राम्रो व्यवहार, असल कर्म, अनुशासन र परिश्रमजस्ता गुणले मानिसलाई सफल बनाउँछ । ठीक त्यसको विपरीत खराब कर्म, अभद्र व्यवहार एवं अनुशासनहीनताजस्ता कुराले मानिसलाई भड्खालोमा पुर्याउँछ । समाजमा पनि कि त सफलताहरूको चर्चा हुन्छ, कि त असफल हुनेहरूमाथि बहस चल्छ । समाजमा कैयौं यस्ता पात्र पनि हुन्छन्, जो करिश्मायुक्त जीवन बाँच्छन् । त्यस्ता व्यक्तिहरू करिश्मामय तरिकाले प्रतिष्ठाको उकालो चढ्छन् र छिनभरमै कहिल्यै उठ्न नसक्ने गरी बदनामीको धरातलमा भासिन्छन् ।
लोकमानसिंह कार्की
लोकमानसिंह कार्की र विवाद एक–अर्काकै परिपूरकजस्ता देखिए । अख्तियारजस्तो संवैधानिक संस्थाको प्रमुख पदमा बहाल रहँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने उद्घोष गरेका कार्कीले लायकको एउटै काम गरेनन्, बरु व्यक्तिगत फाइदा, रिसइबी र प्रतिशोधमा जेलिएर विभिन्न विवादास्पद निर्णय गरे । विरोधीहरूलाई दु:ख दिने अभियानमा जुटे । प्रभावशाली सरकारी निकायको प्रमुख पदलाई शक्ति र स्वार्थकै लागि प्रयोग गरेपछि उनलाई सर्वोच्च अदालतले २४ पुसमा अयोग्य घोषित गर्दै पदमुक्त गर्यो । शक्तिमा रहेका बेला बाघ गर्जिएझैं गर्जिने लोकमानलाई अवैधानिक र स्वेच्छाचारी कदमले रुझेको बिरालोमा परिणत गरिदियो ।
सुधीर बस्नेत
कम उमेरमै कुस्त पैसा कमाएको र सफल उद्यमीको छविका कारण कुनै समय सुधीर बस्नेत युवाहरूका रोलमोडल थिए । छोटो समयमै उनले हासिल गरेको प्रगतिमा मानिसहरू जिब्रो टोक्थे, यद्यपि सुधीरलाई त्यो रोलमोडलबाट जिरोमा झर्न धेरै समय लागेन । उच्च महत्त्वाकांक्षा र गलत व्यवसायिक पथका कारण उनले खडा गर्न खोजेको साम्राज्यको जग बनिनसक्दै ढल्यो । बस्नेतले हजारौंलाई धनी बनाउने सपना देखाएर जुटाएको सम्पत्ति मात्र डुबाएनन्, १४ वटा बैंकबाट ऋण लिएको १ अर्ब ६० करोड रुपैयाँ नतिरी फरार भए । यसरी फरार भएको लामो समयपछि १७ माघमा उनी प्रहरी खोरमा पुगेर जिरोमा परिणत भए । अहिले उनी केन्द्रीय कारागारमा छन् ।
ल्हारक्याल लामा
कीर्ते नागरिकतादेखि सम्पत्ति राख्ने बैंकको लकरमा गोली राख्नेसम्मका कृत्यका कारण चर्को विवादमा तानिए— ल्हारक्याल लामा । पहिलो संविधानसभापछि बनेको सरकारमा अचानक एमालेका तर्फबाट अर्थराज्यमन्त्री पड्काए उनले । दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी बन्न पुगे । माओवादी नेताहरूसँग बाक्लै हिमचिमको प्रभावस्वरूप उनी समानुपातिक सभासदसम्म बन्न सफल भए । दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको उनको लकरमा १४ वटा गोली भेटिएपछि गत वर्षको ३० फागुनमा उनी पक्राउ त परे नै, उनको सांसद पद पनि दाउमा लाग्यो । भलै, सर्वोच्च अदालतबाट सफाइ पाएपछि उनको पद जोगियो ।
सीता दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती हुन्— सीता दाहाल । ग्रामीण पृष्ठभूमि, नम्र र साधारण जीवनशैली तथा कहिल्यै चर्चामा आउन नरुचाउने स्वभावका कारण सबैतिर उनको प्रशंशा हुनुपर्ने हो । दुर्भाग्य नै भन्नुपर्छ, त्यस्तो भइदिएन । उनका लागि सामाजिक सञ्जाल तीतो अनुभवको कारण बन्न पुग्यो यो वर्ष । ३० भदौदेखि २ असोजसम्म भएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा उनले सामान्य शिष्टाचारसमेत ख्याल नगरेको भन्दै सामाजिक सञ्जालमा उनको खोइरो खनियो । दाहाल र भारतीय समकक्षी मोदीबीच भएको भेटवार्तामा सीता दाहालतिर उभिनुपर्नेमा मोदीतिर गएर उभिएको भन्दै उनलाई निकै उडाइएको थियो ।
आरके मैनाली
माओवादीदेखि राजावादीसम्मको राजनीतिक छविमा देखा परिसकेका छन्— आरके मैनाली । झापा आन्दोलनदेखि लामो समय एमाले राजनीतिमा देखिएका यी नेता सन् २०१५ मा पुन: एमालेमा फर्किए । पाँच दशक लामो राजनीतिक घुम्ती छिचोलेका मैनालीले माघमा ‘नलेखिएको इतिहास’ पुस्तक प्रकाशित गरे । रोचक त के भने उनको पाँच दशक लामो राजनीतिक जीवनका आरोह–अवरोह समेटिएको ‘नलेखिएको इतिहास’मा झूटो विवरण प्रस्तुत गरिएको भन्दै माधव नेपालदेखि रमेशनाथ पाण्डेसम्मले त्यसको प्रतिवाद गरे । यतिसम्म त ठीकै थियो मैनालीको उक्त पुस्तकले एमाले पोलिटब्युरोमा प्रवेश मात्र पाएन, अध्यक्ष ओलीले पुस्तकमा मैनालीले कुण्ठा र द्वेष ओकलेको भन्दै प्रतिवाद गरे ।
अर्चना पनेरु
‘पोर्न स्टार बन्न चाहन्छु’ भन्ने अभिव्यक्ति दिएर चर्चामा आएकी हुन्— अर्चना पनेरु । अर्चनाको यो भनाइ जति हिट भयो उनका नग्न फोटो सुटले त्यत्तिकै बबाल मच्चायो । कतिसम्म भने अर्चनालाई स्कुलबाट निकालियो र उनी प्रहरीको खोरमा पनि बसिन् । यो त केही समय पहिलेको कुरा भयो । यो वर्ष उनी पोर्न स्टारको ठाउँमा रियल फिल्ममै स्टारका रूपमा कलिउडमा भित्रिइन् । यद्यपि स्वघोषित पोर्न स्टार अर्चनाको बोली र नग्न तस्बिरमा जति दम देखियो, त्यति फिल्ममा देखिएन । उनले अभिनय गरेका ‘जिस्म’ र ‘छेस्को’ सुपर फ्लप भए । फिल्म सुपर फ्लप भएका कारण अहिले उनी नयाँ बसपार्कमा रेस्टुराँ चलाउन थालेकी छिन् ।
मुकेश काफ्ले
विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले प्रतिस्थापन गरेपछि भिलेनकै भूमिकामा देखिए, मुकेश काफ्ले । कुशल व्यवस्थापक कुलमानले काठमाडौंलाई लोडसेडिङबाट मुक्त गरिदिएपछि त उनले सहनै सकेनन् । आफ्ना अन्तर्वार्ताहरूमै भनिदिए— ‘लोडसेडिङ फागुन–चैतमा हटाए टुँडिखेलमा बहस गर्न तयार छु ।’ फागुन महिनाको तेस्रो सातासम्म पनि काठमाडौंमा लोडसेडिङ भएको छैन, बरु पोखरा र चितवन पनि लोडसेडिङमुक्त भैसकेका छन् । अब हेर्न बाँकी छ, काठमाडौं चैतसम्म लोडसेडिङमुक्त रह्यो भने उनी आफ्नो वाचा पूरा गर्न टँुडिखेलमा उत्रन्छन् कि उत्रँदैनन् ? जे भए पनि काफ्लेको यो उटपट्याङ अभिव्यक्तिले उनको कद घटाउने काम मात्र गरेन, उनी चौतर्फी आलोचनाको सिकारसमेत पनि भए ।
रिया श्रेष्ठ र सुलेमान शंकर
जोसमा होस पुर्याइएन भने हिरोबाट जिरोमा बदलिन कत्ति पनि बेर लाग्दो रहेनछ । यसका लागि रिया श्रेष्ठ र सुलेमान शंकरले एउटा स्टेज कार्यक्रममा होस नपुर्याउँदा झेल्नुपरेको तनावलाई हेरे पुग्छ । इकु म्यान सुलेमान शंकरलाई के थाहा दर्शकको तत्कालको हुटिङमा होस गुमाउँदा आफू आलोचनाको तारो बनिएला भन्ने । यद्यपि भयो त्यस्तै चिनियाँ नयाँ वर्षको अवसरमा जनवरीमा । मलेसियामा आयोजित कार्यक्रममा मोडल रिया श्रेष्ठसँग नृत्यका लागि स्टेजमा उक्लिएका थिए, इकुम्यान । ‘ठमेल बजार’ गीतको झंकार र दर्शकको हुटिङमा रिया यति मोहित भइन् कि उनलाई आफूले शरीरबाट कपडा उतारेको समेत ख्याल भएन । रियाको त्यो हर्कतलाई साथ दिँदै नाचिरहेका इकुले पनि मर्यादाको ख्याल गरेनन् । यही कारण पनि सामाजिक सञ्जालमा उनीहरूको ठूलै बदनामी भयो ।
प्रकाश ओझा
कुनै समयका चर्चित गायक तथा हास्यकलाकार हुन्— प्रकाश ओझा । आफ्नै कृत्यका कारण सेलिब्रेटीको पहिचान बनाइसकेका प्रकाश हिरोबाट जिरोमा परिणत भए । सर्वोच्च अदालतले पुनरावेदन अदालत, विराटनगरको फैसला उल्ट्याउँदै ३ माघ २०७३ मा ओझाले दुई वर्षसम्म तीन जना बालिकालाई डर र प्रलोभनमा पारी पटक–पटक यौन शोषण गरेको, अश्लील तस्बिर तथा भिडियो खिचेर वेबसाइटमा प्रकाशित गरेको, ज्यान मार्ने धम्की दिएर पटक–पटक अनुचित सम्बन्ध कायम गरेको भन्दै १० वर्षको कैद सजाय सुनाएको थियो । उक्त फैसलापछि प्रकाश फरार थिए । प्रहरीबाट छलिँदै आएका इटहरीका ओझा १४ माघमा शंखमुलमा लुकिरहेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको फन्दामा परे । त्यही दिन सर्वोच्चको आदेश पालनाका लागि उनलाई जेल पठाइयो ।
आशा लामा
विवादित म्यानपावर व्यवसायी हुन्— आशा लामा । ९ फागुनमा तिनै आशालाई सरकारले राजदूतका लागि सिफारिस गर्यो । त्यो पनि धेरै नेपालीको वैदेशिक रोजगारीको गन्तव्य बन्दै आएको युनाइटेड अरब इमिरेट्सका लागि । ठगीदेखि नागरिकतासम्म विवादास्पद बनेपछि उनलाई राजदूत सिफारिस गर्ने सरकारको निर्णयको तीव्र विरोध भयो । कतिले लामालाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णयलाई ‘हरिणको गोठालो बाघलाई लगाइनु’सँग पनि तुलना गरे । उक्त विरोधबाट जोगिन आशाले सार्वजनिक मञ्चबाटै भनिन्, ‘कांग्रेसमा राजदूत बन्न मजस्तो सक्षम व्यक्ति कोही छैन ।’ तर उनको बचावको कतै सुनुवाइ भएन, बरु १७ फागुनमा क्याबिनेट बैठकले राजदूतको सिफारिसबाट उनको नाम फिर्ता लियो ।