चलचित्र छक्कापञ्जा नेपाली चलचित्रको इतिहासमै सबैभन्दा बढी कमाउने चलचित्रमा दरियो । नेपालमा बर्सेनि सयजति नेपाली चलचित्र प्रदर्शन हुने गरेका छन्, तर राम्रो व्यापार गर्ने छ–सातवटा चलचित्र मात्र हुन्छन् । आठ–दसवटाले आफ्नो लगानीसम्म उठाउँछन् भने बाँकी चलचित्र घाटामा जान्छन् । तैपनि चलचित्र भने धमाधम निर्माण भैरहेका छन् ।
पछिल्लो समयमा नेपाली चलचित्रलाई नयाँ कलाकारहरूले अघि बढाइरहेका छन् भने चलचित्रको व्यापार खस्कँदो अवस्थामा छ । सम्भवत: यही कारणले पनि पुराना भनिएका चलचित्रकर्मीहरू चलचित्रमा देखिएका छैनन् । चलचित्रकर्मी बन्न, नायक बन्न, निर्देशक बन्न आफैं लगानी गर्ने प्रवृत्तिसमेत मौलाउँदो छ ।
विगतमा पनि कलाकार बन्न, नायक बन्न लगानी नगरिएको होइन । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा लगानी गरी कलाकार हुनेहरू नभएका होइनन् । स्वलगानी बाहेक नेपाली चलचित्रमा नातावाद पनि चलिरहेको देखिन्छ । यस्तो प्रवृत्ति नेपाली चलचित्रमा मात्र नभै बलिउड–हलिउडमा समेत छ । यद्यपि त्यहाँ चलचित्रमा पूर्ण तयारीका साथ प्रवेश गरिन्छ, तर नेपाली चलचित्रमा बिनातालिम चलचित्रमा लगानी गरी नायक बनेका थुप्रै उदाहरण छन् ।
नेपाली चलचित्रमा व्यक्तित्व, तालिम, अभिनय क्षमता, प्रतिभाभन्दा पनि आफन्तका कारण कलाकार बनाइएका थुप्रै उदाहरण छन् । आफन्त हुनेहरूले सजिलै चलचित्रमा काम पाउँछन् भनिन्छ, आफन्त नहुनेहरूले भने कलाकार, नायक बन्न लगानी गर्नुपर्ने बाध्यता छ । स्थापित नायक निखिल उप्रेतीले पनि केही वर्षको अन्तरालपछि नेपाली चलचित्रमा कमब्याक गर्न आफैंले चलचित्र निर्माण गर्नुपर्यो । पछिल्लो समय चलचित्र निर्माण गरी नायक बनेका प्रमोद दीप (एक्सन), हसनरजा खान (रोमियो), सुदीन प्रसाईं (तँ, म र उ), राम महर्जन (एक पल), महेशमान श्रेष्ठ (द विनर), कुमार बीसी (परदेशीको उमंग), रवीन्द्रसिंह बानियाँ (जात्रा) जस्ता थुप्रै नायक छन् ।
नेपाली चलचित्रमा लगानी गरी नायक बनेका वा आफन्तले नायक बनाएकाहरू चलचित्रमा सफल भने हुन सकेका छैनन् । चलचित्र सफल नै भए पनि कलाकार भने चल्न सकेका छैनन् । आर्थिक लगानी गरी कलाकार भएका अधिकांशले चलचित्रमा निरन्तरता दिन सकेका छैनन् । उनीहरू एक–दुई चलचित्रमै सीमित हुन्छन् भने कतिपय यो क्षेत्रबाटै पलायन भैसकेका छन् । चलचित्रमा नायक बन्न लगानी गर्नेहरू एकातिर छन् भने अर्कातिर आफूलाई चलचित्रमा निरन्तरता दिन चलचित्रमा लगानी गर्ने कलाकार पनि उत्तिकै छन् ।