मोडलिङ गर्दागर्दै चलचित्र क्षेत्रमा आएका अनुपविक्रम शाही नेपाली चलचित्रमा अभिनेताका रूपमा स्थापित भैसकेका छन् । चलचित्र ‘सौर्य’ बाट अनुपले नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । पहिलो चलचित्र राम्रो नचले पनि दोस्रो चलचित्र ‘हँसिया’ मा अभिनय गरेपछि अनुपले पछाडि फर्केर हेर्नुपरेको छैन । उनको उचाइ र लुक्सको प्रशंसा नगर्ने कमै छन् । ‘वीरविक्रम’, ‘हाउ फन्नी’, ‘किङ’ आदि अनुपले अभिनय गरेका चलचित्र हुन् । चलकेटी अभिनेता अनुप अहिले व्यस्त कलाकारको सूचीमा पर्छन् ।
सुट
सुटको सोखिन भएकाले घरबाट बाहिर निस्कने क्रममा सुट लगाउन रुचाउँछु । जाडो होस् वा गर्मी, कोट लगाएपछि मात्र आफू पूर्ण भएको महसुस गर्छु । कोट जिन्स पाइन्टमा समेत सुहाउने भएकाले पनि टिसर्ट, सर्ट जे लगाउँदा पनि कोट छाड्न नसकेको हुँ । मसँग अहिले ४० देखि ५० वटाजति सुट होलान् ।
नरुचाएको क्षेत्र
मेरा आफन्तहरू आर्मी र प्रहरीमा भएकाले बुवा–आमाले पनि मलाई आर्मी, पुलिस बन भनेर जोड गर्नुहुन्थ्यो । कलाकारिता क्षेत्रमा पैसा नहुने भएकाले यो क्षेत्रमा नलाग भन्दै दिन–रात गाली गर्नुहुन्थ्यो, तैपनि सानैदेखिको रुचिका कारण मलाई यो क्षेत्रमा आउन कसैले रोक्न सकेन् । अहिले आएर मेरा बुवा–आमा पनि छोरा राम्रो क्षेत्रमा आएछ भनेर गर्व गर्नुहुन्छ ।
क्यारिकेचर
म स्कुल लेभलदेखि नै क्यारिकेचर गर्छु । म राजनैतिक दलका नेताहरूभन्दा पनि कलाक्षेत्रका अभिनेताहरूको क्यारिकेचर गर्न बढी रुचाउँछु । महानायक राजेश हमालको डाइलग बढी क्यारिकेचर गर्थें । म बलिउड चलचित्रका नायकहरूको क्यारिकेचर गर्छु ।
मोडल
म्यान हन्ट इन्टरनेसन नेपाल–२०१३ को विजेता भएपछि म मोडलिङ क्षेत्रमा लागिपरेको हुँ । मैले पहिलो पटक गायिका आस्था बीको गीतको म्युजिक भिडियोमा अभिनय गरेको थिएँ । त्यसपछि थुप्रै म्युजिक भिडियोमा अभियन गर्दै गएँ ।
खेलाडी
म बास्केटबलको खेलाडीसमेत हुँ । कलेज लेभलमा हुने अन्तरकलेज बास्केटबल प्रतियोगितामा हाम्रो कलेजको टिम मेरै कप्तानीमा हुन्थ्यो । हामीले धेरै प्रतियोगिता जितेका पनि थियौं । म बास्केटबलको राष्ट्रिय खेलाडीमा समेत छनौट भएको थिएँ ।
पिटाइ
स्कुल–कलेज पढ्दा म धेरै नै चकचके थिएँ । साथीहरूको लहैलहैमा लागेर कलेज ‘बंक’ गर्थें । भोलिपल्ट सरहरूले रामधुलाई गर्नुहुन्थ्यो । त्यसमाथि सरहरूले दिएको होमवर्क नगर्दा स्कुल–कलेजमा मैले थुप्रै पटक पिटाइ खाएको छु ।