला गर्ने सपना छ ?
त्यो सम्भब छैन । जयपुर जस्तो त हामी कल्पना गर्न सक्दैनौ । गत वर्ष मात्रै जयपुरमा ३ लाख ५० हजारले सहभागिता जनाए । यति मध्ये ५० हजार भारत भन्दा बाहिरका नागरिकहरु थिए । त्यहाको पर्यटनमा धेरै ठूलो टेवा पुग्यो । राजस्थानको राज्यले पनि त्यहाको साहित्य मेलालाई सहयोग गर्छ । हामी कहा त्यो सम्भब छैन ।
कार्यक्रमका उपस्थित हुन नसक्नेहरुका लागी के ब्यबस्था छ ?
हाम्रो युट्युब च्यानल (Nepallitfest) बाट लाइभ हुनेछ । त्यस्तै ट्वीटर ह्यान्डल @Nepallitfest बाट पनि अपडेट हेर्न सकिनेछ । केही एफएम रेडियोहरुले पनि लाइभ गर्नेछन् ।
साहित्य मेलाले पुस्तक बजार बढाउँछ
ध्रुबचन्द्र गौतम, साहित्यकार
साहित्य मेलाको आयोजनाले पुस्तकको बजार बढ्छ ?
अबश्य बढ्छ । साना मेला देखेको छु । यो बृहत मेला हो भने यसले त झन् बढाउछ । पक्कै बढ्छ । यसले सराकारात्मक परिणाम ल्याउछ ।
साहित्य मेला हाम्रो जस्तो देशमा किन जरुरी छ ?
यसले साहित्यप्रतिको बोध जगाउछ । बिभिन्न खालका चेतना जगाउछ । कति कुरा छलफल हुन्छन् । सबै जना लाभान्वित हुन्छन् । बजार बनाउन यस्ता मेला सहायक हुन्छन् । साहित्यलाई अगाडी ल्याउन समाजमा यस्ता मेला भईरहनुपर्छ ।
मोफसलको साहित्य प्रबद्र्धन गर्न यस्ता मेलाहरुको कस्तो भूमिका रहन्छ ?
भूमिका त ठूलो रहन्छ । साहित्यमा भेदभाब गर्न हुन्न । मोफसल केन्द्र भनिनु हुन्न । मोफसलमा पनि ठूला साहित्यकार छन् । राम्रा सिर्जना जन्मिएका छन् । तर यस्ता मेलाले मोफसल साहित्य अगाडी आउछ । राज्यले पनि यसमा ध्यान दिनुपर्छ । समग्रमा यस प्रकारका कार्यक्रमले प्रभाब पार्छन् । बिभिन्न साहित्यलाई एकै ठाउमा राख्न सकिन्छ ।
साहित्य मेला प्रभाबकारी बनाउन के गर्नुपर्ला ?
अब ठूलो कुरा भनेको सहभागिता हो । हामीले यसमा ध्यान दिनुपर्छ । राज्यले पनि सहयोग गर्नुपर्छ । साहित्यिक संगठन, सँस्था, प्रकाशकहरुले महत्व दिएर सहभागिता जनाउनुपर्छ । बाकी कुरा त आफै मिल्छन् । यस्तो कार्यक्रममा सहभागिता नै महत्वपूर्ण पक्ष हो ।
साहित्यिक गतिबिधीले साहित्यको स्तरलाई उकास्छ ?
उकास्छ । लेख्नु, छाप्नु, पढ्नु सबै कुरामा उर्जा थप्छ । पढ्ने संस्कृतिको विकास गर्छ । गोष्ठी, साहित्य मेला, यस्ता कार्यक्रमहरुले पठन संस्कृतिसंगै लेख्ने बानीको विकास गराउछ । साहित्यको स्तरलाई उकास्नमा ठूलो भूमिका खेल्छ ।