एकताका कलाकारहरूका लागि टेलिभिजनको विकल्प थिएन । त्यो पनि नेपाल टेलिभिजन । रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि मात्र गीत रेकर्ड र भिडियोको सुरसार हुन्थ्यो, तर अहिले स्थिति त्यस्तो रहेन । दर्शक–श्रोतासामु पुग्न अहिले टेलिभिजन नै चाहिन्छ भन्ने छैन । अहिले युट्युबमार्फत विश्वभर एकैछिनमा आफ्नो कामलाई ‘भाइरल’ बनाउन सकिन्छ । त्यसैले त अहिले कभर सङको क्रेज बढ्दो छ ।
इन्टरनेटको विस्तारसँगै नवगायक–गायिकाहरूलाई आफ्नो परिचय स्थापित गर्ने सजिलो माध्यम बनेको छ— ‘कभर सङ एन्ड डान्स’ । आफूलाई मन पर्ने कलाकारको गीत गायो, युट्युबमा अपलोड गर्यो, तुरुन्त प्रतिक्रिया पनि पाइहाल्यो । त्यसैले पनि कभर गीतको क्रेज ह्वात्तै बढेको छ । यसमा आफ्नो पर्सनल युट्युब च्यानल खोलेर राम्रै आम्दानी गर्नेहरू पनि थुप्रै छन् । भाइब्स क्रिएसनका निर्देशक एवं गायक पर्शुराम रिजाल भन्छन्– ‘अहिले न्यू आर्टिस्टहरूले कभर सङका रूपमा सर्टकट बाटो अपनाएजस्तो लाग्छ ।’ उनले थपे– ‘आखिर गीत रेकर्ड हुने पैसाले म्युजिक भिडियो पनि निर्माण गर्न पुग्छ त्यही भएर कभर सङको संख्या वृद्धि भएको हो ।’
यही मेसोमा युट्युबमा विजय घिमिरे र प्रीति थापाको कभर सङले सबैको मन खिचेको छ । पुराना गीतलाई यी दुई श्रीमान्–श्रीमतीले छुट्टै तरिकाले अनप्लग्ड गरी भिडियो ‘इडिट’ गरेर युट्युबमा राख्ने गरेका छन् । थापा र घिमिरेका अतिरिक्त ज्याभान भुजु, दीक्षा जे थापा, अल्मोडा आयुषा, सुपर एसी, इन्टरटेइमेन्ट जोन, नेपाली ब्वाई, निमा वाइवा, खुकुरी इन्टरटेनमेन्ट, गोल्डेन याक इन्टरटेनमेन्ट आदि कभर सङ तयार पार्ने युट्युब च्यानल अग्रपंक्तिमा छन् र तीमध्ये केहीले ‘सेलिब्रिटी स्टाटस’ बनाइसकेका छन् ।
कोही सामुहिक ब्यान्ड बनाएर कभर सङको पछि लागेका छन् भने कोही सिंगल नै कभर सङ फ्लो गरिरहेका भेटिन्छन् युट्युबमा । ‘हामीले सांगीतिक यात्रा अघि बढाउँदा पर्याप्त प्रविधि थिएन’ गायक हिमाल सागर भन्छन्– ‘जोसँग प्रतिभा छ उनीहरूले सहजै आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्छन् कभर सङमार्फत, त्यसैले नेपाली स्रष्टालाई अन्याय नहुने गरी कभर सङ तयार पार्नु उपयुक्त हुन्छ ।’
कभर सङको विषयमा गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको बुझाइ छ– यो कभर सङ आर्थिक रूपमा कमजोर हुनेहरूले सजिलो र सहज तरिकाले अपनाउने बाटो हो । उनले भने– ‘कभर सङ तयार पार्नु आफैंमा नराम्रो होइन । गीत रेकर्ड एवं भिडियो निर्माण गर्न नसक्नेहरूका लागि यो एउटा राम्रो प्लेटफर्म हो ।’
भिजे प्रीतिलगायतले कभर गरेको ज्योभान भुजु फिचररिङ दिक्षा जे थापाले एकस्टिक गरेको ‘ए कान्छा...’, अल्मोदा फिचरिङ अयुष्काले गाएको ‘जून त लाग्यो...’, अंग्रेजी भर्सनमा टिना राई, जर्मनी गर्लले गाएको ‘मेरो प्रियतम’ आदि कभर सङ अहिले युट्युबमा भाइरल छन् । यसरी न्यू आर्टिस्टहरूले कभर सङ तयार पार्ने क्रेज अहिले ह्वात्तै बढेको छ भने नेपालका केही चर्चित सेलिब्रेटीले पनि कभर गीत गाएका छन्, जसमा नायिका प्रियंका कार्कीले ‘माया त माया हो ...’, ‘तिम्ले त होइन....’ र ‘लक्की...’ आदि गीत गाएकी छिन् ।
कभर सङ गाउने मात्र होइन कभर डान्स गर्ने समूहहरू पनि युट्युबमा बग्रेल्ती भेटिन्छन् । कभर नृत्यमा ‘लप्पन छप्पन...’, ‘पानी पर्यो...’, ‘हारे हारे...’, ‘जालमा...’ आदि गीत सुपरहिट छन् युट्युबमा ।