आनन्द कार्की, गायक
२५ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन्— आनन्द कार्की । २०४० सालमा भारतको लखनउस्थित भातखण्डे संगीत विश्वविद्यालयबाट पाँच वर्षको अध्ययन पूरा गरेर फर्किएपछि कार्कीको गायन यात्रा आजपर्यन्त निरन्तर चलिरहेको छ । ‘आनन्द कार्कीका गजलहरू’ शीर्षकको पहिलो एल्बमदेखि हालै सार्वजनिक भएको ‘लभ यू फर एभर’ सम्म आइपुग्दा उनले सार्वजनिक गरेका एकल गीति–संग्रहको संख्या १४ पुगिसकेको छ । आधुनिक, पप, लोक, भजन, गजल, चलचित्र तथा विदेशी भाषाका सहित हालसम्म झन्डै ३ हजारभन्दा बढी गीतमा स्वर दिइसकेका गायक कार्की सांगीतिक कार्यक्रमका क्रममा दर्जनौं पटक विदेश पुगिसकेका छन् । आफैंले गाएका यी हल्लाहरू हुन्, लाग्छ मन हेरिरहूँ, जे–जे हुन्छ पर्दापछाडि, भरे आउँछु सपनीमा तथा भाकेर वर–पीपलु जस्ता गीत कार्कीलाई सबैभन्दा मन पर्ने गीत हुन् । सोलुखुम्बुमा जन्मिएका लोकप्रिय गायक आनन्द कार्कीले साप्ताहिकमार्फत आफ्ना सेक्रेट यसरी सार्वजनिक गरेका छन् ।
ट्वाइलेटको भ्रमण
मेरो एउटा लोकप्रिय गीत छ, ‘यी हल्लाहरू हुन् तिमीले सुनेका...।’ उक्त गीतका संगीतकार दीपक जंगमले कम्पोज फाइनल गर्न बागबजारस्थित पद्मकन्या कलेजमा बोलाउनुभएको थियो । कलेज पुगेर उहाँको अफिस कता हो भनेर त्यहीं अध्ययरत छात्राहरूसँग सोधें र म सरासर ती छात्राहरूले देखाएको बाटोमा गएँ । त्यहाँ पुग्दा पो थाहा भयो, उनीहरूले मलाई कलेजको ट्वाइलेट देखाएका रहेछन् । मेरो पछि–पछि एक हूल छात्रा थिए । त्यतिबेलाजस्तो नर्भस म अहिलेसम्म कहिल्यै भएको छैन ।
लेडिज स्विटर
सांगीतिक कार्यक्रमका क्रममा झन्डै २० वर्षअघि एकपटक म संगीतकार शम्भुजित बाँसकोटा तथा निर्देशक अशोक शर्मासँगै बेलायत पुगेको थिएँ । बेलायतस्थित नेपाली राजदूतावासमा कार्यक्रम थियो । कार्यक्रममा गीत गाउने भएकाले मेरा लागि संगीतकार बाँसकोटा तथा निर्देशक शर्माले एउटा नयाँ स्वीटर उपहार दिनुभयो । त्यसक्रममा उहाँहरूले बेलायतका धनाढ्यहरूले मात्र उक्त स्वीटर लगाउँछन् भन्नुभएको थियो । दंग पर्दै म त्यही स्वीटर लगाएर कार्यक्रममा गएँ । कार्यक्रमस्थलमा पुग्दा सबैजना मलाई हेर्दै हाँसेजस्तो लाग्यो । म कसैलाई पनि वास्ता नगरी स्टेजमा उक्लिएर गीत गाउन थालेँ । एक जना दर्शकले सरासर म बसेको ठाउँमा आएर ‘तपाईंले लेडिज स्वीटर लगाउनुभएकाले सबै जना हाँसेका हुन्’ भने । त्यसपछि लाजले रातो–पिरो हुँदै
मैले चिसोको समेत वास्ता नगरी त्यो स्वीटरलाई त्यहीँ फालिदिएँ ।
रानीका प्रिय गायक
२०४४ सालको पुस १४ गतेलाई म कहिल्यै बिर्सन्नँ । दिवंगत राजा वीरेन्द्रको जन्मोत्सवका दिन रानी ऐश्वर्याले रेडियो नेपालमा फोन गरेर मेरो मात्र गीत प्रसारण गर्न भन्नुभएको रहेछ । बिहानदेखि बेलुकासम्म त्यो बेलाको एउटा मात्र रेडियोमा आफ्नै मात्र गीत प्रसारण हुँदा म असाध्यै खुसी भएको थिएँ । त्यसको केही दिनपछि हामी सीमित संगीतकर्मीलाई रानीले दरबारमै खाना खान बोलाउनुभयो । तत्कालीन राजा–रानीसँग एउटै डाइनिङ टेबलमा बसेर खाना खाएको क्षण मेरो मनमा अझै ताजा छ ।
उद्धारकर्ता
मैले जीवनमा दुई जना मानिसको ज्यान बचाएको छु । २०४६ सालको कुनै एउटा महिना माइतीघरमा पूर्वयुवराज पारस शाह कार दुर्घटनामा परेको देखें । म एभरेस्ट होटलमा गीत गाएर घर फर्किरहेको थिएँ । सुनसान रातमा भएको उक्त भयावह दुर्घटनापछि मैले आफ्नो गाडी साइड लगाएर उनलाई वीर अस्पताल पुर्याएँ । अर्को एक बिहान एभरेस्ट होटलअघि मोटरसाइकल दुर्घटनामा परेका विराटनगरस्थित अरनिको बोर्डिङ स्कुलका प्रिन्सिपललाई पनि वीर अस्पताल नै पुर्याएर ज्यान बचाएको घटना म कहिल्लै बिर्सन सक्दिनँ । उहाँ अहिले अमेरिकामा हुनुहुन्छ र साइबाबाको तस्बिरसँगै ज्यान बचाउने मेरो पनि तस्बिर राखेर दैनिक पूजा गर्नुहुन्छ भन्ने कुरा सुन्दा आनन्द लाग्छ ।
म्यानेजरलाई पाँच गीत
यो भर्खरैको घटना हो । बेलायतमा कार्यक्रम सम्पन्न गरेर म स्वदेश फर्कने क्रममा एयरपोर्ट पुगें । एक जना नेपाली भाइले सहयोग गर्छु भनेकाले झन्डै १ सय ५० किलोग्राम लगेज पनि सँगै थियो । ओमान एयरले ओभर वेट भनेर मेरो लगेज नल्याउने भयो । ती भाइले म्यानेजरसँग कुरा गरेर मेरो परिचय दिएछन् । ती महिला म्यानेजरले मसँग भेट्छु भनिछन् । भेट्नेबित्तिकै म गायक भएको प्रमाण मागिन् । युट्युबबाट मात्र चित्त नबुझेको बताउँदै उनले एक–दुईवटा गीत गाउन आग्रह गरिन् । एयरपोर्टजस्तो व्यस्त ठाउँमा मैले टेबुल ठटाएरै दुई वटा हिन्दी गीत गाइदिएँ । त्यहाँ सानोतिनो भीड नै जम्मा भयो । उनले अझै केही गीत गाउन आग्रह गरिन् । मैले पाँचवटा गीत गाएपछि मात्र ती म्यानेजरले मेरो लजेग नेपाल ल्याउने अनुमति दिइन् ।
घडी
हरेक मानिसमा कुनै न कुनै वस्तु संकलन गर्ने सौख हुन्छ, म घडी संकलन गर्छु । मसँग अहिले ६० वटा घडीको संकलन छ । नेपाल बाहिर जाँदा म प्राय: घडी नै किन्छु । उपहारमा पनि घडी नै प्राप्त गर्छु । कसैलाई उपहार दिनुपर्यो भने पनि घडी नै दिन्छु । पछिल्लो पटक मैले आफ्नो जन्मदिनको अवसरमा बेलायतमा झन्डै ५ लाख रुपैयाँ पर्ने घडी उपहार प्राप्त गरेको थिएँ ।