साप्ताहिक संवाददाता
होली रंगीन पर्व हो । त्यसैले होलीलाई रंगीन बनाउनुपर्छ तर सबै साथीभाइ एवं आफन्तहरूसँग प्रत्यक्ष भेट गरेर होली मनाउन सकिँदैन । यो अवस्थामा भर्चुअल रूपमै प्रस्तुत भएर सबैसँग खुसी साट्न सकिन्छ । आफ्नो कम्प्युटर वा स्मार्टफोनमार्फत यस्ता रंगीन अनुभव आदान–प्रदान गर्न सकिन्छ ।
यसका लागि विभिन्न प्रकारका एप्स उपलब्ध छन् । आफ्ना साथीभाइ वा आफन्तलाई शुभकामना, एसएमएस पठाएर तथा उनीहरूलाई रङसँग खेलेको अनुभूति दिलाएर यो कार्य सम्पन्न गर्न सकिन्छ । एन्ड्रोइड, आइओएस वा विन्डोज अपरेटिङ सिस्टम भएकोमोबाइलमा समेत यस्ता एप्स उपलब्ध छन् ।
होली
यो एपमा होलीसँग सम्बन्धित सबै किसिमका जानकारी प्राप्त गर्न सकिन्छ । होलीको उत्पत्ति र अन्य विभिन्न पक्षका बारेमा जानकारी लिन यो एपको प्रयोग गर्न सकिन्छ । यसमा होली र यससँग सम्बन्धित सबैजसो जानकारी संकलन गरिएको छ ।
होली हैं
होली फ्रेमको बीचमा आफू अथवा आफूलाई मन पर्ने कुनै व्यक्तिको तस्बिर होस् र त्यसका साथमा कुनै सन्देश । यो चाहना धेरैको हुन सक्छ । यसका लागि ‘होली हैं’ एप्लिकेसन प्रयोग गर्न सकिन्छ । आफ्नो स्मार्टफोनबाट तस्बिर खिचेर वा ग्यालरीमा भएको तस्बिर छानेर पहिले नै तयार होली फ्रेममा राख्न र कुनै सन्देश लेख्न सकिन्छ । त्यसपछि यसलाई फेसबुक, ट्वीटरमा राख्न वा इमेलमार्फत पठाउन सकिन्छ ।
होली फेस्ट
होलीसँग जोडिएका सबै मूल्य मान्यता तथा अन्य जानकारी प्राप्त गर्न ‘होली फेस्ट’ एप्लिकेसन प्रयोग गर्न सकिन्छ । यो एप्सबाट होली वालपेपर तथा होली सन्देशसमेत डाउनलोड गर्न सकिन्छ ।
होली वाटर कलर म्याजिक टच
होलीका लागि बनाइएका विभिन्न कलरलाई मोबाइलको स्क्रिनमा देख्न पाइयो भने कति रमाइलो होला ? यसको अनुभव यो एप्समार्फत गर्न सकिन्छ । यो एप्लिकेसनको होली वालपेपरमा पानी लहराइरहेको दृश्य देख्दा मनै प्रफुल्लित हुन्छ ।
होली स्पेसल पजल
होलीसँग सम्बन्धित विभिन्न प्रकारको पजल मिलाउन भने पर्याप्त मेहनत गर्नुपर्छ । यसका लागि होली स्पेसल पजल एप्स प्रयोग गर्न सकिन्छ । पजल मिलाए पछि होलीसँग सम्बन्धित आकर्षक तस्बिर अगाडि देखिन्छ । सबै लेभल पार गरेर जति छिटो पजल मिलायो, उति धेरै स्कोर आउँछ ।
माई होली फोटो
यो एप प्रयोग गरेर अरू कसैको तस्बिरमा आफूले रङ भर्न सकिन्छ । यसका कारण वातावरणसमेत शुद्ध राख्न सहयोग पुग्छ, किनभने कसैलाई रङ वा अबिर लगाउन उसैकहाँ पुग्नुपर्ने बाध्यता हुँदैन । आफूभन्दा टाढा रहेका साथीभाइको तस्बिरमा रङ वा अबिर लगाइदिएर होली मनाएको अनुभूति गर्न सकिने यो एपमा तस्बिरलाई सम्पादनसमेत गर्न सकिने सुविधा छ ।
होली वालपेपर
यसमा विभिन्न प्रकारका वालपेपर उपलब्ध छन् । आफूलाई राम्रो लाग्ने वालपेपर डाउनलोड गरेर राख्न सकिन्छ ।
ह्याप्पी होली वालपेपर
यो एप्स पनि गुगल प्ले स्टोरमा उपलब्ध छ । यसमा विभिन्न प्रकारका वालपेपर उपलब्ध छन् ।
होली सङ एप्स
होलीलाई मध्यनजर गरी एप्स कम्पनीहरूले यो चाडसँग सम्बन्धित हिन्दी तथा भोजपुरी गीतहरूलाई एकै ठाउँबाट सुन्न होली सङ–२०१७ एप्स उपलब्ध छन् जसमा हिन्दी एवं भोजपुरी होली गीतका साथै रिङटोनहरू पनि डाउनलोड गर्न सकिन्छ ।
भोजपुरी होली भिडियो सङ एप्स
छिमेकी देशको बिहार प्रान्त र नेपालकै तराईका केही जिल्लामा भोजपुरी भाषा प्रमुख भाषाका रूपमा बोलिँदै आएको छ । संयोग के पनि छ भने होली चाड यिनै क्षेत्रमा दमदार रूपमा मनाइन्छ । त्यही भएर होलीसँग सम्बन्धित गीत भोजपुरी भाषामै बढी छन् । यस क्रममा भोजपुरी भाषाका होली भिडियोसँग सम्बन्धित एप्स पनि उपलब्ध छ । यो एप्स डाउनलोड गरेपछि होलीसँग सम्बन्धित सबै गीत हेर्न तथा सुन्न सकिन्छ ।
होली गिफ्ट एप
रंगीन पर्व होलीलाई भर्चुअल दुनियाँको सहायताले थप रंगीन बनाउन होली गिफ्ट एप्स तयार गरिएको छ । यो एप्समा होलीसम्बन्धी गिफ्ट अंकित चित्रहरू उपलब्ध छन् भने– त्यसमा शुभकामना आदान–प्रदान गर्न राम्रा राम्रा सायरी तथा सन्देशहरू राखिएको छ ।
होली फोटो इफेक्ट
होली नै नखेली होली खेलेझै तस्बिरलाई रंगीन बनाउन चाहानेहरूका लागि होली फोटो इफेक्ट एप्स उपलब्ध छ । मोबी स्टुडियो इन्टरटेन्मेन्टले तयार गरेको यो एप्सको प्रयोगले फरक किसिमको अनुभव गराउँछ । यो एप्समा उपलब्ध जति धेरै रंग प्रयोग हुन्छ होलीको अनुभव पनि त्यति नै मज्जाले लिन सकिन्छ । यसलाई प्रभावकारी बनाउन तस्बिरको कलर इफेक्ट मिलाउनुपर्छ । त्यसपछि एप्समा भएका कलरलाई रंगीन तरिकाले मिलाएर आवश्यकताअनुसार सेभ गरी प्रयोग गर्न सकिन्छ ।
होली भिडियो मेकर
होलीमा खिचिएका तस्बिरलाई भिडियोका रूपमा तयार गर्न गुगल प्लेस्टोरमा होली भिडियो मेकर एप्स फेला पार्न सकिन्छ । यो एप्सको सहायताले होलीमा खिचिएका तस्बिर तथा गीतलाई समायोजन गरी होलीको स्पेसल भिडियो तयार पार्न सकिन्छ । यसमा इडिटिङ गर्ने फिचर पनि भएको हुँदा चाहनाअनुसार तस्बिरलाई अघि पछि गर्न तथा गीत सुहाउँदो बनाउन सकिन्छ ।
होली एसएमएस
सायरी, कविता एवं साहित्यका पारखीहरूलाई श्रीनाथ इन्टरटेन्मेन्टले होलीसम्बन्धी एसएमएसको वर्षा गराउन होली एप्स तयार गरेको छ । यो एप्स डाउनलोड गरेपछि चाहेजस्ता एसएमएस आफ्ना मित्रजनलाई पठाउन सकिन्छ ।