गत शनिबार पोखरा रगंशालामा डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दीले १५ औं आहा रारा गोल्डकप प्रतियोगिताको उपाधि चुमेको छ । आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो । मनाङले ५ लाख १ हजार रुपैयाँ राशिको पुरस्कार तथा ट्रफी हात पार्यो भने सहाराको दोस्रो पटक उपाधि उचाल्ने सपना अधुरै रह्यो ।
मनाङलाई उपाधि दिलाउन कमल श्रेष्ठ नायक बने । उनले खेलको ७० औं मिनेटमा ३५ यार्ड परबाट प्रहार गरेको बलले ‘कर्भ’ हुँदै जाली चुम्यो । सहाराका गोलकिपर सुजित गुरुङले सेभ गर्ने कुनै मौका पाएनन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कारस्वरूप सहाराका गोलरक्षक सुजित गुरुङले हिरो ड्यास स्कुटर प्राप्त गरे । उत्कृष्ट स्ट्राइकर सहराकै शिव सुवेदी तथा सर्वाधिक गोलकर्ता धरान फुटबल क्लबका कर्ण सुब्बा घोषित भए । सुब्बाले प्रतियोगितामा ३ गोल गरेका थिए ।
यसैगरी उत्कृष्ट डिफेन्स मनाङका कमल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर मनाङकै सुजल श्रेष्ठ, उत्कृष्ट गोलरक्षक सहाराका सुजित गुरुङ तथा उत्कृष्ट प्रशिक्षक सहाराका किरण श्रेष्ठ घोषित भए । अनुशासित टिमको पुरस्कार झापा–११ ले प्राप्त गर्यो । मनाङले यसअघि चार पटक आहा गोल्डकपको उपाधि चुमेको थियो । आयोजक सहारा क्लबले भने मनाङलाई पराजित गर्दै वि.सं. २०७० को उपाधि जितेको थियो । माघ ४ गते प्रारम्भ भएको यो प्रतियोगितामा ३ विदेशीसहित १२ टिमको सहभागिता थियो ।