साप्ताहिक संवाददाता
गौरी मल्ल नेपाली चलचित्र क्षेत्रको लोकप्रिय नाम हो । चलचित्र ‘सन्तान’ बाट प्रारम्भ भएको मल्लको अभिनय यात्रा ‘कन्यादान’ हुँदै अघि बढेको हो । यो अवधिमा दर्जनौं चलचित्रमा अभिनय गरेकी गौरी आजसम्म पनि अभिनयमा उत्तिकै सक्रिय छिन् । चलचित्रमा अभिनय गरेर थुप्रै एवार्ड समेत जितिसकेकी मल्ल पछिल्लो समय सानो पर्दातर्फ आकर्षित भएकी छिन् । उनले अभिनय गरेको टेलिश्रृंखला ‘सिंहदरवार’ दर्शकले मन पराए । यतिबेला उनी सानो पर्दाकै लोकप्रिय कार्यक्रम ‘आमा–२’ मा व्यस्त छिन् । साप्ताहिकमार्फत मल्लले आफूले प्रेम गरेका व्यक्ति तथा वस्तुहरूका बारेमा आफ्नो धारणा व्यक्त गरेकी छिन् ।
बुवा–आमा
८२ वर्षीय बुवा धनबहादुर मल्ल तथा ७७ वर्षीया आमा चन्द्रदेवी मल्ल मेरो पहिलो प्रेम हुनुहुन्छ । म आज पनि बुवा–आमाकै प्यारी छोरीका रूपमा उहाँहरूसँगै बस्छु । मलाई यो सुन्दर संसारमा ल्याउने श्रेय उहाँहरूलाई नै जान्छ । हरेक सुख–दु:खमा उहाँहरूले मलाईसाथ दिइरहनुभएको छ । उहाँहरूले मेरो जीवनमा पुर्याउनुभएको योगदान शब्दमा वर्णन गर्न सकिँदैन ।
मातृभूमि
मेरो जन्मभूमि नेपाल मलाई प्राणभन्दा प्यारो छ । म जहाँ पुगे पनि, जहाँ रहे पनि हरेक क्षण मेरो मनमा मेरो मातृभूमि नै रहन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हरेक भूभागसँग मेरो लगाव छ । मलाई नेपालको सम्पूर्ण नक्सा नै मन पर्छ, झन्डा नै मन पर्छ । मेरा लागि संसारको सबैभन्दा प्यारो र सबैभन्दा महत्त्वपूर्ण देश नै नेपाल हो ।
भगवान् श्रीकृष्ण
भगवान श्रीकृष्णसँग पनि मेरो प्रेम छ । मैले उहाँका सुन्दर तस्बिरहरू आफ्नो मनमा सजाएकी छु । म हरेक क्षण भगवान् कृष्णकै प्रेममा रमाइरहेकी हुन्छ । हामीले मान्ने भगवान् त करोडौं छन्, तर भगवान् श्रीकृष्णसँग जत्तिको प्रेम मैले अरू कुनै भगवान्सँग गर्न सकेकी छैन ।
पावेल
पावेल भन्ने व्यक्तिसँग म टिनएज हुँदादेखि नै प्रेम गर्छु । आज पनि म उसलाई प्रेम गरिरहेकी छु । वास्तवमा पावेल कुनै जीवित व्यक्ति होइन, ऊ त एउटा उपन्यासको पात्र हो । मैले १५–१६ वर्षकै उमेरमा पढेको म्यासिम गोर्कीको उपन्यास ‘आमा’ को एउटा मुख्य पात्र हो– पावेल । मैले अहिलेसम्म पढेका दर्जनौं उपन्यासमध्येको प्रिय लाग्ने पात्र पावेल नै हो ।
कन्यादान
हुन त ‘सन्तान’ मेरो पहिलो चलचित्र हो तै पनि चलचित्र ‘कन्यादान’ लाई म असाध्यै प्रेम गर्छु । यही चलचित्रले मलाई गौरी मल्लका रूपमा चिनाएको हो भन्दा फरक पर्दैन । उक्त चलचित्रको छायांकन भएदेखि प्रदर्शन भएर सफल हुन्जेलसम्मका हरेक क्षण मेरो मन–मस्तिष्कमा ताजै छ । उक्त चलचित्रका कतिपय गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।
महाभारत
मैले पढेका धार्मिक ग्रन्थहरूमध्ये महाभारत उत्तम लाग्छ । मैले यो ग्रन्थ कति पटक पढेको छु भन्ने गन्ती नै छैन । महाभारतका हरेक अध्याय पढौं–पढौं लाग्छ । कृष्णले अर्जुनलाई दिएका उपदेशदेखि त्यहाँ वर्णन गरिएका हरेक प्रसंग जीवनोपयोगी छन् ।
जनावर
म जनावरको वरिपरि रहन रुचाउँछु । मलाई कुकुर, सुँगा तथा ढुकुर असाध्यै मन पर्छन् । पहिले मैले घरमा सुँगा पालेकी थिएँ । अहिलेचाहिं दुईवटा कुकुर छन् । फुर्सदमा म यिनै जनावरसँग खेलेर रमाउँछु।