साप्ताहिक संवाददाता
माघ २३, २०७३
गएको शनिबार र्यापर यमबुद्धको शव लन्डनबाट काठमाडौं ल्याई दाहसंस्कार गरियो, जसमा कलाकर्मीहरूको बाक्लै उपस्थिति थियो । आफ्ना प्रिय कलाकारप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रम फेसबुकमा पनि उत्तिकै देखियो । यद्यपि त्यस क्रममा कतिपय कलाकारले बढी उत्साहित भनौं कि बढी भावुक हुँदै यमबुद्धको शवको तस्बिर नै फेसबुकमा पोस्ट गर्दै श्रद्धाञ्जली व्यक्त गरे । यसरी शवको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूमा नाम चलेका केही कलाकार पनि थिए ।
सम्भवत: त्यही देखेर वरिष्ठ रंगकर्मी निशा शर्माको पारो गर्मायो । शर्माले आफ्नो वालमा बाध्य भएर लेखिन्– आजबाट मैले आफ्नो फेसबुक लिस्टबाट ती सबै साथीहरूलाई हटाउँदैछु जसले शवको/मृतकको तस्बिर पोस्ट गर्छन् । त्यस्ता ह्दयहीनहरू कदापि मेरा साथी हुन सक्दैनन् ।