धेरै युवतीले आफूलाई बार्बी डलजस्तो देखाउन प्लास्टिक सर्जरीमा करोडौं खर्च गर्छन् । बार्बी डलको प्रेमीका रूपमा चित्रण गरिने केन डलप्रति युवाहरूको आकर्षण देखिन्छ । युवाहरूले आफूलाई केन डलजस्तो देखाउन करोडौं खर्च गर्ने गरेका छन् । हङकङमा जन्मिएका जोनी डायलन अहिले क्यानाडामा बसोबास गर्छन् र उनको रुचि पनि आफूलाई केन डलजस्तो देखाउनेछ ।
हजारौं डलर खर्च गरेर प्लास्टिक सर्जरी गराएका जोनीको वार्षिक मर्मत–सम्भार खर्च नै १० हजार डलरभन्दा बढी छ । उनी वार्षिक रूपमा आफ्नो ओठ र नाक ठुलो बनाउने काम गर्छन् । त्यसका लागि उनले बोटोक्स इन्जेक्सन लगाउनुपर्छ । त्यसबाहेक उनले नियमित रूपमा आँखाको परेला मिलाउने, नङको मेनिक्योर, अनुहारको मेकअप, आँखाको कन्ट्याक लेन्स परिवर्तन आदि गराइरहनुपर्छ । जोनीले आफूलाई केन डलका रूपमा परिवर्तन गर्न अपनाउनुपर्ने क्रियाकलाप स्वास्थ्यका दृष्ट्रिले जोखिमपूर्ण रहेको चेतावनी चिकित्सकहरूले दिएका छन् । जोनीले भने ती कुराको बेवास्ता गरिरहेका छन् ।