साप्ताहिक संवाददाता
त्यसै पनि निर्माता माधव वाग्लेलाई छुच्चो व्यक्तिको उपाधि प्राप्त छ । उनी आफूलाई लागेको कुरा प्याच्च बोल्न असाध्यै सिपालु छन् चाहे त्यो जतिसुकै तीतो किन नहोस् ? पत्रकार सम्मेलनमा सञ्चारकर्मीकै उछित्तो काट्न पछि नपर्ने यी निर्माता यतिबेला चलचित्र ‘लुट–२’ का कारण असाध्यै आत्मविश्वासी देखिएका छन् ।
हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रको ट्ेरलर तथा गीतले पाएको चर्चा अनि दर्शकको प्रतीक्षाका कारण निर्माता वाग्लेको आत्मविश्वास बढ्नु स्वभाविक हो । यद्यपि निर्माता वाग्ले भने उक्त चलचित्रले कीर्तिमान नै कायम गर्ने दाबी गर्न थालेका छन् । निश्चल बस्नेतद्वारा निर्देशित यो चलचित्रले दीपकराज गिरीको ‘छक्का पञ्जा’ ले बनाएको सर्वाधिक व्यवसाय (करिब १६ करोड) को कीर्तिमान भंग गर्ने दाबी निर्मता वाग्लेको छ । ‘कीर्तिमान त तोड्छ नै, त्यो पनि २१ दिनमै’, वाग्लेको दाबी छ—‘लुट–२ अहिलेसम्म निर्माण भएका नेपाली चलचित्रहरूमध्ये सर्वोत्कृष्ट छ ।’