म्युजिक भिडियोमा अभिनय गर्दै विद्यार्थी राजनीतिबाट मनोरञ्जनको क्षेत्रमा आएका चलचित्रकर्मी हुन् सुनिल रावल । चलचित्रमा अभिनेता बन्ने उद्देश्यले यो क्षेत्रमा आएका रावलले केही चलचित्रमा अभिनय पनि गरे । अभिनय गर्दागर्दै चलचित्र निर्माणको क्षेत्रमा सक्रिय भएका रावल आजको मितिमा स्थापित निर्माताका रूपमा चिनिएका छन् । सायद उनले निर्माण गरेको पहिलो चलचित्र हो । नेपाली युवापुस्तालाई लागूपदार्थले बिगारेको विषयवस्तुमा आधारित उक्त चलचित्रले व्यवसायिक सफलता मात्र हासिल गरेन, रावललाई निर्माताका रूपमा अघि बढ्ने उत्साहसमेत जगायो । दोस्रो चलचित्र होस्टलबाट पनि सफलताको स्वाद चाखेका रावलले तेस्रो चलचित्र होस्टल रिटन्र्सबाट पनि दर्शकको मन जिते । यतिबेला उनी सायद–२ को प्रदर्शनको तयारीमा छन् भने तीन भिन्न चलचित्रको छायांकन तयारीसमेत गर्दैछन् । साप्ताहिकमार्फत रावलले प्रेम गर्ने व्यक्ति तथा वस्तुका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
चलचित्र क्षेत्र
विगत सात वर्षदेखि आफू सक्रिय रहेको नेपाली चलचित्रलाई म सबैभन्दा बढी प्रेम गर्छु । मोडलिङ हुँदै चलचित्रको अभिनेता बन्ने उद्देश्यले यो क्षेत्रमा आए पनि अहिले म कलाकारका साथै निर्माताका रूपमा सक्रिय छु । चलचित्र क्षेत्रले मलाई नामसहित दामसमेत दिएकाले म यो क्षेत्रप्रति ऋणी पनि छु ।
टिकापुर
पश्चिम नेपालको कैलाली जिल्लामा पर्ने टीकापुरप्रति मेरो अगाध प्रेम छ । म जन्मी हुर्किएको ठाउँ सदैव मेरो मुटुमा छ । त्यो ठाउँमा मेरो बाल्यकाल तथा किशोरावस्था बितेको छ । आज पनि म वर्षको एकपटक टीकापुर पुगेकै हुन्छ । त्यहाँको मौसम, वातावरण, हावापानी, मानिसदेखि लिएर माटोसँग मेरो प्रेम छ ।
दुर्गेस थापा
दुर्गेस मेरी जीवन–संगिनी हुन् । चलचित्र निर्माण गर्नदेखि लिएर वैवाहिक जीवनलाई सुचारु रूपमा अघि बढाउन उनको ठूलो योगदान छ । उनले मलाई श्रीमतीका रूपमा हरेक कोणबाट साथ र सहयोग गरेकी छिन् । म उनलाई असाध्यै प्रेम गर्छु ।
बुवा–आमा
बुवा नरबहादुर रावल तथा आमा जानकी रावलकै कारण आज म सुनिल रावलका रूपमा चिनिन पाएको छु । उहाँहरूकै कारणले म यो धर्तीमा आएँ । आजसम्म पनि म उहाँहरूले देखाउनुभएको मार्गमा हिँडिरहेको छु । उहाँहरूले दिनुभएको संसार सदैव मेरो साथ रहनेछ । म मेरा बुवा–आमालाई असाध्यै प्रेम गर्छु ।
दाजु–भाइ
दाजु अनिल अनि भाइ हेमन्तलाई पनि म उत्तिकै प्रेम गर्छु । उनीहरू दुवै जना टीकापुरमा रहेर आफ्नै व्यवसायमा सक्रिय छन् । भाइ हेमन्तलाई त म अति नै प्रेम गर्छु । मेरो जीवन सार्थक हुनुमा उनीहरू दुवैको उत्तिकै योगदान छ ।
सायद
झन्डै सात वर्षअघि मैले निर्माण गरेको पहिलो चलचित्र हो– सायद । यो चलचित्र मेरो पर्यायका रूपमा छ । यही चलचित्रका कारण आज म यो स्थानसम्म आइपुगेको छु । सायदलाई म जीवनभर
बिर्सन सक्दिनँ ।
गुरु
आज यो संसारमा नरहे पनि मेरा गुरु निरंकारी बाबा हरदेव सिंहजी महाराजालाई म प्रेम गर्छु । उहाँले मलाई जीवनमा बाँच्ने मात्र सिकाउनुभएन, जीवन के हो भन्ने कुरासमेत बुझाउनुभयो । उहाँकै दीक्षाका कारण मैले आध्यात्मिक सम्पत्ति कहिल्लै नाश हुँदैन भन्ने कुरा सिकें ।