साप्ताहिक संवाददाता
शनिबार काठमाडौंमा सम्पन्न हिट्स एफएम म्युजिक एवार्डमा गायक रामकृष्ण ढकाल तथा संगीतकार आनन्द राईले ह्याट्रिक गरे । गायक ढकालको स्वरको ‘म हुरीमा दियो बलेको देख्छु...’ गीतले वर्षको सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट स्वर, सर्वोत्कृष्ट रचना (रमेश बिजी) को एवार्ड जित्यो । आनन्द राईद्वारा संगीतबद्ध ‘संसार मायामा...’ गीतले सर्वोत्कृष्ट युगल गायन (सुजाता उपाध्याय तथा उदितनारायण झा), सर्वोत्कृष्ट संगीतकार (आनन्द राई) तथा सर्वोत्कृष्ट संगीत संयोजन (महाराज थापा) को एवार्ड प्राप्त गर्यो।
हिट्स एफएम म्युजिक एवार्डको यो २० औं संस्करणमा लामो समयदेखि गीत लेखनमार्फत सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएका गीतकार राजेन्द्र थापालाई लाइफ टाइम एचिभमेन्ट एवार्डद्वारा सम्मान गरियो । समारोहमा संगीतकर्मी अर्जुन पोखरेलले चलचित्र ‘प्रेम गीत’ को ‘म यस्तो गीत गाउँछु’ बाट जिते भने अप्रिल रसले ‘त्यो हावा’ मार्फत नवप्रतिभाको एवार्ड प्राप्त गरे । सर्वोत्कृष्ट महिला गायन पप विधामा निक्की कार्कीले ‘जेट उडाउँछु’ गीतबाट एवार्ड पाइन् भने पुरुष गायन पप विधामा अल्मोडा राना उप्रेतीले ‘फेन्टास्टिक वन्डरफुल’ गीतबाट एवार्ड जिते ।
उक्त अवसरमा समारोहमा यसै वर्ष नेपाली संगीतिक क्षेत्रले गुमाएका पण्डित होमनाथ उपाध्याय, पन्नाकाजी, रत्नबहादुर खड्गी, रुबी जोशी, खेमराज गुरुङ तथा सुनिल बर्देवाको सम्झना गरिएको थियो । ह्वाइट द फंक ब्यान्ड ‘हाम्रो फंकी दाजु’ गीतबाट सर्वोत्कृष्ट समूह गायन तथा सर्वोत्कृष्ट रक संगीत सिर्जनाको एवार्ड जित्न सफल भयो । ‘गुराँसै फुले हो’ का लागि अञ्जान बाबुले सर्वोत्कृष्ट लोकगीतको एवार्ड प्राप्त गरे भने सविन राई सर्वोत्कृष्ट रक गायनमा सविन राई एन्ड द इलेक्ट्रिसको ‘तिमी नै हो’ बाट पुरस्कृत भए ।
एकल गायन महिला विधामा रजिना रिमाल ‘मुटु दुख्यो’ गीतबाट पुरस्कृत भइन् भने गीति–संग्रह विधामा ‘अभिवादन’ बाट रक गायक एड्रियन प्रधान सर्वोत्कृष्ट घोषित भए । समारोहमा द काठमाडौं क्याट्स एन्ड द डर्टी बुगी ब्रास ब्यान्डले कन्दरा समूह, निमा रुम्बा तथा नेपथ्यका गीत प्रस्तुत गरेको थियो भने राजेशपायल राई, शिव परियार, प्रमोद खरेल, मौसमी गुरुङ, श्रेया सोताङ, नट्टू एन्ड द एसओएस ब्यान्डले पनि आफ्ना लोकप्रिय गीतहरू सुनाए ।