मि.स्टर हङ्कङ, धर्मश्री विजेता
हङकङलाई कर्मथलो बनाएका लोकेन्द्र परियारको बडीबिल्डिङ यात्रा त्यति सहज थिएन, पातलो शरीर र विदेशमा काम गर्नुपर्ने बाध्यताले उनको सपना थिचिँदै गयो । समयक्रमसँगै निरन्तरको लगाव र अथक परिश्रमले उनको शरीरले एउटा आकार पायो जसले उनलाई मात्र चिनाएन, नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्टेजमा नेपालको झन्डा फहराउँदै उपाधिको दावेदारसमेत बनायो । परियार भन्छन्– मलाई थाहा थिएन, एकदिन जिम र बडीबिल्डिङ मेरो जीवनको पर्यायवाची बन्नेछ ।
आफ्नो सपनालाई यथार्थमा परिणत गर्न लोकेन्द्रले बेफुर्सदी दैनिकीका बावजुद जिमलाई माया गर्न थाले । अन्तत: विदेशी साथीहरूको संंगत एवं खानपिनमा ध्यान अनि जिमको दैनिकीले उनको सपना साकार भयो । सन् २००८ मा मिस्टर हङकङ नेपाल भएपछि उनले पछाडि फर्किएर हेर्नुपरेन, सफलता हासिल गर्ने क्रममा उनले सन् २०१० मा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा आफ्नो तौल समूहतर्फ स्वर्ण पदक, २०११ मा अन्तर्राष्ट्रिय फेडरेसन बडी बिल्डिङमार्फत हङकङमा फस्ट रनर्सअप तथा सन् २०११ मै नेपालको प्रतिष्ठित धर्मश्रीको उपाधि जिते ।
खेलेर मात्र हुँदैन, खेलमार्फत देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनुपर्छ भन्ने मान्यता राख्ने लोकेन्द्रले सन् २०१३ देखि अन्तर्राष्ट्रिय फेडरेसन अफ बडी बिल्डिङ एन्ड फिटनेसको सदस्य संस्था हिमालय किङ्डम नेप्लिज फेडरेसन अफ बिल्डिङ एन्ड फिटनेस दर्ता गरी संस्थागत रूपमा नेपाल र नेपाली प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्टेज प्रदान गर्दै आएका छन् । लोकेन्द्रकै पहलमा ९० देशका ओलम्पिक कमिटीले मान्यता प्रदान गरेको १ सय १० भन्दा बढी सदस्य राष्ट्र रहेको बडी बिल्डिङको अन्तर्राष्ट्रिय संस्था आईएफबीबीसँग सम्बन्धित हिमालय बडी बिल्डिङमार्फत नेपाल, मकाउ र हङकङका खेलाडीहरूले ओलम्पिया, आर्नेल्ड क्लासिकजस्ता संसार प्रसिद्ध प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् ।
बडी बिल्डिङप्रतिको लगाव र कुशल नेतृत्वकै कारण आईएफबीबीअन्र्तगत अन्तर्राष्ट्रिय निर्णायकको मान्यतासमेत पाएका लोकेन्द्र भन्छन्– ‘हामी अहिले हङकङ, नेपाल र मकाउमा मात्र सीमित छौं, तर यो यात्रा लामो छ, चाँडै हामी संसारका कुना–कुनामा जहाँ–जहाँ नेपालीहरू छन् त्यहाँ–त्यहाँ पुग्न चाहन्छौं ।’