साप्ताहिक संवाददाता
बायोपिक ड्रामा ‘ब्लाइन्ड रक्स’ छायांकन सोमबारदेखि राजधानीमा सुरु भएको छ । कमल पोखरीस्थित सिटी सेन्टरदेखि सुटिङ सुरु भयो । विहान गणेश मन्दिरमा शुभसाइत गरियो । हिमालयन जाभा कफी सपमा मुख्य कलाकार बेनिशा हमाल र अर्पण थापा पहिलो सट् दिँदै थिए । ‘आज लभर जोडीबीच द्धन्द्ध उत्पन्न हुने सिक्वेन्स हो’ पर्दामा सृष्टि केसी बन्न लागेकी बेनिशाले भनिन् ।
हाउभाउदेखि गेटअपसम्म दुरुस्तै सृष्टिलाई उतारेकी बेनिशाले रोल चुनौतिपूर्ण रहेको बताइन् । प्रेमीको रुपमा देखिन लागेका थापाले आफ्ना लागि नयाँ भूमिका च्यालेन्जिङ रहेको बताए । निर्देशक मिलन चाम्सले नेपाल र भारतमा सुट गरिने सिनेमाको सुटिङ अवधि ३५ दिन हुने बताए । लन्डनबाट कुरा गर्दै निर्माता निकेश लिम्बुले अद्भूत साहस र पौरखको कथा लिएर दर्शकमाझ आउन लागेको जनाए ।
दृष्टि गुमाएकी प्रतिभावान युवती सृष्टिको जीवनमाथि सिनेमा बन्न लागेको हो । बेनिशा हमाल मुख्य पात्रमा अभिनय गर्दैछिन् । अर्पणले फिल्म ज्वाइन गरेका छन् । गौरी मल्ल र बैंकर अनिल शाह समेत हुनेछन् ।