फाल्गुन ५, २०७३
मोरङको उर्लाबारीमा जारी उर्लाबारी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति दैनिकजसो भैरहेको छ । राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले महोत्सवको वातावरण तताएको छ । महोत्सवमा गायिका रजिना रिमाल, बाबु बोगटी, धीरज राई, कमल खत्री, साजन राई आदिले प्रस्तुति दिइसकेका छन भने फरक–फरक विधाका कलाकारहरू थपिरहेका पनि छन् ।
साँझ ५ बजेदेखि राति ९ बजेसम्म चल्ने यो महोत्सवमा दैनिक २ हजारजति दर्शक पुग्ने गरेका छन् । महोत्सवबाट भएको मुनाफा उर्लाबारी अन्तर्राष्ट्रिय गोल्डकप फुटवल प्रतियोगितामा खर्च गरिने आयोजक समितिका सचिव भीष्म बुढाथोकीले जानकारी दिए । उर्लाबारी महोत्सव फागुन १५ गते सम्पन्न हुने बताइएको छ ।