गएको पुस महिनाको पहिलो साता संसारभरिका सञ्चारमाध्यममा एउटा यस्तो मार्मिक समाचारले प्राथमिकता पायो जुन समाचार पढ्ने जो–कोही एकपटक सोच्न बाध्य भए । समाचार एउटा कुकुर र उसको मालिकको बारेमा थियो, जुन मालिकको प्रतीक्षामा आठ महिनादेखि अस्पतालबाहिर बसिरहन्थ्यो । मालिक बिरामी हुँदा उसलाई पच्छ्याउँदै आएको कुकुरले मालिकको मृत्यु भएको पत्तो पाएन । जब कुनै बिरामीलाई अस्पतालबाट बाहिर ल्याइन्थ्यो तब त्यो कुकुर कुद्दै जान्थ्यो र मालिक नभएको निक्र्यौल भएपछि पुरानै स्थानमा गएर बस्थ्यो । ऊ मालिक फर्कने प्रतीक्षामा छ । कथाजस्तो लाग्ने यो समाचारले के देखाउँछ भने कुकुर रक्षक मात्र नभएर पारिवारकै सदस्य हो ।
काठमाडौं पेप्सीकोलाका सन्तोष ढकाल लामो युरोप बसाइपछि नेपाल फर्किए । फर्कदा उनले एउटा कुकुर (टोनी) सँगै ल्याएका थिए । त्यो कुकुरसँग उनको यति घनिष्ठता थियो कि उ दिनभर सँगै बस्नेदेखि बेलुका सुुत्नेसम्मको साथी भएको थियो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएका ढकालले त्यही कुकुरलाई आफ्नो सन्तानका रूपमा माया गरेका थिए, तर दुई वर्षअघि त्यसको मृत्यु भएपछि ढकालले न त अर्को कुकुर ल्याए, न त उनी नेपाल नै बसे ।
२०७३ वैशाखमा सल्यान छायागाउँमा एकै परिवारका चार जनाको हत्या भयो । उक्त हत्या कसले गरेको भनेर लामो समयसम्म पत्ता लागेन, तर जब मध्यपश्चिम क्षेत्रीय कार्यालय कोहलपुरबाट भुन्टी नामक ‘ट्यागर डग’ सहित प्रहरी टोली परिचालन भयो, त्यसको केही दिनमै सोही गाउँका २० वर्षीया सञ्जय भारतीले उक्त हत्या गरेको पत्ता लाग्यो । प्रहरीले उनलाई समात्यो । यो कुकुरको सुझबुझको एउटा उदाहरण मात्र हो । ०७२ वैशाखको विनाशकारी भूकम्पमा पनि घरले पुरिएका मानिसको उद्धारमा प्रहरी एवं सुरक्षाकर्मीलाई कुकुरले नै मद्दत गरेका थिए । त्यतिबेला रेस्क्यु, सन्जु र साथी नामक कुकुरले राम्रो भूमिका निर्वाह गरेका थिए ।
पछिल्लो समय सहरमा बढ्दै गएको एकल परिवार तथा परिवारमा हुने सीमित सदस्यका कारण एक्लोपन बढ्दै गएको छ । अध्ययन र कार्यव्यस्तताले गर्दा सन्तान विदेसिन बाध्य छन् भने घरमा आमाबुबा वा उनीहरूमध्ये एकमात्र बस्नुपर्ने बाध्यता छ । यसको विकल्पको रुपमा मानिसले कुकुरलाई अभिन्न साथीको रुपमा पाल्न थालेका छन् । एक अध्ययनले मानिसको एक्लोपन हटाउन सबैभन्दा उपयुक्त साथी कुकुर हुने निष्कर्ष निकालेको थियो । कतिपय मनोचिकित्सक पनि पारिवारिक एक्लोपन हटाउन कुकुरलाई साथी बनाउन सिफारिस गर्न थालेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यका र देशका प्रमुख सहरमा घर भएका प्राय: सबै मानिसले कुकुर पाल्न थालेको के नाइन डग एन्ड ट्रेनिङ सेन्टरका निर्देशक गायक समेत रहेका प्रविण बज्राचार्य बताउँछन् । तीन प्रकारका मानिस कुकुर पाल्न लालायित भएको बज्राचार्यको ठम्याइ छ । बज्राचार्यका अनुसार एक किसिमका मानिस घरायसी सुरक्षाका लागि कुकुर पाल्छन् । अर्का थरी मानिस सौखका कारण पाल्छन् भने एउटा भिन्न समूह छ जो पारिवारिक न्यास्रो मेटाउन कुकुरलाई अभिन्न साथी बनाउँछ । पछिल्लो समय सुरक्षा र सौखभन्दा पनि बाध्यतावश कुकुर पाल्नेहरूको संख्या बढ्दै गएको बज्राचार्यको ठहर छ।
४ लाखसम्मका कुकुर
विदेशबाट छाउरा ल्याएर नेपाली र विदेशी बजारमा कुकुर सप्लाई गर्ने नेपाल क्यानल क्लबका सञ्चालक इन्द्र सुब्बा मानिसहरू कुकुरको जातप्रति सचेत हुँदै गएको बताउँछन् । पहिले–पहिले चाइनिज पगको अत्यधिक माग रहेकोमा अहिले विभिन्न जातका कुकुरको माग छ । सुब्बाले पञ्जाबबाट ल्याएको तिब्बतीयन म्यास्टिफले ११ वटा छाउरा जन्माएको थियो । तीमध्ये दुईवटा मरेका तथा ९ वटा भारत, भियतनाम, अमेरिका र नेपालमा बेचेको सुब्बा बताउँछन् । ती कुकुरका छाउरा नेपाली बजारमा १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म र अमेरिका तथा भियतनाम पठाइएका कुकुर ४ हजार अमेरिकी डलरमा बिक्री गरिएको सुब्बाको दाबी छ ।
विदेश पठाउँदा स्वास्थ्य जाँचसहित क्वारेन्टाइनको सबै प्रक्रिया आफूले नै गर्नुपर्दा खर्च बढेको सुब्बा बताउँछन्, तर प्लेन भाडा भने ग्राहक आफैं तिर्छन् । यसरी महँगो कुकुर घरको सुरक्षाका लागिभन्दा पनि सौखका कारण किनबेच हुने सुब्बाले बताए ।
२०५४ सालमा व्यवसायिक रूपमा कुकुर बिक्री तथा तालिम सञ्चालन गर्ने उद्देश्यले काठमाडौंमा पहिलो पटक सुरेश शाहले क्यानल क्लब खोले । अहिले यस्ता क्यानल क्लबको संख्या १ सय नाघिसकेको छ । त्यसअघि कुकुर चाहिनेहरूका लागि कुनै व्यक्तिले खोजेर ल्याइदिने चलन थियो । शाह भन्छन्– हामीले व्यवसायिक रूपमा क्लब खोलेपछि राज्यलाई विभिन्न खालको आय थपियो । राज्यलाई आय मात्र नभएर यसमा राम्रै जनशक्तिसमेत खपत भएको छ ।
डग ब्युटी कन्टेस्ट
२००५ देखि डग ब्युटी कन्टेस्ट सञ्चालन गर्दै आएका गायक बज्राचार्य फागुन ७ गते छैटौं संस्करणको तयारीमा छन् । पहिलो प्रतियोगितामा ६९ वटा कुकुरले भाग लिएका थिए भने पछिल्लो प्रतियोगितामा २ सय १० वटा कुकुर सहभागी थिए । यो प्रतियोगितामा कुकुरको जात, उसको स्वास्थ्य तथा उसको आज्ञकारिता आदि विधामा पुरस्कृत गर्ने गरिएको बज्राचार्य बताउँछन् । त्यसैगरी सबै थोक हेरी सर्वोत्कृष्ट कुकुरको पुरस्कार पनि प्रदान गरिन्छ । कुकुरलाई प्रशिक्षणसमेत दिँदै आएका गायक बज्राचार्य उमेरले प्रशिक्षणमा केही फरक नपर्ने बताउँछन्, तर ज्यादै साना कुकुरलाई आमाबाट छुटाएर तालिम दिन नहुने उनको तर्क छ । तालिम दिने उमेर पुगेपछि भने कुकुर र कुकुर पाल्ने मालिक दुवैलाई सँगै तालिमको आवश्यकता हुन्छ ।
वृद्धाश्रमदेखि बोडर्स हाउससम्म
अहिले कुकुर क्रेज यतिसम्म बढ्न थालेको छ कि बालकदेखि वृद्धसम्मको खेल्ने साथी कुकुर नै भएको छ, यद्यपि त्यही कुकुर बुढो भयो वा अपांग भयो भने मानिसहरूले बेवास्ता गर्ने चलन छ । त्यस्ता कुकुरलाई पनि सम्मानजनक तरिकाले बाँच्न दिन वृद्धाश्रम खोल्ने चलन समेत सुरु भैसकेको छ । गायक बज्राचार्यले २००५ मा पहिलो पटक के नाइन होम फर वल्र्ड एज एन्ड डिजेबल डग्स सञ्चालन गरिरहेका छन् । त्यसैगरी कपनमा कम्युनिटी डग वेलफेयर खोलेर बेलायतबाट आएका दुई विदेशी वृद्ध दम्पतीले पनि यस्ता कुकुरको स्याहारसुसार गरिरहेका छन् । वृद्धवृद्धा कुकुरको हेरचाहसँगै उपत्यकामा बोडर्स राख्ने चलन पनि सुरु भएको छ, जसको सुरुवात गायक बज्राचार्यले नै गरेका हुन् । बज्राचार्य घरमा एक्लै भएर दिउँसो अफिस जानुपर्नेहरूका लागि डे बोडर्स गर्छन् भने लामो वा छोटो समय उपत्यकाबाहिर जानुपर्नेहरूका लागि फुल बोडर्स सेवा उपलब्ध गराउँछन् ।
भारत लाने ट्रान्जिट नेपाल
नेपाल भारतमा कुकुर सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको व्यवसायीहरू बताउँछन् । तेस्रो मुलुकबाट नेपालको हवाई मार्ग प्रयोग गरी काठमाडौं ल्याएर यहाँबाट स्थलमार्ग हँुदै भारतका विभिन्न सहरमा कुकुर पुर्याउन विभिन्न एजेन्टहरू क्रियाशील रहेको शाहले जानकारी दिए । भारतमा हवाई मार्गबाट कुकुर ल्याउने कानुन कडा भएका कारण त्यस्ता एजेन्टहरू नेपालको बाटो रोज्छन् । नेपालको एयरपोर्टमा विदेशबाट कुकुर ल्याउँदा १० प्रतिशत कर तिर्नुपर्छ ।
तालिम
नेपालमा भाले कुकुर पाल्ने चलन बढी छ, तर स्वभावको हिसाबले पोथी कुकुर बढी मेहनति र मिलनसार हुन्छन् । पोथी कुकुर सरसफाइमा पनि बढी सचेत हुने प्रशिक्षक बज्राचार्य बताउँछन् ।
कुकुरका कतिपय सौखिनहरू महँगो कुकुर किने पनि प्रशिक्षण नदिएका कारण आफैंले दु:ख पाउँछन् । सौखिनले महँगा कुकुर खरिद गर्छन् तर तालिमका विषयमा खासै ध्यान दिँदैनन् । बज्राचार्य भन्छन्– तालिम नलिएका कुकुर घरमा राख्दा अनुशासनमा नबस्ने तथा जथाभावी दिसापिसाब गरिदिने हुँदा दु:ख पाइन्छ । कुनै पनि कुकुरलाई तालिम दिन उमेरले बाधा गर्दैन, तर सिकाउने तरीका भने फरक हुन्छ । नेपालमा पाइनेमध्ये जर्मन सेफर्ड, ल्याब्रेडोर र साना जातका कुकुरलाई तालिम दिन सजिलो हुने बज्राचार्यको अनुभव छ ।
किसिम–किसिमका कुकुर
जापानी स्पिट्ज
हेर्दा सानो भए पनि जापानी स्पिट्ज जातको कुकुर धेरै भुक्ने स्वभावको हुन्छ । मानिसहरू घरायसी सुरक्षाका लागि जापानी स्पिट्ज पाल्छन् । सामान्यत: दुई महिनाको तालिम पाएपछि जापानी स्पिट्जले घरायसी सुरक्षा र आफ्नो आनिबानीमा सुधार ल्याउन सक्छ । नेपालमा व्यवस्थित रूपमा पालिएका कुकुरमध्ये जापानी स्पिट्ज पहिलो स्थानमा छ । जापानी स्पिट्ज हेर्दा केही छुच्चो पनि लाग्छ । नेपालमा जापानी स्पिट्जको किनबेच ३ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्ममा भैरहेको बताइन्छ ।
लासा एप्सो
नेपालमा विशेषगरी बौद्ध धर्मावलम्बीहरूसँग देखिने लासा एप्सो घरायसी सुरक्षाका लागि पालिन्छ । छुच्चो स्वभावको लासा एप्सो आफ्नो मालिकभन्दा अरूसँग बस्न मान्दैन । सबैभन्दा ध्यान पुर्याउनुपर्ने कुरा के हो भने यसलाई सुरुमा जस्तो बानी लगायो सधैं त्यस्तै रहन्छ । ८ देखि १२ इन्चसम्म अग्लो हुने यो कुकुर सबैभन्दा बढी बाँच्ने कुकुरहरूमध्ये एक हो । यसको सालाखाला आयु १२ वर्ष भनिए पनि २० वर्षसम्म बाँचेको उदाहरण पनि छ । नेपालमा लासा एप्सोको किनबेच ८ हजारदेखि १२ हजार रुपैयाँसम्ममा भैरहेको जानकारहरू बताउँछन् ।
पग
हेर्दा खेलौना जस्तो देखिने पगको मुख थेप्चो तथा नाक टालिएको जस्तो देखिन्छ । खेल्न बढी मन पराउने, अझ केटाकेटीहरूसँग बढी घुलमिल हुने पग प्राय: मालिककै पछि–पछि लागिरहन्छ । नभुक्ने भएकाले पगलाई खेलौनाका रूपमा समेत पालिन्छ । १० देखि १२ इन्च अग्लो हुने पग जातको कुकुर नेपाली बजारमा २० देखि ३५ हजार रुपैयाँसम्ममा किनबेच भैरहेको छ ।
चिहुआहुआ
मेक्सिकन प्रजातिको चिहुआहुआ संसारकै सबैभन्दा सानो जातको कुकुरमध्ये एक हो । चिहुआहुआ नेपालमा भर्खर–भर्खर पाल्न थालिएको हो । खेलौना जस्तो देखिने चिहुआहुआ केटाकेटीहरूसँग घुलमिल हुन मन पराउँछ । चिहुआहुआलाई साथीका रूपमा पालिने हुँदा प्राय: यो मालिकसँगै बस्न मन पराउँछ । ६ देखि ८ इन्चसम्म अग्लो हुने चिहुआहुआ नेपालमा ४५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्ममा किनबेच भैरहेको छ ।
डेसहन्ड
घरायसी सुरक्षाका लागि डेसहन्ड जातको कुकुर उत्तम मानिन्छ । डेसहन्ड साना जनावरको सिकारमा सिपालु हुन्छ । खुट्टा छोटो र जीउ लामो हुने हुँदा यो कुकुर घरमा आउने मुसा मार्न सिपालु हुन्छ । घरमा पालिने कुकुरमध्ये डेसहन्ड साह्रै उपयोगी मानिन्छ । उचाइ १० इन्चसम्म भए पनि यसको भुकाइ चर्काे हुन्छ । भनेको कुरा मान्ने र चाँडै कुरा बुझ्ने स्वभावले गर्दा डेसहन्डलाई तालिम दिन सजिलो हुन्छ । नेपालमा डेसहन्डको खरिद–बिक्री १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा भैरहेको छ ।
ल्याब्राडोर
लोभलाग्दो जिउडाल भएको ल्याब्राडोर २२ देखि २४ इन्चसम्म अग्लो हुन्छ । ल्याब्राडोरको सुँघ्ने क्षमता अद्भुत हुन्छ भने सिक्ने क्षमता पनि राम्रो हुन्छ । त्यही भएर अपराध अनुसन्धानका लागि ल्याब्राडोर जातकै कुकुरको प्रयोग गरिन्छ । ल्याब्राडोरले केटाकेटीलाई बढी माया गर्ने भएकाले पनि यसलाई घरमा पालिन्छ । नेपालमा ल्याब्राडोरको मूल्य १२ देखि २५ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।
जर्मन सेफर्ड
सुरक्षा र एक्लोपनको साथीका रुपमा जर्मन सेफर्डको कुनै विकल्प छैन । सामान्य बोलीचालीमा यो कुकुरलाई अल्सेसियसन पनि भनिन्छ । छिटो कुरा बुझ्ने, सिक्ने एवं सँुघ्न सक्ने क्षमता पनि बढी भएकाले अपराध अनुसन्धानमा पनि जर्मन सेफर्डको प्रयोग हँुदै आएको छ । २४ देखि २९ इन्चसम्म अग्लो हुने जर्मन सेफर्ड नेपाली बजारमा १० हजारदेखि ५ लाख रुपैयाँसम्म किनबेच हुने गरेको छ । विश्वमै सबैभन्दा बढी पालिने कुकुर पनि जर्मन सेफर्ड नै हो ।
गोल्डेन रिट्रभर
गोल्डेन रिट्रभर जातको कुकुरको विशेषता प्राय: ल्याब्रोडोर जातको कुकुरसँग मिल्छ । बनावटदेखि लिएर आनिबानी समेत ल्याब्राडोरको जस्तै भए पनि गोल्डेन रिट्रभरको रौं अलि लामो हुन्छ । नेपाली बजारमा गोल्डेन रिट्रभरको मूल्य २० देखि ३५ हजार रुपैयाँसम्म पर्छ ।
डोबरम्यान
बढी छुच्चो र चनाखो डोबरम्यानलाई प्राय: सुरक्षाको दृष्टिकोणले पालिन्छ । सामान्य कुकुरहरूभन्दा केही अग्लो देखिने यो कुकुर हेर्दै डरलाग्दो हुन्छ । घरायसी सुरक्षाका लागि एकदमै राम्रो मानिने डोबरम्यानको मूल्य १२ देखि १५ हजार रुपैयाँसम्म पर्छ ।
बक्सर
चञ्चले स्वभावको भए पनि घरायसी सुरक्षाका लागि बक्सर जातको कुकुर अति नै राम्रो मानिन्छ । अन्य कुकुरभन्दा केही घमण्डी हुने भएकाले बक्सरलाई साथीका रूपमा कमै पालिन्छ । २५ इन्च जति अग्लो हुने बक्सरको मूल्य १६ देखि २५ हजार रुपैयाँसम्म छ ।
ग्रेट डेन
नेपाली बजारमा पाइने कुकुरमध्ये सबैभन्दा अग्लो कुकुर ग्रेट डेन हो । ३० इन्चसम्म अग्लो हुने ग्रेट डेनलाई प्राय: सुरक्षाका दृष्टिले पालिन्छ । यसका पनि विभिन्न जात हुन्छन् । जातअनुसार कुनै छुच्चो हुन्छ भने कुनै सामान्य हुन्छ । सौखिन स्वभावको ग्रेट डेन मालिकसँग बस्न मन पराउँछ । यो कुकुर विशेष गरी सोफामा बस्न रुचाउँछ । ठूलो भए पनि बाहिरिया मानिसलाई त्यति चाँडै झम्टँदैन । नेपालमा ग्रेट डेनको मूल्य २५ देखि ४० हजार रुपैयाँसम्म पर्छ । ग्रेट डेनको आयु अन्य कुकुरको तुलानामा कम हुन्छ ।
तिब्बतीयन मिस्टिफ
नेपाली बजारमा पाइने सबैभन्दा पुरानो कुकुर तिब्बतीयन मिस्टिफ हो । यसलाई भोटे कुकुर पनि भनिन्छ । पछिल्लो समय यसको स्थानीय जात लोप भैसकेको व्यवसायीहरू बताउँछन् । दिउँसोभन्दा राति बढी चनाखो देखिने र बढी आक्रामक हुने भएकाले घरको सुरक्षामा तिब्बतीयन मिस्टिफको विशेष दख्खल हुन्छ । २४ देखि २७ इन्चसम्म अग्लो हुने तिब्बतीयन मिस्टिफको शरीरमा बाक्लो रौं हुन्छ । नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा गोठालाका रूपमा समेत प्रशिक्षित गरिने तिब्बतीयन मिस्टिफको मूल्य ४ लाख रुपैयाँसम्म पर्ने गरेको छ ।
बुल डग
बुल डग नेपाल भित्रिएको सबैभन्दा नयाँ प्रजातिको कुकुर हो । १५ देखि १८ इन्च अग्लो हुने बुल डगको मूल्य नेपाली बजारमा ९० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म भएको बताइन्छ ।
साइबेरियन हकी
साइबेरियन ब्वाँसोलाई क्रस गरेर रुसमा विकास गरिएको साइबेरियन हकी कुकुरकै संसारमा नयाँ प्रजातिको कुकुर मानिन्छ । नेपाल भित्रने क्रममै रहेको साइबेरियन हकी सीधै विदेशबाट मगाइन्छ । साइबेरियन हकी सौखिन स्वभावको हुन्छ । २४ देखि २७ इन्चसम्म अग्लो हुने साइबेरियन हकीको मूल्य ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने बताइन्छ ।
डलमसोन
कालो, सेतो वा खैरो–कालो रंग मिश्रित यो कुकुर मानिससँग खेल्न रुचाउँछ । औसत १० देखि १३ वर्ष आयुको यो कुकुर ५० देखि ६० सेन्टिमिटरसम्म अग्लो हुन्छ । चुलबुले स्वभावको यो कुकुर सुरक्षाभन्दा पनि साथीका रूपमा पालिन्छ । नेपाली बजारमा यसको मूल्य १५ हजार रुपैयाँबाट सुरु हुन्छ ।
कुकुरलाई बाँधे न्यास्रो मान्छ
डा. शरद यादव
पशुचिकित्सक, एडभान्स पेट हस्पिटल
कुकुर पाल्नुअघि सामान्यत: कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ?
बफादार साथीका रूपमा र सुरक्षाका कारणले कुकुर पालिएको पाइन्छ । कुकुर पाल्नुअघि हामीले के बुझ्नुपर्छ भने पालिएको कुकुरप्रति ८ देखि १६ वर्षसम्मको दायित्व हुन्छ । आफ्नो समय तथा आफूसँग भएको घर–कम्पाउन्डअनुसार कुकुर पाल्नु उपयुक्त हुन्छ । कुकुरका छाउरा–छाउरी पाल्ने उद्देश्यले किन्दा केही कुरामा ध्यान दिनुपर्छ, जस्तै— छाउराछाउरीको उमेर ४० दिनभन्दा माथि हुनुपर्छ, दिसापिसाब ठीक हुनुपर्छ, आँखाबाट कचेरा र नाकबाट सिँगान बगेको हुनु हँुदैन, पशुचिकित्सकसँग जाँच गराएर यस्ता छाउरा–छाउरी लिनु अझ राम्रो हुन्छ ।
कुकुरलाई कस्तो खाना ख्वाउनुपर्छ ?
हामीमध्ये प्राय:लाई कुकुरको खानपिनका बारेमा यथेष्ठ जानकारी हुँदैन र घरपालुवाको खानपिन नमिलेर धेरैजसो समस्या देखा पर्छ । मानिसका ३२ वटा दाँत हुन्छन् भने कुकुरका ४२ वटा दाँत हुन्छन् । मानिस र कुुकुरको पाचन प्रणालीमा पनि पर्याप्त भिन्नता हुन्छ । त्यसकारण हाम्रो खाना र कुकुरको खाना पनि फरक–फरक हुन्छ । कुकुरलाई सकेसम्म उनीहरूकै लागि भनेर तयार पारिएको तयारी खाना दिनुपर्छ, जसमा कुकुरलाई चाहिने सबै तत्व मिसाइएको हुन्छ । त्यस्तो खानाले कुकुरको शारीरिक विकास तथा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
यदि घरमा पकाइएको खाना दिने हो भने त्यसमा कार्बोहाइड्ेरड, प्रोटिन तथा फाइबर मिसाइएको हुनुपर्छ । त्यसका लागि चामल, दाल, मासु, अन्डा तथा हरियो तरकारीलाई एकै ठाउँमा राखी तेल, मसला नहाली पकाएर दिनुपर्छ, तर यस्तो खाना पनि कुकुरका लागि पूर्ण रूपमा सन्तुलित हुँदैन । घरको खाना दिँदा पशु चिकित्सकको सल्लाहमा मल्टिभिटामिन पनि दिनुपर्छ ।
के कुकुरलाई पनि न्यास्रो लाग्छ ?
हो, हामी मानिसलाई जस्तै कुकुरलाई पनि न्यास्रो लाग्छ । कुकुर पालेपछि उसका लागि पनि उचित बासस्थान तथा खेल्ने ठाउँ हुनुपर्छ । कुकुरले पनि आफू बस्ने घरका सदस्यहरूको सामीप्यता खोज्छ, जुन नपाए न्यास्रो मान्छ । त्यसैले कुकुरलाई सिक्रीले बाँधेर वा थुनेर राख्नु हुँदैन । घरका सदस्यहरूले समय मिलाएर ऊसँग खेल्ने, बाहिर घुमाउन लाने आदि काम गर्नुपर्छ । सम्भव छ भने एउटाको साटो दुईवटा कुकुर पाल्नु उपयुक्त हुन्छ । प्रजनन गराउनु छैन भने ६ देखि ८ महिनाको उमेरमा भाले तथा पोथी कुकुरको बन्ध्याकरण गराउनुपर्छ, जसले गर्दा कुकुरमा स्वास्थ्यसम्बन्धी समस्यासँगै मानसिक समस्या सिर्जना हुन पाउँदैन ।
ककुरलाई दिनुपर्ने नियमित खोप र भिटामिन के–के हुन् ?
कुकुरलाई १ महिनाको उमेरमा जुकाको औषधि ख्वाउनु पर्छ । त्यसपछि प्रत्येक तीन–चार महिनामा जुकाको औषधि तौलअनुसार ख्वाउनु पर्छ । उमेर ४०–४५ दिन पुगेपछि कुकुरका खोपहरू लगाइदिनुपर्छ, जसमा डिस्टेम्पर तथा कोरोना खोप पहिले दिनुपर्छ र त्यसको एक महिनापछि फेरि डिस्टेम्पर, कोरोना तथा रेबिजको खोप लगाउनुपर्छ, जुन तेस्रो पटक पनि एक महिनाको फरकमा लगाउनुपर्छ । त्यसपछि ती खोप प्रत्येक वर्षको १ पटक बाँचुन्जेल लगाइरहनुपर्छ ।
कसरी पाल्ने कुकुर
प्रवीण बज्राचार्य, कुकुर विज्ञ
- कुकुरका छाउरा–छाउरीलाई ६ देखि ८ हप्ता नभै आमासँग छुट्याउनु हुँदैन । छाउरा–छाउरी घरमा ल्याउँदा ६ देखि ८ हप्ताको हुनुपर्छ ।
- कुकुरका छाउरा–छाउरी छान्दा, उसका सम्पूर्ण अंग राम्रोसँग हेर्नुपर्छ जस्तै आँखा देख्छ देख्दैन, कान सुन्छ सुन्दैन जाँच गर्नुपर्छ ।
- छाउरा–छाउरी ल्याइसकेपछि सीधै घरभित्र लानु हुँदैन । उसलाई दिसा, पिसाब जहाँ गराउने हो त्यहाँ एकैछिन राख्ने र दिसा अथवा पिसाब गरिसकेपछि मात्र घरभित्र लाने । यसो गर्दा ट्वाइलेटको समस्याबाट छुट्कारा प्राप्त
- गर्न सकिन्छ ।
- कुकुरले आफ्नो आँखाअगाडि दिसा–पिसाब गर्दा स्याबासी दिएर, उसलाई मन पर्ने खाना दिनुपर्छ । जसले गर्दा पछि ट्वाइलेट गराउन सजिलो हुन्छ ।
- आफ्नो अगाडि दिसा, पिसाब गर्यो भने कुकुरलाई कहिल्यै गाली गर्नु हुँदैन । त्यसो गरियो भने उसले आफ्नै दिसा–पिसाब पनि खान थाल्छ ।
- कुकुरलाई कुनै पनि नयाँ कुरा सिकाउँदा माया गरेर उसलाई मन परेको चिज दिनु उपयुक्त हुन्छ । एउटै चीजलाई पटक–पटक दोहोर्याएर सिकाउनुपर्छ । गाली गर्ने, पिट्ने आदि काम गर्नुहुँदैन ।
- कुकुर हामीसँग डराउनुभन्दा पनि हामीलाई आदर गर्ने हुनुपर्छ ।
- कुकुरको नाम राख्दा सकेसम्म छोटो राख्नुपर्छ अर्थात् दुईदेखि तीन अक्षरसम्मको नाम राख्नुपर्छ ।
- कुकुर छनौट गर्दा के कामका लागि आफूलाई कुन कुकुर चाहिएको हो सोहीअनुसार जात छनौट गर्नुपर्छ । जस्तै : सुरक्षाका लागि हो भने भोटे, जर्मन सेफई, डोबरम्यान आदि ।
- कुुकुरलाई एक्सरसाइज गराउनु पर्छ । एक्सरसाइजका लागि कुकुरलाई हिँडाउनुपर्छ । हिँडाउँदा कुकुर अनुशासित पनि हुँदै जान्छ ।
- कुुकुरलाई उसको मालिकले जति धेरै माया गर्छ त्यति नै धेरै उसले आफ्नो मालिक र घरको सुरक्षा गर्छ ।
- धेरै नुहाइदिनु हुँदैन । धेरै नुहाइदिँदा कुकुरको छाला सुख्खा भएर छालासम्बन्धी विभिन्न रोग लाग्न सक्छ । त्यसको सट्टा कुकुरको रौं ब्रसले नियमित रूपमा कोरी दिनुपर्छ । नुहाइदिँदा उनीहरूकै लागि बनेको साबुन, स्याम्पु आदि मात्र प्रयोग गर्नुपर्छ ।
- यदि आफूसँग समय, पैसा र ठाउँ छैन भने कुकुर नपाल्नु नै बेस हुन्छ ।
- मानिसमा कुकुरबाट विभिन्न रोग सर्न सक्छ । त्यसैले कुकुरलाई समय–समयमा जुका र परजीवीहरूबाट जोगाउन औषधी उपचार गराइरहनुपर्छ ।
- कुकुरलाई सधैं एउटै समयमा खाना दिनुपर्छ । खानामा सागसब्जी, तरकारी आदि समावेश गर्नुपर्छ, जसबाट उसले आफूलाई चाहिने भिटामिन तथा मिनरल्सहरू प्राप्त गर्न सक्छ ।
कुकुरबाट मानिसमा सर्न सक्ने रोग
डा. शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ, टेकु अस्पताल
रेबिज
रेबिज भाइरसका कारणले लाग्ने प्राणघातक रोग हो । यो सामान्यत: रेबिज संक्रमित जनावरले टोक्दा त्यसको र्यालबाट सर्छ । ज्वरो आउनु, टोकेको ठाउँमा झमझमाउनु, शरीर कमजोर हुनु यसका प्रारम्भिक लक्षण हुन् । त्यसको केही समयपछि स्नायुसम्बन्धी लक्षण देखा पर्छन् र अन्तमा बिरामीको मृत्यु हुन्छ ।
ब्रुसेलोसिस
कुकुरमा हुने ब्रुसेलोसिसको संक्रमण मानिसमा समेत सर्न सक्छ । ज्वरो आउनु, पसिना बग्नु, जोर्नी दुख्नु, मांसपेशीमा पीडा हुनु तथा अल्छी लाग्नु यसका प्रमुख लक्षण हुन् ।
क्रिप्तोस्पोरिओसिस
यो एक प्रकारको परजीवी हो र यो कुकुरबाट संक्रमण हुन् सक्छ । यो परजीवी मानिसमा पनि सर्न सक्छ । पानीजस्तो दिसा हुनु, पेट दुख्नु, मांसपेसी बाउँडिनु, वाकवाक लग्नु यसका लक्षण हुन् । यो दुई–तीन दिनमा आफैं ठीक भएर जान्छ भने रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका संक्रमितमा भने यसले कडा रूप लिन सक्छ ।
जियार्दिअसिस
यो पनि एक प्रकारको परजीवी हो । यो संक्रमित जनावरको दिसा, खाना एवं पानीबाट सर्छ । पातलो दिसा तथा वाकवाक लाग्नु, मांसपेसी बाउँडिनु, जलबियोजन हुनु यसका प्रमुख लक्षण हुन् । यो रोगको उपचार नगरे एकदेखि दुइ हप्तासम्म रहन सक्छ ।
लाइम रोग
लाइम विकसित देशहरूमा डरलाग्दो रोग मानिए पनि नेपालमा यसको खासै चर्चा गरिएको पाइँदैन । यो जनावरमा पाइने उपियाँको टोकाइबाट सर्ने ब्याक्टेरियल रोग हो । यो रोग सर्न उपियाँ ३ देखि ४ दिनसम्म शरीरमा टाँसिएको हुनुपर्छ । उपियाँले टोकेको ३ देखि ३० दिनमा यसका लक्षण देखा पर्छन् । ज्वरो आउनु, टाउको दुख्नु, थकान महसुस गर्नु, जोर्नी दुख्नु, लिम्फ ग्रन्थि बढ्नु यसका प्रमुख लक्षण हुन् । समयमै यसको उपचार नगरे स्न्नायुसम्बन्धी रोगको लक्षण देखा पर्न सक्छ ।
लेप्टोस्पाइरोसिस
यो जनावरमा पाइने एक प्रकारको ब्याक्टेरिया हो जुन संक्रमितको पिसाब वा शरीरको तरल पदार्थबाट मानिसमा सर्छ । यसको लक्षण संक्रमण भएको २ दिनदेखि ४ हप्ता सम्ममा देखिन्छ । ज्वरो आउनु, आँखा रातो हुनु, मांसपेशी दुख्नु, बान्ता हुनु, जन्डिस देखिनु यसका लक्षण हुन् । मिर्गाैला तथा कलेजो काम नलाग्ने गरी बिग्रनु यसको मुख्य जटिलता हो ।
साल्मोनेलोसिस
यो ब्याक्टेरिया खासगरी संक्रमित कुकुरको दिसा खानामा परी मानिसले उपभोग गर्दा सर्छ । यसको संक्रमणले कुकुरलाई खासै हानी नगरे पनि मानिसमा जटिल स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ । ज्वरो आउनु, वान्ता हुनु, पखाला लाग्नु आदि यसका लक्षण हुन् । वृद्धवृद्धामा यसको लक्षण केही कडा हुन सक्छ ।