साप्ताहिक संवाददाता
मेनुका राइको प्रश्न, दयाहाङको जवाफ
चलचित्रको छायांकनमा व्यस्त रहँदा हामीलाई कत्तिको सम्झनुहुन्छ ?
सम्झिन्छु...जति सम्झिन्छु त्यति देखाउनचाहिँ सक्दिनँ । तिमी र म फोनमा जति कुराकानी गर्छौं नि, त्यतिले नै आफूलाई सम्हाल्छु ।
काठमाडौंभित्रको छायांकनमा बढी रमाउनुहुन्छ कि काठमाडौंबाहिरको ?
काठमाडौंकै छायांकनमा रमाउँछु, घरबाट टाढा हुनु पर्दैन नि ।
नेपालबाहिरको छायांकनमा चाहिं घर–परिवार कत्तिको मिस हुन्छ ?
हुन्छ नि, तर नेपालमा भन्दा बाहिर सुटिङ गर्दा हरेक प्रकारले बढी प्रेसर हुन्छ । त्यही भएर त्यो दिनको काम सकेर मात्र तिमीलाई फोन अथवा मेसेज गर्छु ।
फेसबुकमा तपाईंले परिवारसहितको तस्बिर सेयर गर्दा कस्ता प्रतिक्रिया पाउनुहुन्छ ?
राम्रो प्रतिक्रिया पाउँछु । आफ्नो कामको तस्बिरभन्दा परिवारको तस्बिरमा धेरै लाइक अनि कमेन्ट पाउँछु । ती कमेन्ट पनि असाध्यै पोजेटिभ तथा ऊर्जाशील हुन्छन् ।
मैले गाउने गीतको म्युजिक भिडियोमा तपाईंलाई मोडल बनाउने प्रस्ताव राखें भने ?
मेरो भिडियो एक्टिङ क्षमता तिमीलाई थाहा छँदैछ । तिमीले मैले सक्ने किसिमकै भिडियोको प्रस्ताव राख्छौ होला, खेल्छु । नढाँटी भन्ने हो भने मलाई तिमीले गाएको गीतको भिडियोमा अभिनय गर्ने रहर पनि छ ।
मेरो कुन कुन बानी तपाईंलाई असाध्यै मन पर्छ ?
तिमीमा प्यासन, लगनशीलता, धैर्यता एवं सरलता छ । त्यहीअनुसार काम गर्ने बानी मलाई असाध्यै मन पर्छ ।
अनि कुन–कुन बानी मन पर्दैन ?
तिमी सधैं मैमाथि डिपेन्ड हुन खोज्छौ । अबदेखि तिमी आफैं निर्णय लिने बानी बसाल है ।
अर्को सन्तान जन्माउने विषयमा तपाईंले केही सोच्नुभएको छ ?
हुन त छोरीको पनि रहर हो, तर अब रहरले मात्र हुँदैन । शारीरिक अनि मानसिक सबै रूपमा तिमीलाई नै कष्ट हुँदो हो, आँट्छौ त ?
नढाँटी भन्नु त, तपाईंलाई मेरो माया धेरै लाग्छ कि छोराको ?
दुवै जनालाई बराबर माया गर्छु तर जोखेर चाहिँ देखाउन सक्दिनँ ।
म्युजिक भिडियो छायांकनका क्रममा म दुई–चार दिन घरबाहिर रहेर तपाईंले घर सम्हाल्ने अवस्था आयो भने ?
सकिहाल्छु नि । तिमीले जस्तै सबैलाई खुसीचाहिँ बनाउन सक्दिनँ होला तर आफ्नै प्रकारले सम्हाल्छु ।