साप्ताहिक संवाददाता
ओसामाबिनले वोधिवृक्षमा विमान ठोकाए पनि
गान्धिको छातीमा हिटलरले गोली बर्षाए पनि
लिङ्कनको टेबुल माथि स्टालिनले बुट बजारे पनि
हिमालहरु शिर झुकाउने छैनन्
चराहरु उड्न डराउने छैनन्
फूलहरु मुस्कुराउन छाड्ने छैनन्
कवि सोझो गाउँलेले यसरी कविता वाचन गरिरहँदा दर्शक दिर्घाबाट पर्रर ताली छुट्यो । वान्स मोर, वान्स मोर भन्नेहरुको कमी थिएन । ‘गाउँलेका कविताहरु साँच्चै सुन्न लायक छन् ।’ कवि उमेश अकिन्चनले सुनाए । त्यस्तै प्रतिक्रिया थियो, गायक यज्ञराज उपाध्यायको । 'उनका कविताहरु दोहोर्याएर सुन्न मन छ ।' उपाध्यायले सुनाए ।
शनिबार मध्यान्ह अनामनगरको मण्डला थियटरको खचाखच भरिएको थियो । पैसा तिरेरै कविता, गजल सुन्नेहरुको भीड थियो । काव्य–मुशायरा परिवारले आयोजना गरेको ‘गजल र कविता वाचनको श्रृङ्खला’ को यो तेस्रो श्रृङ्खला हो । कवि गाउलेसँगै गजलकार विनोद अनुजले आफ्ना गजल सुनाएका थिए ।