मंगलबार सम्पन्न विराट एक्स्पो (कृषि तथा औद्योगिक प्रदर्शनी) मा माउन्टेन फ्लाइट र हेलिसिटीले सबैको ध्यान खिच्यो । विराट एक्स्पोलाई लक्षित गरी यति एयरलाइन्सबाट तीन दिनसम्म पर्वतीय उडान (माउन्टेन फ्लाइट) को व्यवस्था गरिएको थियो । त्यसैगरी एक्स्पोकै अवसरमा विराटनगर हेलिसिटी टुरसमेत सञ्चालन गरिएको थियो ।
एक सातासम्म सञ्चालन भएको विराट एक्स्पोमा ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बताइन्छ । एक्स्पोमा औद्योगिक, उत्पादन, कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोवाइल्स तथा पार्ट्स, हस्तकलाका सामाग्री, विद्युतीय सामग्री, घरायसी सामग्री, खाद्यपदार्थ आदिका २ सय ५४ वटा स्टल थिए ।
कृषि तथा औद्योगिक प्रदर्शनीमा राखिएको श्रम तथा रोजगार मन्त्रालयको सूचना केन्द्रमा युवाहरूको आकर्षण रह्यो । विराट एक्स्पोअन्तर्गतको उक्त सूचना केन्द्रमा ४ सय ५० जना युवाले रोजगारीका लागि आवेदन दिएका छन् । एक्स्पोमा कामदारको खोजी गर्दै २६ जना रोजगारदाता आएका थिए ।
त्यसैगरी एक्स्पोमा राखिएको १ सय २० किलो तौलको खसीले सबैको ध्यान खिच्यो । सप्तरीको महोनपुरबाट खड्क प्रसाद कोइरालाले एक्स्पोमा ल्याएको उक्त खसी हेर्न ठूलो भीड लागेको थियो ।