साप्ताहिक संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) का डेभलेपमेन्ट अफिसर्स हुन्— सञ्जीव मिश्र । उनी नेपाली फुटबललाई लामो समयदेखि नजिकबाट नियालिरहेका व्यक्ति पनि हुन् । मिश्रले लामो समयदेखि विश्व फुटबललाई गम्भीरतापूर्वक पछ्याइरहेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२६ को विश्वकपदेखि सहभागी देशको संख्या ४८ पुर्याउने भनेर गरेको निर्णयलाई मिश्र निकै सकारात्मक मान्छन् ।
नेपाली फुटबल विज्ञका रूपमा फिफाको यो निर्णयलाई कसरी लिनुहुन्छ ?
हाम्रा लागि यो निकै राम्रो समाचार हो । हाम्रो फुटबल पक्कै पछाडि छ, तर अब हामी पनि एक दिन विश्वकप खेल्ने सपना पाल्न सक्छौं । विश्वमा फुटबल निकै लोकप्रिय छ भने यसको विश्वकपलाई पूरा विश्वले पछ्याउँछ । अब हामी विश्वकपको हिस्सेदार हुन सक्ने स्थितिमा पुगेका छौं । अब धेरैले विश्वकप आफ्नो पनि हो भनेर ग्रहण गर्न सक्छन् ।
के नेपालले कहिल्यै विश्वकप खेल्न सक्छ ?
यो प्रश्न धेरै पल्ट गरिन्छ । सम्भावनामै सही यस्ता प्रश्न स्वभाविक रूपमा उठ्ने गरेका छन् । फिफाले विश्वकपको स्वरूप परिवर्तन गर्दै लाने हो भने यो कुनै दिन सम्भव पनि हुन सक्छ । सम्भावनाहरू बढेका छन् । यसका लागि एन्फाले पनि कडा मेहनत गर्नुपर्ने हुन्छ ।
नेपालजस्तो देशको सम्भावना कसरी बढ्छ ?
फिफाले छनौट प्रक्रिया कसरी अघि बनाउँछ, त्यसमा पनि धेरै कुरा निर्भर गर्छ । कुनै दिन एसियाभित्रै दक्षिण एसिया, दक्षिण पूर्वी एसिया अथवा मध्यएसियाबाट पनि टिम छनौटको अवसर मिल्न सक्छ ? त्यस्तो भयो भने नेपाल जस्तो फुटबलमा विकासोन्मुख देशको सम्भावना बढ्छ । त्यस्तो नहोला पनि भन्न सकिँदैन ।
सहभागी संख्या बढ्नाले कसलाई बढी फाइदा हुन्छ ?
सबैभन्दा बढी फाइदा त एसिया र अफ्रिकी महादेशलाई नै हुनेछ । युरोप र दक्षिण अमेरिकी महादेशका टिमले विश्वकपमा बढी अवसर पाउँदै आएका छन् । यस्तै अवसर अब एसिया र अफ्रिकाले पनि पाउनुपर्छ । विश्वमा सबैभन्दा बढी जनसंख्या भएका देश चीन र भारत एसियामै छन् । यस अर्थमा पनि एसियाले बढी अवसर पाउनुपर्छ ।
धेरै टिम हुँदा विश्वकप स्तरीय नहुने आरोप पनि छ नि ?
धेरै टिम हुँदा प्रतिस्पर्धा अझ बढी हुन्छ । तीन टिम सम्मिलित सुरुवाती चरणको लिगमा एक खेल हार्नुको अर्थ त्यो टिम अत्यधिक दबाबमा आउनु हो ।