मेला होस् वा कन्सर्ट, अनुहारमा पेन्ट गर्ने अथवा ‘फेसपेन्ट’ गराउनेहरूको ताँती देखिन्छ । कुनै बेला बालबालिकाहरूको रहरका रूपमा भित्रिएको ‘फेसपेन्ट’ अहिले तन्नेरी सोख पनि बनेको छ । कार्यक्रम वा उत्सवमा आफूलाई अरूभन्दा पृथक् देखाउने यो जमात सहर–बजारतिर बग्रेल्ती भेटिन्छ । ‘फेसपेन्ट’ पछिल्लो क्रममा फेसन स्टाइलकै रूपमा लोकप्रिय भैरहेको छ । स्कुले बालबालिका तथा प्लस टु पुस्तापछि अहिले युवा–युवतीहरू ‘फेसपेन्ट’ स्टाइलमा बढी झुम्मिएका पाइन्छन् । विशेष पार्टी होस् वा चाडपर्व फेसनमा बढी चनाखो हुने पुस्ता ‘फेसपेन्ट’ बाट अछुतो छैन ।
कमलादीको एक स्टोरमा काम गर्ने २२ वर्षीया अर्चना खड्का छुट्टीका बेला मलहरूमा गएर फेसपेन्ट गर्न रुचाउँछिन् । अर्चना भन्छिन् ‘अनुहारमा परी वा फुल बनाएर हिँड्ने क्रममा आफूलाई कसैले हेर्दा खुब मज्जा लाग्छ ।’ ४६ वर्षीय युवराज गौतम हरेक महिना जसो आफ्ना ६ वर्षीय छोरा तथा १० वर्षीया छोरीलाई लिएर भृकुटी मण्डपस्थित फनपार्क पुग्छन् । उनका छोरा–छोरी भृकुटीमण्डपमा प्रवेश गर्ने बित्तिकै ‘फेसपेन्ट’ गराउन लालायित हुन्छन् । ‘एकपटक त मैले पनि आफ्नो गालामा गीतार बनाएको थिएँ । रमाइलो हुँदो रहेछ’ उनले भने ।
जो ‘फेसपेन्ट’ गर्छन्
विजेन्द्र श्रेष्ठ ललितकलामा चित्रकला विषयमा स्नातक गर्दैछन् । चित्रकलाको रहर पहिलेदेखि नै भएकाले चित्रकला नै पढिरहेको बताउने श्रेष्ठले मेला, कन्सर्ट, उत्सव तथा महोत्सवहरूमा ‘फेसपेन्ट’ गर्न थालेको चार वर्षजति भयो । उनी आफ्ना चित्रकार साथीहरू जेनी घले, बसुन राई, ऋतु थापा, दीपक मेहता आदिलाई लिएर ‘फेसपेन्ट’ गर्न पुगिरहेका हुन्छन् । ‘फेसपेन्ट’ले एकदमै राम्रो आम्दानी नहुने भए पनि हामी जस्ता कलाकारको पकेटमनी पुर्याउने काम गरिरहेको छ ।’ कलाकार विजेन्द्र श्रेष्ठ बताउँछन् । अर्की कलाकार जेनी घले भन्छिन्– ‘फेसपेन्टबाट तत्काल आम्दानी हुन्छ । काम सकिने बित्तिकै पैसा हातपर्छ । एउटा कलाकारका लागि योभन्दा राम्रो कुरा अरू के नै हुनसक्छ ?’
कलाकारहरूले सामान्यतया: एउटा गालामा आकृति कोरेको पचास रुपैयाँ लिने गरेका छन् । जेनी भन्छिन्– ‘पुतली, कार्टुन चित्र बनाउनु पर्यो भने तीनदेखि पाँच मिनेट लाग्छ । गाह्रो किसिमको चित्र बनाउनुपर्दा हामी तीन सयसम्म लिन्छौं ।’ कलाकार विजेन्द्र श्रेष्ठ गएको साफ गेममा ‘फेसपेन्ट’ गरेरै २५ हजार कमाएको बताउँछन् ।
‘फेसपेन्ट’ मा फेब्रिक रंग प्रयोग गरिन्छ । ‘अरू खालका रंग अनुहारको छालाका लागि उपयुक्त हुँदैनन्, तिनले हानी पुर्याउँछन् ।’ भन्छन् ‘फेसपेन्ट’ गर्ने कलाकारहरू । कलाकारहरूको अनुभवमा अधिकांश बालबालिका पोकेमन, मोटुपतलु, डोरेमन, हेलो किटी जस्ता कार्टुनमा रमाउँछन् । युवतीहरू अनुहारमा पुतली तथा फूल बनाउन रुचाउँछन् भने युवकहरू अनुहारमा बाघ, ड्रागन आदि बनाउँछन् । ‘फेसपेन्ट’ कलाकार जेनी भन्छिन्– ‘हामीले अहिले त्यसमा पनि सिर्जनात्मक ढंगबाट ‘फेसपेन्ट’ गर्ने अभियान नै चलाएका छौं ।’ उनको समूहले कार्यक्रम र जनअभिरुचि अनुरूपको ‘फेसपेन्ट’ गर्न थालेको छ । जस्तो कि कन्सर्ट छ भने युवा–युवतीको गालामा उनीहरूको फेभरेट ब्याण्ड, गीतार, ड्रम तथा ब्यान्डको लोगो बनाइदिने, मेला हो भने बेलुन, रोटेपिङ आदि बनाइदिने । हालै टुँडिखेलमा सम्पन्न ल्होसार महोत्सवमा जेनी तथा उनको समूहले युवा–युवती तथा बालबालिकाहरूको गालामा हेलो किटीलाई बख्खु लगाइदिएको चित्र ‘फेसपेन्ट’ गरेको र त्यसलाई धेरैले रुचाएको जेनीले बताइन् । कलाकार विजेन्द्रले केही समयअघि चर्चित संगीत ब्याण्ड ‘१९७४ एडी’को कन्सर्टमा धेरै युवायुवतीहरूले आफ्नो अनुहारमा उक्त ब्यान्डको लोगो बनाएको अनुभव सुनाए ।
होलीमा ‘फेसपेन्ट’
होली खेल्न जाने युवाहरूमा अनुहारमा मास्क लगाए जस्तो ‘फेसपेन्ट’ गर्ने ट्रेण्ड चलेको धेरै भैसकेको छ । कलाकारहरूसँग सम्पर्क गरेर अनुहार ढाक्ने ‘फेसपेन्ट’ गर्नेहरू पनि प्रसस्तै छन् । विशेषगरी युवाहरूले अनुहारमा डरलाग्दा आकृति बनाउने कलाकारहरू बताउँछन् । उनीहरूका अनुसार भैरव, ड्राकुला, भूत आदिका आकृति अनुहारमा बनाउन लगाउने युवाहरू धेरै हुन्छन् । होलीको ‘फेसपेन्ट’ मा आम्दानी राम्रै हुने कलाकारहरूको अनुभव छ । तेलमा घोलेर लगाइने रंग बजारमा पाइने र त्यो फेब्रिक रंग पानी पर्दा खुइलिने र कडा भएर जाने भएका कारण पनि होलीमा बनाइने मास्क ‘फेसपेन्ट’मा कलाकारहरूले त्यस्तो रंग प्रयोग गर्ने गरेका छन् । अहिले बजारमा ‘फेसपेन्ट’ गर्न त्यस्तो रंग सहजै उपलब्ध हुन थालेको कलाकारहरू बताउँछन् ।
इभेन्टहरूमा निकै रमाउने पुरानो बानेश्वरकी आस्मा खनाल पनि फेस पेन्टकी सौखिन हुन् । उनी आफ्नो गालामा विभिन्न किसिमका जीवजन्तुको आकृति बनाउन लगाउँछिन् । आस्मा र उनका साथीहरू सबै ‘फेसपेन्ट’ गराउन रुचाउँछन् । त भयो नै यो फेसपेन्ट गर्ने आफ्नो सोख पनि भएको उनले बताइन् ।
फेसपेन्टमा नेपालको झण्डा विशेषगरी खेलकुदको मौसममा नेपालको खेल भएका बेला खेलस्थल बाहिर नेपालको झन्डा अनुहार, ढाड तथा छातीमा बनाउनेहरूको लर्को नै लाग्ने कलाकारहरूको अनुभव छ । त्यस्तो अवसरमा नेपालको झन्डा बनाउनेहरू पाँच सयसम्म तिर्न तयार हुन्छ । नेपालको झन्डा बनाउँदा मनैबाट राष्ट्रियता र देशभक्ति जाग्ने ‘फेसपेन्ट’ गर्ने कलाकारहरू बताउँछन् ।